• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

अनलाइन कक्षामा रमाउँदै बिद्यार्थी

पोखरा । ‘दुईहप्ता भयो अनलाइन कक्षामा सहभागी भएको । दिनमा तिनवटा कक्षा सञ्चालन भएका छन् । अनलाइन कक्षामा सहभागी भएपछि मैले पढिसकेका अनि बिर्सेका कुराहरु पनि पुनः सम्झेकी छु । मेरा लागि गाह्रो हुन पुगेका लेखा र अर्थशास्त्र विषयमा मैले स्पष्ट हुने मौका पाएकी छु । यसले मेरो वार्षिक परीक्षामा ठुलो सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिएकी बताउँछिन्, पोखरा कि रिद्धिमा सिंह ।’

 

यस्तै पोखरा दिनेश बिष्ट भन्छन्, ‘सुरुमा अनलाइन कक्षा बुझ्न र अभ्यस्त हुन केही असहज भए पनि दार्चुला र पोखराको दुरी घटाइदिएकोमा रमाइलो लाग्यो । आफुले नबुझेका र बिर्सेका कुराहरु पनि शिक्षकशिक्षिकाहरुबाट फेरि सुन्ने अनि सोध्ने अवसर पाउँदा निकै लाभान्वित भएको छु । खाली भएका बेला नजानेका कुराहरु टिपेर बस्छु अनि अनलाइन कक्षामा सहभागी भएर तिनको समाधान गरेको छु । यसरी आफनै घरमा बसेर कक्षा लिन पाउँदा ममा निकै उत्साह आएको छ ।’

  

पोखरा सेकेन्डरी स्कुलले सञ्चालन गरिरहेको अनलाइन कक्षाबारे त्यहाँको ११ कक्षाको व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुमध्ये रिद्धिमा सिंह र १२ कक्षाको विज्ञान विषयमा अध्ययनरत दिनेश बिष्टलले आप्mनो अनुभव यसरी सुनाए ।  

 

वि.स. २०५६ सालमा स्थापित पोखरा सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुका लागि अनलाइनबाट नै अध्ययन गराइरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेको लकडाउनले विद्यालय आउने जाने परिस्थिति नभएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाले बताए । सापकोटाले भने ‘लकडाउन लागु हुनु अघि निर्धारित समयमा नै कोर्स सकिए पनि रिभिजन र केही विशेष कक्षा जारी राख्ने योजना विद्यालयले बनाएको थियो तर विद्यालय आउने जाने परिस्थिति अनुकुल नहुँदा अनलाइन मार्फत यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई यो सुविधा निशुल्क प्रदान गरेको हो.।’

 

शैक्षिक संस्था बन्द अनि परीक्षा कार्यक्रमको अनिश्चितता भएको अवस्थामा विद्यार्थीहरु स्वभावैले शैक्षिक गतिविधिहरुबाट टाढा रहने सम्भावना रहेको हुँदा अनलाइन कक्षा सञ्चालन गर्न परेको विद्यालयका कार्यक्रम संयोजक शिव त्रिपाठीले जानकारी दिए । त्रिपाठीले भने, ‘यस परिप्रेक्ष्यमा अनलाइन कक्षाले धेरै महत्वपूर्ण भूमिका खेल्दछ । विद्यार्थीहरु आफ्ना शैक्षिक संस्था र गुरु तथा गुरुआमाको सम्पर्कमा हुन सक्छन् र सिकाइ प्रक्रिया पनि अगि बढ्दछ । अहिलेको विकल्प भनेको उपलब्ध प्रविधिको प्रयोग मार्फत सुरक्षित तवरले अध्ययनअध्यापन गर्नु गराउनु नै हो ।’ 

 

विद्यालयका प्रिन्सिपल नारायण न्यौपानेको संयोजनमा सञ्चालन भइरहेको अनलाइन कक्षाका बारेमा प्रिन्सिपले न्यौपानेले भन्छन,‘शनिवार र आइतवार बाहेक प्रत्येक दिन हामीले बी.बी.एस पहिलो वर्ष र ११ र १२ कक्षाको व्यवस्थापन र विज्ञान विषयको अनलाइन कक्षा सञ्चालन गराइरहेका छौं । यी कक्षा रिभिजन प्रकृतिको भएको हुँदा नबुझेको सोध्ने र विद्यार्थीका निम्ति महत्वपूर्ण ठानिएका पाठ दोहोर्‍याइरहेका छौं । यो सुबिधाबाट कतिपय बञ्चित विद्यार्थीलाई पनि सुविधा उपलब्ध गराउने पद्धतिको योजना बनाइराखेका छौं ।’ 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार