• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

भारतसँग जुनसुकै स्तरमा पनि वार्ता गर्न तयार : परराष्ट्रमन्त्री

काठमाडौं । नेपाली भूमिमा सडक निर्माण गरेकामा नेपाल सरकारले विज्ञप्ति मार्फत आपत्ति जनाएपछि भारतको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार साँझ विज्ञप्ति जारी गर्दै कोभिड–१९ नियन्त्रण भएपछि वार्ता गर्न सकिने बताएका थिए ।

 

परराष्ट्रमन्त्री ज्ञवालीले भने छिटो वार्ता सुरु गरिनुपर्नेमा नेपालको अडान रहेको बताए । मन्त्री ज्ञवालीले सरकार, प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा जुनसुकै स्तरमा पनि वार्ता गर्न तयार रहेको बताए । ‘हामी अविलम्ब कुरा गर्न चाहन्छौं । वार्ताबाट समाधान गर्न चाहन्छौं,’ उनले भने ।

 

सरकारले सार्वभौम राष्ट्रको हिसाबले विगतदेखि नसुल्झिएका समस्या कूटनीतिक माध्यममार्फत समाधान खोज्न चाहेको मन्त्री ज्ञवालीले बताए । उनले दुवै देशले स्वीकार गरेको ‘परराष्ट्र सचिवस्तरीय संयन्त्र’ पनि यस मामिलामा वार्ताको एउटा संयन्त्र हुन सक्ने बताए । उनले गत भदौमा भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भएको परराष्ट्रमन्त्रीस्तरीय ‘पाँचौं ज्वाइट कमिसन’ को बैठकले पनि संयन्त्रको बैठक बस्नका निम्ति निर्देशन दिएको जानकारी दिए । ‘त्यहींबाट सुरुआत गरौं भन्ने हाम्रो प्रस्ताव हो,’ उनले भने ।

 

मन्त्री ज्ञवालीले सांसदहरूले दुई मुलुकबीच भर्चुअल बैठक पनि गर्न सकिने भन्दै दिएको सुझावमा विचार गर्न सकिने बताए । ‘केही माननीयहरूले भर्चुअल बैठकको कुरा गर्नुभएको छ । राष्ट्रिय हितसँग जोडिएको अत्यन्तै संवेदनशील विषय भएकाले यसका तथ्यांकको सुरक्षामा प्रश्न अवश्य उठ्छ । त्यसको व्यावहारिकताबारे हामी हेर्छौं,’ उनले भने ।

 

उनले भारतले नयाँ नक्सा जारी गरेदेखि नै वार्ताका लागि घचघच्याइरहेको बताए । ‘नोभेम्बर २ देखि सरकारले निरन्तर ताकेता गरिरहेको छ । पत्राचार गरेका छौं । वार्ताका मिति प्रस्ताव गरेका छौं । औपचारिक र अनौपचारिक कुरा गरेका छौं । टेलिफोनमा कुराकानी गरेका छौं,’ उनले भने ।

 

मुलुकभित्र सत्तापक्ष, प्रतिपक्ष, संसद्बाहिर रहेका दल, नेपाली जनता सबै राष्ट्रियताको सवालमा एकजुट भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले समस्या समाधान छिट्टै गर्नुपर्ने धारणा राखे । उनले अन्तर्राष्ट्रिय अदालतमा जाने सवालमा भने सांसदहरूलाई अहिलेको अन्तर्राष्ट्रिय सम्बन्ध, शक्ति संरचना, ठूला देशका र उनीहरूका आफ्ना खालका प्रभाव र संरचनालाई लिएर मात्र धारणा राख्न आग्रह गरे ।

 

मन्त्री ज्ञवालीले दुईपक्षीय कूटनीतिक वार्ताको माध्यमबाटै समाधान गर्न सकिन्छ र गर्नुपर्छ भन्ने मान्यतामा सरकार रहेको प्रस्ट पारे । ‘यो विकल्पले काम गरेन भन्ने निष्कर्षमा जतिबेला पुग्छौं, त्यतिबेला छलफल गरौंला,’ उनले भने । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार