• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउँदै

काठमाडौं । लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

 

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।

 

नियमक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।

 

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

 

बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशत भन्दा बढी हुन नदिने व्यवस्था गरिएको छ ।

 

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार