• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
प्रवास

महामारीले नजिक्याएको सम्बन्ध

बिहान सबेरैकोे हल्लाले आजको निन्द्रा अधुरो रह्यो । हुन त यो समय मजदुरहरु आफनो पेटपालनको निम्ति ज्यालामा जाने समय हो । तर आजको हल्ला फरक केही किसिमको थियो । आवाज र विषयहरु हिजो–अस्तिका जस्ता थिएनन् । मैले आफ्ना थकित आँखा मिच्दै कोठाको झ्याल खोलें र नियालेर बाहिर हेरें । वातावरणमा खासै परिवर्तनको गन्ध थिएन । उही चरा–चुरुंगी, उही घाम, उही वतास...। मनमा भने एक किसिमको नौलो अनुभव भइरहेको थियो, आज केही नयाँ कुरा पक्का हुनेछ भन्ने । मैले आफ्नो मोबाइलको नेट खोलेर इमेल चेक गरें । त्यसपछि कोरोनाको विषयको पछिल्लो समाचार पढें । ओहो, वर्मामा आज पनि ७ जनाको संख्या बढेछ । यो चिन्ताबाट म कहिले मुक्त हुने होला खै ? छिमेकीहरु कहिले मुक्त हुने ? यो पुरै शहर कहिले मुक्त हुने ? र यो देश अनि संसार नै कहिले मुक्त हुने ? मेरो मनमा यस्तै प्रश्नको बाढी आउन थाल्यो । म सँग यस्ता प्रश्नको कुनै उत्तर नै छैनन्, निरुत्तर मुद्रामा म ओछ्यानबाट उठ्छु । त्यसै बखत मेरो मोवाइलको मेसेन्जरमा नयाँ नोटिफिकेशन आएको संकेत सुन्छु । सागरको मेसेज । 

 

सागर आज थाइल्याण्डबाट फर्किंदै छ । मेरो छिमेकी । हुनत ऊ म भन्दा उमेरले केही सानो छ । तर जिम्मेवारीमा म भन्दा कता हो कताको ठूलो छ । सागरको परिवारमा ५ जना सदस्य छन् । उ, उसकी आमा, दुई बहिनी र एक भाई । उसकी आमाको कुनै प्रकारको आम्दानीको श्रोत छैन । जे जति छ, बाले छोडेर गएको सानो खेत मात्र हो । हाम्रो शहरको पुछारमा पर्ने खेतहरुमा रोपाईँ गरिदिने कोही छैन । यस्तै निकै कम खेतहरु बाँकी भएका परिवारहरु मध्ये सागरको परिवार पनि पर्दछ । उमेर पाको हुँदै जाँदा उसले बुझ्न थालिसकेको थियो कि अब उसकी आमाले मात्र खेती गरिरहन सक्दिनन् भन्ने । सागरको परिवारले सँधै दुःख झेलीरहनु परेको भएता पनि उसको सोच र विचार भने सदा उच्च थियो । आज भन्दा पाँच वर्ष अघि उसले खेतपाती गरेर भन्दा विदेश गएर केही पैसा कमाउँ र यहाँ फर्केर आएपछि एउटा नयाँ इलम शुरु गर्नुपर्छ भनेर सोचेको थियो । 

 

आज उ विदेशिएको त्यतिका वर्ष भईसक्दा पनि उसले पठाउने गरेको पैसामा घर खुसी थिएन । हुन पनि कसरी होस् । घरको खाई खर्च र भाई बहिनीको पाठशालाको फिस भर्दा भर्दै उसको पैसाको शान्ति पाठ भइहाल्थ्यो । उसले महिनैपिच्छे आमालाई सोध्थ्यो रे, आमा कति पैसा बच्यो भनेर, तर आमाले बचत भन्दा पनि कर्जाको हिसाब मात्रै देखाउने गर्थिन अरे । पछि सागरले मेरो नाममा पैसा पठाउन थाल्यो र घरमा उ स्वस्थ नै भएको खबर मात्र पुर्‍याइदिनु भन्थ्यो । सायद उसले उतै जम्मा गर्न थाल्यो कि पैसा नपुगेर थाहा भएन । मलाई सोध्न त मन लागेको थियो तर यसरी उसले नभनेको कुरालाई कोट्याउन मलाई पनि त्यति ठिक लागेन । 

 

प्रत्येक महिनाको अन्तिम दिन जसो सागरकी आमा म कहाँ बिहानै आएर केटोले केही भन्यो ? भनेर सोधने गर्थिन् । अरुदिनको त के कुरा गरुँ र... उनको यस्तो प्रवृत्तिदेखि म थोरै चिसिएको थिएँ उनीसँग । तर नियमित रुपमा भाइ र बहिनीको पाठशाला सम्बन्धि हेरविचार र सोधखोज भने गर्ने गरेको थिएँ । गर्न पनि कर लाग्थ्यो सागर, जहिले पनि भाइ बहिनीको पढाईको विषयमा सोधिरहन्थ्यो र मैले उत्तर दिनुपर्दथ्यो । भाई र बहिनीहरुको पढाई तथा अन्य खर्चका लागि अलग्गै पैसा पठाइदिन्थ्यो सागरले । 

 

सागर भन्ने गर्‍थ्यो “दाइ म पढाउँछु यी मुलाहरुलाई...यिनीहरु पढे भने न त मजदुरी गर्नुपर्छ, न खेती न नै मैले जस्तो परदेशमा बसेर नोकरी गर्नुुपर्छ । यिनीहरुलाई मेरा फोटाहरु देखाएर केही भावुक हुने लेक्चर दिने गर्नुस है दाइ... यत्रो ठूलो बिल्डिङ हेर्न धेरै पढ्नु पर्छ । यत्रो ठूलो शहर देख्न धेरै पढ्नु पर्छ । यत्रो ठूलो कमाई गर्न धेरै पढ्नु पर्छ । मलाई कसले बुझायो र दाई मलाई पढ्ने प्रेरणा मिल्यो ? त्यसैले दाई, यी भुराभुरीहरुलाई यो भनिदिनुस् की पढाइ बिनाको कुनै काम सजिलो हुँदैन । पढे लेखेको भए मात्र कुनै कुरा नौलो हुँदैन, सबै साधारण भएर जान्छ ।"

 

उसका यी वाणीहरु म सँधै उसका भाई बहिनीहरुलाई सुनाई रहन्थेँ । उनीहरु पनि यस्ता कुराहरु सुनेपछि भावविभोर हुन्थे र विद्यालयको परिक्षामा राम्रो अंक पनि ल्याउँथे । मलाई खाली एउटै चिन्ता मात्र थियो की सागरले पैसा कसरी पुर्‍याएको छ  भनेर । उसको आफ्नो खर्चको लागि, उसकी आमाको लागि अनि भाई बहिनीको पढाई र पकेटमनीको लागि अलग्गै खर्च । म उ प्रति निकै गौरवान्वित थिएँ भने यी सबथोकका लागि उसले गर्नुपर्ने दुख वारे थोरै चिन्तित पनि ।

 

एकछिन सोचमा डुबेछु । झस्किएर फेरी मेसेज हेरेँ, कतै सागर त आएन भनेर । साँच्चिकै हो रहेछ । हिजो बेलुकीको प्लेनमा उ थाइल्याण्डको राजधानी बैंककबाट म्यन्माको राजधानी याँगौं आइपुगेको रहेछ । सबै सुविस्तै र निको भएको खबर घरमा दिनु भनेको छ । बिहानैको गाडीमा उ मोगोक आउने खबर पनि पठाएको थियो । सायद अहिले उ बसबाट आउँदैछ होला । आउँदैछ होला आमा भेट्न र उसले माया गर्ने भाइबहिनाहरुलाई भेट्न । उ घर आईपुगेपछि उनीहरुको यसरी भेटघाट होला की जसरी सूर्य र प्रभातको मिलनले दिनमा उज्यालो हुन्छ, नदी र खोलानालाको मिलनले प्रेमको सागर बन्छ । घरमा सबैसँग भेटेपछि अनि अन्तिममा उ मलाई भेट्न आउँछ होला । तर उ म कहाँ आइहाल्यो भने पनि साँझ परिसकेको हुन्छ होला । त्यसो भए बाहिर यत्रो हल्ला के को रहेछ त ?

 

वास्तवमा म भन्दा पहिले गाउँका मुखियासम्म उनको आगमनको खबर पुगिसकेको रहेछ । याँगौंको स्वास्थ्य मन्त्रालयबाट विदेशबाट फर्कनेहरुको सूची बनाएर सम्बन्धित गाउँ, वस्तीहरुका कार्यालयहरुमा समेत समाचार पुर्‍याइसकेको रहेछ । र उनीहरुको रेखदेखको निम्ति विशेष नियम बनाएर मात्र घर (गाउँ) जान दिनेरहेछ । त्यही विषयमा कुरा गर्न गाउँका मुखिया सागरकी आमा कहाँ पुगेका रहेछन् । म त्यहाँ पुग्दा सागरकी आमाको आँखामा आँसु देखेँ ।

 

उनले मलाई देख्नासाथ सोधिन, “तिलकबाबु, जेठोले केही समाचार पठाएन मेरो लागि ? केही भनेन ? म त यहाँ बिहानै मुखिया आएको देखेर तर्सेको थिएँ, केही अकुशल त भएको छैन नी होइन ? उनको प्रश्नको मैले मुस्कुराउँदैै जवाफ दिएँ, “हैन आण्टी (सानिमा) त्यस्तो केही छैन । उ याँगौंबाट आउँदैछ । आज बेलुकी सम्ममा आइपुग्छ । तर उ घरमा सिधै आउन मिल्दैन । किनभने, कोरोना महामारीका कारण सरकारी योजना बमोजिम विदेशबाट आएकाहरुले १४ दिन छुट्टै बस्नुपर्छ । त्यसबखत उसको स्वास्थ्यको राम्रो निरिक्षण गरिदिन्छन् । उसको हेरचाह गर्छन् । बिहान बेलुका बुखार (ज्वरो) आएकोे छ या छैन नाप्छन् । १४ दिनसम्म उसलाई उनीहरुकै निगरानीमा राख्छन् । उसले यता आउने बेलामा नै मसँग सल्लाह गरेको थियो । मैंले आउने भए आइहाल पछि अवस्था झनै बिग्रन सक्छ भनेको थिएँ । उता उसको काम बन्द भएको पनि दुई महिना भन्दा बेसी भईसक्यो । रुम खर्च तिरेर मात्र किन बस्नु त्यहाँ होइन ? त्यसैले घर आउने सुझाव मैले नै दिएको थिएँ ।”

 

तर उनी मेरो कुरा सुनेर झर्केर पो भन्न थालिन्, “तिमीले बोलाएर हुन्छ ? यहाँ चुलो के ले बाल्ने ? चामल के ले किन्ने ? तरकारी मेरो मेहिनत र पसिनाले मात्र पकाएर हुने कुरा हैन... यी बच्चाको पेट मेरो मायाले मात्र भरिने हैन... यी निरीहको स्कुलको फिस केले तिर्ने नी ? अनि...!” 

 

मैंले बिचैमा कुरा काटेर भनें  “उसको काम बन्द भएको दुई महिना भइसक्यो... कामै नभएपछि कताको पैसा पठाउँछ उसले... अलिकति उसको वारेमा पनि सोच्नुस न... उ त अझ सरकारको योजना मिलेर मात्र आएको हो । अरु कति छन् घर आउन खोज्दा खोज्दै पनि आउन नपाएकाहरु । उता कर्जाले मर्ने की ... ?”


मेरो कुरा सकिन नपाउँदै उनले भनिन् फेरी, “मलाई मेरो छोराको मायाँ नलागेको कहाँ हो र तिलकबाबु । तर जेठाको सपना जस्तै यी निर्धाहरुको चिन्ता मलाई पनि त छ नी । तिमीलाई त झन् थाहा होला क्यारे ।” 


उनको कुरा सुनेर मलाई खुशी पनि लाग्यो र मैले कुरा थपेँ,“मैंले बुझेको छु । हजुरको ममता र मायामा मेरो कुनै शंका छैन । हजुर भाग्यमानी पनि हुनुहुन्छ किनकी हजुरले आफ्नो छोरालाई अरु भन्दा पहिले घर ल्याउन पाउनुभयो । हेर्दै जानुहोस् न, भोली आउन खोजेर पनि आउन सक्दैनन् कति परदेशीहरु । भोलिको कुरा त भोलि नै सुल्झाउँला न । बरु आज बेलुका उ आउँदैछ । उसलाई हजुरहरुले आँशुले स्वागत नगरी छोरो आएको खुशीले स्वागत गर्नुपर्छ । हाँसेर स्वागत गर्नुहोला । यस्तो स्वागत गर्नुहोस् की छिमेकीहरुले पनि गर्व गर्न सकुन् की आमा र छोराको माया र ममता त यस्तो पो हुनुपर्छ भनेर । जलोस् उनिहरुको मन सागर जस्तो उनिहरुको छोराहरुको प्यासमा ।” 

 

मेरो कुरा सुनेर उनी केही बुझेझै गरेर मौन भइन् । मैले भने एउटा कुरा भन्नै बिर्सेछु । भनुँ की नभनुँ । निकै दोधारमा परेँ म । कुरा थियो लकडाउनको । 

 

“अनि सुन्नुस न” मैले मलिनो आवाजमा भनें । उनले शिर उठाएर भन भन्ने इशारा गरिन् । 

 

“उ १४ दिनसम्म घरमा बस्न नपाउने मात्र होइन, त्यतिबेलासम्म उसलाई कसैले छुन, अँगालो मार्न त कुरै छोडौँ, भेट्न पनि हुँदैन है ।” 

 

“तर किन यस्तो, मेरो छोराले कुनै रोग त ल्याएको छैन होलानी” आमाको चिन्ताको प्रश्न ढुंगा बनेर आयो । 

 

“नआत्तिनुहोस् । रोगै सरेको रहेछ भने पनि के भो त ? इलाज भईहाल्छ नी । त्यसमाथि रोग नलाग्दै उपचार पाउनु त ठुलो कुरा हो नी ।” 

 

“अनि बाबु, हामीले सरकारलाई यसरी १४ दिन राखेको कति तिर्नुपर्छ नी ।”

 

“पर्दैन कत्ति पनि । त्यहाँको वन्दोवस्त र खर्च सबै सरकारले नै मिलाएको छ । तर उसले हजुरको हातले बनाएको खाजा त त्यतिञ्जेल बिर्सनै पर्छ ।”

 

“मैंले सँधै गएर भेट्न त पाउँछु नी”

 

“हजुरलाई पुर्‍याउने र ल्याउने जिम्मा मेरो है त । अँ एउटा कुरा उसले भनेको छ है मलाई । त्यो कालो चटनी चाहीँ बनाएर राख्नुस् रे, उसले त्यहाँ मौका पारेर खान्छ रे । हजुरलाई सम्झना गरेको खबर सुनाउन त आएकै हुँ नी म ।” 

 

“ए त्यसो गर्न हुन्छ त ? लौ त्यसो भए म अहिल्यै भान्सामा गएँ चटनी बनाउन । तिमी पनि चाख न त है बाबु ।” 

 

“चाख्ने मात्र कहाँ हो र म त चटनी र भात पेटभरी खान्छु मेरो छिमेकी आएको खुशीयालीमा ।”

 

यत्तीका लामो संवाद पश्चात म घर फर्किएँ । आमाले खाना बनाउँदै हुनुहुन्थ्यो । मैले आमाको पछिल्तिरबाट गएर उहाँलाई कस्सेर अँगालो मार्दै भनेँ “लभ यु आमा ।”

 

आमालाई अचम्म लाग्यो होला सायद । तर मेरो त्यो खुशीको उत्तर मसँगै मात्र थियो । आमासँग थिएन । 

 

बेलुकीपख फेरी हल्लाले व्यस्त थियो वातावरण । सागर आउने खबर वारे उसकी आमालाई गएर सोध्ने, नानाथरीका कुराहरु सुनाएर उसकी आमालाई भयभित बनाएका रहेछन् । 


उनी तिनको कुरा सुनेर अत्तालिँदै मकहाँ आइपुगिछन् ।

 

“बाबु के भन्छन्, यो रोगले त ज्यानै लिन्छ रे हो ? यसले गर्दा कति मरिसके रे हो ? यसको उपचार अमेरिकाले हो की के हो सन्सारकै शक्तिशाली देशले पनि गर्न सकेको छैन रे त हो ?” उनी आँसुमा चिन्ता मुछ्दै बोल्दै थिइन् । ती आँसुमा कति स्नेह र माया लुकेको थियो मैले सजिलैसँग पढ्न सकेँ । उनका ती बोझहरुमा मलहम लगाउँदै मैले उनलाई भनेँ, “हजुर किन तिनका बकम्फुसे कुरा सुनेर आफ्नो आँसु नास गर्दै हुनुहुन्छ ? ऊ रोगी हुँदै होइन र यो रोगले युवाहरुलाई घात पुर्‍याउँदैन पनि, समय मै इलाज गरे निको भैहाल्छ । उसको कलिलै उमेर भएकाले यस्ता रोग पचाइ, चपाइ हाल्छ नी उसले यस्ता नाथे भाइरसहरु, त्यो त खाली भाइरस हो, सागर त त्यसको पनि दाइरस हो आण्टी । अब उ केही बेरमा आइपुग्छ । हजुरले चटनी बनाएर तयार राख्नुस् । हजुरलाई ढोगेरै जान्छ टाढाबाट” मैले खुशीको खबरमा अलिकति दुखको खबर मुछेर दिएँ । सायद उनले पनि दुख जति पचाएर सुखद समाचार मात्र छानेर लगिन् होला । 

 

बेलुका सागरको गाडी घर अगाडि रोक्नासाथ त्यहाँ मेला नै लाग्यो । सागरले घर पुग्नु अघि मलाई फोन गरेर खबर गरिसकेको थियो । उसको छेउछाउमा मुखिया र १–२ जना नर्स पनि थिए । उसले घरमा लुगाहरु पनि राख्न नपाउने भयो । सबै लुगाहरुलाई उहीँ लगेर उनीहरुले नै दबाइ (औषधी) छर्कने रे । 

 

मान्छेहरुको आँखाबाट अनेक थरिका परिभाषाहरु देखिइरहेका थिए । उनीहरुको हेराइमा सागर एक अपराधी हो, हत्यारा हो, कसैले यो रोगी हो, कसैले यो अब धेरै बाँच्दैन भनेर फुसफुसाउन थाले । यो सब कुराको सामना गरिरहेकी उसकी आमाले मलाई हेर्दै वात्सल्यसहितको साउती गर्न थालिन् र मैले पनि इशारै इशाराले एक कानबाट सुनेर अर्को कानबाट उडाईदिनुहोस् भन्न थालेँ ।

 

सागरले गाडिबाट उत्रने वित्तिकै माटोलाई निधरमा घस्यो । पिलपिल आँसु गर्दै मलाई हेर्‍यो । मैंले निधार खुम्च्याएर “तँ रुन्छस् भने आमाको हालत के होला” भन्ने हेराइले हेरेँ । अनि उसले मुहार घोप्टायो र दुःख लुकाएको आवाजमा भन्यो, “ढोगें आमा ।"

 

आमाले न नै मनको भक्कानो फुटाउन सकिन्, न नै आँखाको डिलमा जमिरहेका आँशुको मूल फुटाउन नै सकिन्  । आँसु किन सबै परिस्थितिकोे प्रतिनिधि हुन्छ कुन्नि । न नै दुखको न नै सुखको, न नै पिडाको न नै हर्षको, न नै छोरामा न नै आमामा, न नै मित्रमा न नै वैरीमा । सबैको एक समान प्रतिनिधि हो आँसु । पौराणिक कथादेखि सुन्दै आएको आँसु महिमा कसैले पूर्णरुपमा काव्य लेखेको हात परेको छैन । यसको यस्तो महत्वले गर्दा नै सृष्टिकर्ताले सबै प्राणीहरुमा आँशु थपिदिएका होलान् । 

 

फोन भित्रको आवाज र बाहिरी आवाजमा पनि आमाहरुको ममता फरक हुँदोरहेछ । सागर की आमा उसलाई देखेर यसरी खुशी भईन् की मानौँ हप्तादिन देखिको भोकोपेटलाई खाना मिल्यो, खडेरी लागेको गलामा पानीको मूल फुट्यो । पानी नभएर छट्पटाइ रहेको माछो समुद्रमा तर्न थाल्यो । म ती खुशी रस प्यूँदै थिएँ । आनन्द लिएको थिएँ । त्यहीबेला आफ्नी आमाको फोन आयो । मैंले फोन उठाएर “लब्यू आमा” भनेर फोन काटिदिएँ । 

 

मैंले मुखिया, नगरपालिकाका कर्मचारीहरु र नर्सहरुलाई थोरै प्रश्न विछ्याएँ । सागरकी आमाको चिन्ता पनि केही कम होेस् भनेर सागरलाई चौध दिन राखिने ठाउँको वारेमा सोधें । उनीहरुले सबै सुविधाजनक भएको बताए । 

 

म्यन्मा एउटा दानी देशको सूचिमा पर्दछ विश्वमा नै । बुद्ध धर्मको शासनले दान गर्न र दुखीहरु प्रति सेवा सत्कार गर्न वरदानै पाएका छन् । मिलनसार, संवेदनशील र सहयोगीको रुपमा हाम्रो देश निकै उच्चस्तरमा नै सम्मानित छ । यो महामारीको समयमा पनि क्वारेन्टाइन कक्षमा राखिने सबै यात्रीहरुलाई सुविधाजनक तवरले प्रवन्ध मिलाइएको छ । बिहानको नास्ता, दिवा भोजन, दिवा नास्ता, रात्री भोजन । सबै निःशुल्क । यहाँसम्म की वाइफाइको प्रवन्ध समेत मिलाइएको छ । 

 

सरकारको योजनाले चामल, प्याज, तेल र अण्डा आदि जरुरत परेकाहरुको घरघरमा पुर्‍याएइको छ । अझ हामीलाई त हाम्रै गोर्खाली समाजले पनि सहयोग गरिरहेको छ । लकडाउनको समयमा पनि हाम्रा गोर्खाली दाजुभाइहरु स्वयंसेवा गर्न गएका छन् । मेरो पनि छिटै पालो आउँछ, नाम लेखाइसकेको छु । १४ दिनसम्म ती असिमित सेवा गर्न यो सरकार र स्थानीयहरुको यो कदम एकदमै सह्राहनीय छ । यो मोगोक वासीन्दाहरुको एक विशेष सेवा कार्य पनि हो, जसलाई म्यन्मा देशले नै मान्यता दिएको छ । मैले यी सब कुराहरु सागरकी आमालाई सुनाउँदै उनको चिन्ताको ज्वालामा शान्तिको पानी खन्याई दिएँ । 

 

राती ओछ्यानमा पल्टँदै म सोच्न थालेँ । जिम्मेवारी कस्तो ज्वाला हो ? जल्नेलाई पनि पोल्छ, जलाउनेलाई र हेर्नेलाई पनि पोल्छ, र देखाउनेलाई पनि, यी आमाछोराको यो दृष्यबाट म भावुक मात्र भइनँ, बरु ममा आमाप्रतिको प्रेम पनि बढेर आयो, सम्मान पनि झनै हुर्केर आयो, इज्जत त पहिले देखि नै गर्थेँ, तर यो पटक अझ अलग भयो । मैंले आफ्नी आमालाई मात्र हैन संसारका सबै आमालाई सम्झेरै नमन गरेँ । त्यसैबखत महेश पौड्यालको एउटा कविताले मलाई यो कथाको निचोड देखायो “भोक लाग्नु, अन्न पनि हुनु, तर भोक र अन्नको दूरी धर्ती र आकाश झैं हुनु पीडाको एक महाकाव्य हो” यो कविताको मर्म बल्ल बुझ्दैछु, यो कविताको लामो उपन्यास बल्ल बुझ्दैछु, यो कविताको गहिराईमा बल्ल डुब्दैछु । भोक र शोकले कसैलाई छोड्दो रहेनछ । चाहे धनि होस् चाहे गरीब । सबैको लक्ष्य हुन्छ कमाई गर्नुमा भोक र शोकबाट मुक्त हुनमा । भोक लाग्दा न नै सम्पत्तिले टार्न सकिन्छ न नै शोकले थेचार्दा पैसा बिछाएर आनन्द लिन सकिन्छ । यो त नियतिले दिएको एक ... । यत्तिकैमा मेरो लेखाईबाट कवितामा केही त्रुटी भए पनि भावनामा केही त्रुटी नभएको आत्मबल सहित म निदाएँ भोलि सागरकी आमालाई क्वारेन्टाईन कक्षमा लग्नुछ । 

 

स्वर्ण भूमि म्यन्माको एउटा प्राकृतिक मनोरम वातावरण छ । त्यो हो चैत्यको गजुरबाट छरिने स–साना ध्वनी । चैत्य दान गरेरमात्र मर्न पाउँ भन्ने धोकोको कारण यो देशले लाखौँ चैत्यहरु ओढेर बसेको छ । विहारहरुबाट सूर्योदय भन्दा अघि धर्म देखिनाले प्रभातको स्वागत गर्छ । त्यसैलाई श्रवण गर्दै मान्छेहरु पनि आफनो दिनचर्यारम्भ गर्दछन् । अरुण भोजन ग्रहण गर्नु पुर्व र्विहारबाट कलट्टे-लकडीले बनाएको एक डाठो पदार्थलाई बजाएर भिक्षु र उपासकहरुलाई  जागृत गराउँछन् 

 

टक...टकटक...टकटकटकटक... टकटकटकटकटकटकटकटकटकटकट... बज्दा पहिले छोटो बज्छ पछि छिटोछिटो बज्ने गर्छ । यसले आमाको उमेर भएकाहरुलाई भिक्षादान तयार बनाउनसूचित पनि गरिरहेको हुन्छ छ भने बिहान भिक्षुहरुको भिक्षाटनमा बजाइने च्येसी (पित्तलले बनाएको तीनकुने एक प्रकारको घण्ट) ले हामी युवाहरुलाई जगाउने एक प्रकारको ध्वनी भन्दा पनि हुन्छ । यसरी दिनचर्या माझ बाँचेका हाम्रा निम्ति प्रकृतिद्वारा निर्मित यी उपकरणहरु उपयोगी छन् ।

 

आज कलट्टेको टुकटुक आवाजसँगै म आमासँगै उठें । आमा मलाई देखेर अचम्म मान्नु भो । यस्तो की मैले विवाहको प्रस्ताव राख्दैछु, बुहारी ल्याउने विन्ति विछ्याएको छु आमासँग, कुनै यात्रागर्न सहसा अनुरोध गर्दैछु । तर आमालाई थाहा थियो । मेरो उठ्नुको तात्पर्य, त्यसमा आमालाई सञ्चो महसुस पनि भएको थियो । नत्र कसरी मैले मुख धोइसक्दा टेबुलमा कफीको कप आइसक्थ्यो होला र । मुख धोएर मैले आमालाई ढोगेँ र भगवानलाई माथि चढेर ढोगेँ । किनभने मलाई भगवान भन्दा आमा नै महान लाग्छ । पछिमात्र मैले मान्ने आस्था प्रति शिर झुकाउन माथी गएँ । यो मेरो नित्यकर्म नै हो । 

 

म बाइक लिएर सागरको घर अगाडि पुगेँ । सागरकी आमा एउटा कम्बल ओढेर पर्खिरहेकी थिइन् । दुईतीन वटा टिफिन पनि देखेँ मैले । तर केही सोधिन ।

 

मैले हात जोडेर सम्बोधन गरेँ । उनले विनयको दृष्टि छोड्दै “मैले दुःख दिएँ है बाबु तिमीलाई” भनिन् ।

 

मैले  “आजै त्यसो भनिहाल्नु हुुन्छ । अझै १३ दिन बाँकीे छ । किन आत्तिनु भएको ? ” 

 

उनले मेरो नमस्कारमा “यसरी नै हामी बुढाबुढीको सेवा गर्न सकोस् ।”  

 

एउटा प्रभात दुइवटा भावुक आर्शीवादले सुरु भयो । म कति भाग्यमानी । सागर तिमीलाई धन्यवाद ।

 

क्वारेन्टाइन कक्षमा हात धुन लगायो पहिले, त्यसपछि एक एक वटा मास्क दियो । ती मास्कले मुख छोपेर हामी सागरलाई कुरिरहयौं । मास्क लगाउँदा सागरकी आमालाई अप्ठ्यारो भएको मैले देखिरहेको थिएँ । सास फेर्न सरल भएन होला । कहिले नछोपेको मुख छोप्नु पर्दा गाह्रो त भइहाल्छ । म बुझिरहेको थिएँ तर पनि नबुझेझै गरिबसेँ ।


सागर आइपुग्यो । सागरकी आमा यस्ती भइन् की उनको सामु देवता नै प्रकट भए जस्तो । कुनै फिल्मको हिरो निस्के जस्तो । 

 

उसले अभिवादन गर्‍यो टाढैबाट । उसले मन पराउने पानी रोटी र आलुको चटनी आमाले दिइन् ।

 

पानी रोटी सागरलाई एकदम मन पर्ने खाजा हो । सागरकी आमाले थोरै आलु पुरी र सेल पनि पकाएर ल्याएकी रहिछन् । मलाई त्यो हेर्दै खाम खाम लागेको थियो । तर त्यो न त सागरको लागि थियो न नै मेरो लागि । उनले त त्यहाँका स्वास्थ्यकर्मीहरुलाई पो ल्याइदिएकी रहिछन् । सबैलाई बाँड्दै छोरोको राम्रो ख्याल राखिदिनुस् ल यो नै घरको सबथोक हो, यो नै घरको मूली हो भन्दै थिइन् । त्यो कार्य देखेर त्यहाँका मान्छेहरु अचम्म मानिरहेका थिए । आमाछोराको प्रेमले हो या सेल रोटीकोे... करामत हो कुन्नि । म्यन्मामा सेलरोटी र आलु पुरी धेरै रुचाउँछन् । चाडपर्व आयो भने गोर्खालीका घरहरुबाट आउने मिष्ठान्न मध्ये यी दुई खानालाई बढी रुचाउँछन् । अझ हाम्रो मोगोकमा त अधिकांश गोर्खाली भएकाले नेपाली भाषा बोल्न जान्ने म्यन्माहरु पनि कम छैनन् । द्यौसी, भैलो र तीज जस्ता बेलाहरुमा खुब रमाएर नाच हेर्छन् । “कुुुसुमे रुमाल” र “कान्छी हे कान्छी” त उनीहरुको मुखैमा झुण्डिएको  गीत नै हो । द्यौसी टोलीहरुलाई घरमा निम्त्याएर नचाउँछन्, स्वंय परिवारै घुसेर नाच्छन् र रहर लाग्दो रकम पनि दिने गर्छन । उनीहरुलाई थाहा छ यही रकम–चन्दाबाट मन्दिर र नेपाली पाठशालाहरुको सञ्चालन हुन्छ भनेर ।

 

सागरकी आमाले सबैलाई सम्बोधन गर्दै गईन् । सबैले रोटी, आलुपुरी र चटनी मिठो भएको भन्दै तारीफ गरे । उनको मुहारमा खुशीका रेखा चम्की रहेका थिए । हामी त्यहाँबाट बिदा लिएर घरतिर लाग्दा मैले उनलाई प्रश्न गरेँ, “आण्टी तपाईंलाई कसरी थाहा भो त उनीहरुले सेलरोटी खान्छन् भनेर ?"


“हिजोका बच्चा हौ तिमेरु, मैले हिजै मुखियालाई सोधिसकेको थिएँ । पानी रोटी नै लग्छु भनेको थिएँ । तर उनीहरुले सेल अझ रुचाउने गरेको कुरा थाहा पाए पछि यसो गरेको नत्र कसरी थाहा हुने नी । हा हा हा हा ...।”

 

उनी खुशी थिइन् । उनलाई देखेर म पनि खुशी थिएँ । हामी सबै खुशी थियौँ । 

 

सागरले अलिकति पैसा ल्याएको छ । तर अहिल्यै दिन मिल्दैन । त्यसलाई किटाणु मार्ने दबाईले छर्केर मात्र चलाउन मिल्ने सुनिसके पछि उसले मलाई गुहार ग¥यो । “३५,००० च्याट् को चामल र ८,००० च्याट् को तेल किनिदिनु र भोली कुखुराको मासु लगिदिनु । हिसाब राख्नु म यहाँबाट विदा भएर फिर्ता गर्छु” भन्यो । त्यही कुरा सागरकी आमालाई सुनाइदिएँ । उनी खुशी भइन् । र मलाई एउटा शब्द पोखीन् आँसुलाई सहयात्री बनाएर, “तिलकबाबु, सन्तानको अगाडि धन केही रहेनछ, उ आइपुग्यो भन्दा बित्तिकै मनमा जिम्मेवारीहरुको डरबाट मुक्त भएको महसुस भयो । सामना गर्छु भन्ने साहस बढेर आयो । उ नआउञ्जेल पेटले सतायो, अँ हैन पेटहरुले सताएको थियो । आज एउटा पेट बढेर आउँदा पनि म निडर छु । रगतको साइनोमा महसुस कसरी फरक हुन मिल्थ्यो र तिमी पनि घर घुसेर पानी रोटी खाएर जाउ । सागरले मलाई भन्यो की तिम्रो पनि पानीरोटी नै मनपर्दो खाना हो रे ।” मैले हुन्छ भनिदिएँ अनि आफ्नो घर पुगेर आमालाई सागरको घरमा पानी रोटी खान्छु भन्ने जानकारी दिएँ र त्यहाँ गएर खाएँ । 

 

लकडाउनले सबैथोक बन्द गर्न सकेपनि खाने मुखलाई भने लक गर्न सकेको छैन । भोकलाई लक गर्न सकिएन । प्यासलाई लक गर्न सकिएन । मजदूरको पसिना पहिले थकाईले रोक्न सकेको थिएन भने अहिले चिन्ताले बगेको बग्यै छ पसिना । रोगीलाई रोगको औषधी खान एक प्रकारको डरले रोक्न सकेको थिएन भने अहिले औषधी नभेटिने डर रोक्न सकिएको छैन । यो डर पनि कस्तो अचम्मको चिज, आकार छैन, तर पनि सबैलाई थर्काउन सक्छ, जन्मेर धर्तीमा आएका हामीलाई फर्काउन सक्छ, ख्वै कति नमिठो चिज पनि बनाएकै हुन दैवले । 


१४ दिनको यो सागरकहाँ जाने र आउने कामले मलाई विहानै उठ्ने बानी बसाली दिईसकेको थियो । आमा खुशी हुनुहुन्थ्यो । भिक्षुहरु पनि मलाई नौलो मान्छे झै हेरिरहेका थिए । कहिल्यै बिहानै उठेको नदेखेर होला सायद । 

 

आज अन्तिम दिन १४ दिनको । कहिले भाइलाई त कहिले बहिनीहरुलाई पनि साथमा लगेर दुई हप्ताको विहानको समयमा सागर कहाँ भेट्न पुर्‍याएको थिएँ । आज शनिवार परेको छ । सागरलाई आज मुखियाले नै चिया नास्ता गराएर ल्याउने कुरा भएकोले हामी जाने आवश्यकता परेन । तर बिहानै ढोका ढकढकाएको आवाजले मेरो निन्द्रा खुल्यो । बाहिर हेर्दा त सागरकी आमा पो आएकी । “आज त जान पर्दैन नी आण्टी” मैंले सम्बोधन अघि नै त्यो कुरा भन्दा उनी मुस्कुराउँदै “हिजो सागरको रगत परिक्षण पश्चात रोग नभएको प्रमाण भेटियो रे । ऊ आज घर आउन सक्छ । मलाई अँगाल्न सक्छ । यी गालामा म्वाई खान सक्छ । उसका भाइबहिनीहरुलाई नजिकबाट अँगाल्न सक्छ । उसका अनुभवहरु भाइबहिनीहरुलाई बाँड्न सक्छ । सिकाउन सक्छ । के के ल्याइदिएको छ दिन सक्छ अब । मैले भाकल गरेको थिएँ । यसको स्वास्थ्यमा कुनै खोट नआए म दुर्गादेवीलाई एक कांगियो केरा र नरिवल साथमा नागलाई दुध चढाउँछु भनेर । आज शनिवार हो । ई हेर त, ती सबै मालसमान किनेर पर्खेको छु तिमीलाई । रामकी आमा कौशल्याले कसरी उसका सन्तानलाई १४ वर्षसम्म कुरेकी रहेछिन् कठै मलाई उनि प्रति माया बढिरहेको छ । मलाई जाबो १४ दिनले त यस्तो पोलेको छ भने ।” 

 

कठै सागरले यो हालतमा के पो ल्याइदिन सक्ला र । मैले पनि जुत्ता त मगाएको थिएँ एक जोडी । मान्छे राम्रै आइपुगेको र रोग नलागेको खबर नै सबैभन्दा ठूलो उपहार भयो । ल्याए लिउँला नल्याए म सोध्नेवाला छैन । 

 

मोगोकमा लगभग ३० वटा गाउँ छन् भने मन्दिर, भवन र विहार मिलाएर २४-२५ वटा जति छन् । मन्दिर र भवनहरुमा यहाँ वसन्त विदाइको याममा नेपाली पाठशाला सञ्चालन हुन्छ । दुर्गा मन्दिर छ हाम्रो गाउँमा । हाम्रो उपशाखा तीनवटा गाउँले सजिएको छ । पामा–टाउँकछिन्–फयू ।

 

हामी मन्दिर पुग्यौं । सायद मातालाई पनि लकडाउन गरिएको छ । पुजारी मन्दिरको ताला लगाउँदै थिए । हामी मन्दिर पुग्दा उनले भने । सरकारले ३ जनाभन्दा बढी भेला नहुनु भनेको छ । धुप, बत्ती र आरती गरेर मन्दिर बन्द गरिहाल्नु भनेको छ । त्यसैले ...।

 

पण्डितजीको कुरा आमासम्म के पुगेको थियो आमाले रुन्चे स्वरमा “हामीलाई त देऊ पण्डित बाजे, छोराको लागि राखेको भाकल हो । उसको स्वास्थ्य मेरो स्वास्थ्य हो, मेरो स्वास्थ्य उसको प्राण हो । त्यसैले उसको नाममा भाकल गरेको चढाउन आएकी हुँ । ५ मिनेटमात्र समय देउ । म सकिहाल्छु । पुजारीलाई मैंले मधुर मुस्कानमा टाउको हल्लाएर मानि दिनुस भन्ने संकेत गरें ।  उसले पनि “हामी बाहिर कुर्छौ, हजुर छिटोभन्दा छिटोे पुजा गरेर आइहाल्नुस् । तर ढोका बन्द गराई रहन्छौं । अरु थपिए हामी सम्हाल्न सक्दैनौं ।

 

बोल्दै नबोल्ने भगवान प्रतिको मान्छेको प्रभाव कस्तो छ । आस्था एकप्रकाको नशा हो । मलाई लाग्छ सुनिदिने मात्र चाहिन्छ मान्छेलाई । फेरी प्रश्न गरे नरुचाउने व्यवहारले गर्दा सुन्ने जिम्मा मात्र लिएका भगवान लोकप्रिय भए । यदि भगवानले पनि तँ निकम्मा, बेकम्मा, गल्ती तेरो हो भनेर कुरा फर्काउन जान्ने भए मान्छे भगवान प्रति यस्तो हुन सक्दैन थिए सायद । राम्रो कुरामात्र छानेर सुन्ने मान्छेहरुको लागि भगवान अझ प्रिय हुन्छन् होला । आलोचनाले हलचल नहुने मान्छेहरु भगवान भन्दा स्वाबलम्बी पनमा अझ निर्भर हुन्छन् जस्तो लाग्यो मलाई । 

 

आमा एक अभिनय गर्न सिपालु नायिका हुन सबै सन्तानको लागि । बचपनमा आमाले रोएको देखे रुँदै गरेको बच्चा पनि चुप हुन्छ । आमाले कसैको चुटाइ खाएको अभिनय गरे बच्चा रोइहाल्छ । आमा हाँसेको देखे बच्चा हाँस्छ । आमाले खाएको देखे बच्चाले मुख खोली हाल्छ । आमाको मुख बिग्रेको देखे बच्चा मौन रहन्छ । आमा र सन्तानको कनेक्सन अलग छ । तर विशेष छ । फरक छ, तर महत्वपूर्ण छ । 

 

“लु भयो” पछाडिबाट आमाको आवाज सुन्दा म झस्कें र पण्डितजीलाई धन्यवादको हार्दिकता बुझाएर बिदा लियौं । 

 

बेलुका सागर घरमा आयो । सागर आउनु उसकी आमाको लागि खुशीको सागर आउनु सरी नै हो । सागर आउनु उसको भाइको लागि उमंगको सागर आउनु नै हो । सागर आउनु उसकी बहिनीहरुको लागि हर्षको सागरमा डुुबुल्की मार्नु नै हो । त्यो रात म सागरको घर गइनँ । परिवारसँग मात्र उसले समय बिताउन पाओस् भन्ने हेतुले म घरमा आमासँगै बसेँ । 

 

भोलिपल्ट एका बिहानै सागर आयो मेरो कोठामा । म पारिजातको “मैंले नजन्माएको छोरो” पढिरहेको थिएँ । उनले नजन्माएको छोरो प्रति त त्यत्रो अगाध प्रेम छ भने जन्माएको छोरो प्रतिको माया त मैले कल्पना कसरी गर्न सक्छु र ? कथा र उपन्यास जीवनसँग फरक हुनसक्छ तर तिनमा पनि केही न केही भने जोडिएकै हुन्छ । त्यो कथामा कसैको कथा त पोतिएकै हुन्छ । यो नकार्न पनि सकिन्न । 

 

उसको हातमा एउटा कमिज थियो । उसले मेरो हातमा दिंदै “अरु उपहार किन्न समय मिलेन दाई, हजुरले मगाएको जुत्ता पनि किन्न समय मिलेन, मलाई क्षमा गर्नुस्, पछि आउने साथिलाई थाइल्याण्डको लकडाउन खुलिसक्दा ल्याउन मैंले मेसेज गरिसकेको छु । यो चोटी यसैले चित्त बुझाउनु है र यो मैंले हजुरसँग लिएको उधारो” भन्दै थोरै पैसा पनि दियो । मैंले पैसा नगनी खल्तीमा हालेँ र “आज मेरो घरमा चिया खाएर जाने है तेरो घरमा मात्र खाएको धेरै भयो” भन्दै आमालाई दुई गिलास चियाको अनुरोध गरें । 

 

आमाले चियासँगै प्रश्नको थालि पनि लिएर आउनु भएको रहेछ । सागरको सामु प्रश्नको नदी बगाइरहनु भएको थियो । उसले पनि आफनो विदेशका अनुभवहरु आमालाई सुनाउँदै थियो । 


“परदेशमा सबै कुरा मिल्छ भन्थे आण्टी, ख्वै आमा मिलेन । जे पनि किन्न मिल्छ भन्थे, भाइ–बहिनीको माया मिलेन । हो ठूलाठूला घरहरु छन् तर मन भएकाहरु खोज्न गाह्रो भयो । पसलहरु धेरै देखिए तर खुशी किन्न कतै मिलेन । कारखानाहरु निकै रहेछन् तर स्वदेशको नक्कल बनाउन सक्ने कुनै कारखाना देखिएन्, भोकै बसेका दिन छन् कसैको गीतमा आएन, रुँदै बसेका दिन छन् कसैको चिठीमा प्रश्न रहेनन्, पिडै पिडाले बितेको परदेशीको दिन के बयान गरिरहुँ म ख्वै, यहाँ त आजकल मलाई लाग्छ घाम पनि शीत्तल हुन्छ । आगो पनि न्यानो हुन्छ, वेदनाको कुनै शीर्षक नहुँदो रहेछ घरमा । मान्छु म यहाँ थोरै दुख र रोजगारीको आवश्यकता त छ तर घरै छोड्ने वाध्यता त बनाएको छैन म्यन्माले, म अब जान्न यहीँ बस्छु, केही सिक्छु यहीँ, र भाइबहिनीहरुलाई यही भनेर बताएको छु । विदेश जानुपर्छ तर पढेर मात्र, राम्रो पढाइ गरेर राम्रो जागीर गर्न मात्र जाने । नपढी नजाने परदेश” उसका यी भावुक शब्दहरुले तातो चियाको ताप पनि भुलाएको थियो । 

 

मैंले ती भावुकताको भुमरीबाट निस्किने बहाना गर्दै “क्वारेन्टाइनको अनुभव भनन बरु...” भनेँ ।

 

“के छ र तिलकदाई, यस्तै हो । हाम्रो देशको नागरीकहरुको सँस्कार देख्न परदेश गएर बस्नुस्, यो देश सहयोगी र एकदम मिलनसार देश हो । मलाई क्वोरन्टाइनमा बसेभैंm पनि लागेन । घर जस्तै थियो । तर आमा र भाइबहिनी मात्र थिएनन् । त्यहाँ सबै सुविधा थियो घरको खाना बाहेक, न्यानो थियो आमाको अर्ति बाहेक । सबै सुविधाजनकको परिबन्ध थियो । दिनको २-४ पटक निरीक्षण गर्न आउँछन् । समयमा खान दिन्छन्, विहान धर्म देशनाले दिनको सुरुवात हुन्छ भने साँझ पनि ध्यान बसेरमात्र दिनको अन्त हुन्छ । आजसम्मको हिसाब अनुसार हाम्रो मोगोकमा कुनै गोर्खाली यो रोगको दास बनेको छैन, मेरो अनुभव र मैंले त्यहाँ सोधेजति म्यन्माको कुनै पनि गोर्खाली यो रोगको संव्रmमणमा परेको छैन । यो हाम्रो सँस्कारको प्रतिफल हो दाइ ।” 

 

“कसरी कोरोना र हाम्रो सँस्कारको सन्दर्भ कसरी ...।”

 

“हो हात धुनु, घरभित्र घुस्दा गोडा धोएर मात्र पस्नु, जुठो नखानु, भाँडाकुँडा राम्ररी धोएर मात्र प्रयोग गर्नु इत्यादी कुराहरु सबै यो रोगबाट बचाउँछ, खानकीको कुरा गर्नेहो भने ल्वाङ, मरिच र अदुवाको चिया सबै औषधीजनक नै छ । लु भन्नुस् कसरी उपयोगी भएन ?”

 

म निरुत्तर भएँ । त्यतिकैमा आमाले थप्नु भयो, “घरको खानाको कत्तिको महत्व छ बुझिस त.... बाहिरको मात्र कचडपचड धेरै खान्छस् अब त घैँटामा घाम लाग्यो होला नि” म र आमा एकअर्कालाई हेर्दै आँखाका आँसुहरु लुकाइरहेका थियौँ । मानौँ हामी दुखले हैन, हर्षका आँसु लुकाइरहेका थियौँ । मैले आमालाई अँगालो मार्दै भनेँ  “लब्यू आमा” ।

 

त्यहीं बखत सागरकी आमा आइ पुगिन् हातमा एउटा पत्र बोकेर । मुखियाले दिएर गएको रे । स्वास्थ्य प्रमाण पत्र रहेछ । सागरले नियम अनुकुल सरकारको नियन्त्रणमा बसेर स्वास्थ्य जाँच गरिसकेको र रोग नभएको प्रमाण पत्र रहेछ । यही पत्र लिएर गाउँभरी उस्की आमाले सबैलाई आप्mनो छोरालाई मिलेको प्रमाण पत्र देखाउँदै सुनाउँदै र हर्ष बाँड्दै हिँडेकी रहिछन् । सायद मेरो घर नै अन्तिम घर थियो होला । आमाले सागरकी आमालाई पनि चिया लिएर आउनुभयो । उनी त्यहीँ चिया खाँदै आमालाई पनि पत्रबारे बुझाउन थालिन् । म र सागर घर बाहिर आयौँ र वरपर हेरेर बस्यौँ । सागरले भनेको दृष्य । सागरले गाएको गुणगानको दृष्य । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार