• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

'स्टपमा इनर्जी भर्न फेरि धेरै कुराहरु मिल्नुपर्ने हुन्छ'

लकडाउनमा के गर्दै हुनुहुन्छ ? 
धेरैले जस्तै म पनि परिवारसँगै समय बिताइरहेको छु । यसरी बस्ने समय छुट्टाउन सकिन्नथ्यो अहिले वाध्यात्मक भएपनि घर बस्न पाएको छु । घरमा सकेको सघाउने नत्र आफ्नै काममा घोत्लिने । तर यही बेला धेरै नागरिकहरु घरसम्म पुग्न सकेका छैनन्, पुग्न पाएका छैनन्, मजस्तै परिवारसँगै बस्न पाएका छैनन् । उहाँहरुको जीवनयापन झनै कष्टकर, समस्याग्रस्त बन्दैछ । यो कुराले लकडाउनमा चिन्ता थपिरहेछ । 
 

कसरी बित्दैछ दिन ?
गत सातासम्म निकै वयस्त रहेँ । लकडाउन सुरु भएपछि भर्चुअल थिएटर फेस्टिवल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ गरिरहेका थियौं । १८/१९ दिनसम्म त्यसैमा दैनिक १४/१५ घण्टा समय बितिरहेको थियो । नयाँ वर्षसँगै यसै फेस्टिवलको र बालसाहित्यको ‘भर्चुअल साहित्य उत्सव’ अन्तर्गत बहस विमर्शमा सहभागी भएँ । बालसाहित्यकारहरु के गरिरहेछन् भनेर सन्देशमूलक भिडियो निर्माणमा सक्रिय रहेँ । अनि पहिले कथा सुनाएका भिडियोहरु सम्पादन गरे सार्वजनिक गर्ने तयारी हुँदैछ । 

लकडाउनले काम कत्तिको प्रभावित भएको छ ?
समय नै लकडाउन, नियमित कार्यालय र पेशागत कामहरु ठप्प नै भईहाल्यो । गरिरहेका कामहरु जहाँको तहीँ ‘स्टप’ गरेर क्वारेन्टाइनमा पसेका हौं । यो खुलेपछि पनि ती कामहरु सहजै अघि बढ्ने मुश्किल छ । किनकी लकडाउनले कामलाई ‘पउज’ गरेको होइन ‘स्टप’ गरेको हो । स्टपमा इनर्जी भर्न फेरि धेरै कुराहरुको तारतम्य मिल्नुपर्ने हुन्छ । 

 


 

अरु बेला गर्न नभ्याएको के कस्ता कामहरु सम्पन्न गर्नुभयो ?
अरु बेला खास कल्पना पनि गर्न नसकिने भर्चुअल थिएटर फेस्टिवल गर्‍यौं । त्यसमा समय धेरै गएकोले लेख्छु भनेर सोचेका कुराहरु लेख्न सकिन । सामान्यतया हाम्रो अधिकांश काम थिएटर र घरबाहिरै हुन्छ, गर्न नभ्याएका काम बढी उतै हुन्छ जुन घरभित्रबाट सम्पन्न गर्न सकिन्न ।


किताव पढ्ने चलचित्र हेर्ने केहि ?
साहित्य पढ्ने र फिल्म हेर्ने काम सबैभन्दा आनन्दको काम हो । फेस्टिभल सकेलगत्तै नयाँ वर्षसँगै पढ्ने र हेर्ने गरिरहेछु । दिनमा कम्तिामा एउटा फिल्म हेर्छु । अनि अनलाइन आर्टिकलदेखि पुस्तक पढिरहेछु । भर्खरै संजिव उप्रेतीको ‘हंश’ सुरु गरेको छु । फिल्महरु चाहिँ केही नयाँ बाहेक संकलनमा रहेका हेरिसकेकै फिल्महरु दोहो¥याउँदैछु ।

 
समय तालिकामा के फेरबदल पाउनुभयो ?
समयकै स्वरुप परिवर्तन भएको बेला समय तालिका फेरबदल हुनु स्वाभाविक हो । पहिले अधिकांश समय घरबाहिर हुन्थें, घर आमाबाले सुविधा दिएको होटलजस्तो भएको थियो खान र सुत्न मात्र आउने, अहिले ठिक उल्टो भएको छ । म घरभित्रै छु र घर पनि म भित्र छ । 


यो समयमा सबै भन्दा धेरै के मिस गर्नुभयो ?
यो समयमा सबैभन्दा मिस भएको थिएटर र थिएटरका कामहरु । यो बेला हरेक वर्ष ‘लिटल थिएटर ग्यारेज : बालबालिकाको लागि अभिनय तथा नाट्य कार्यशाला’मा रमाइरहेका हुन्थ्यौं । यो निकै मिस भएको छ । अनि साथीहरु र साथीहरुसँगको भेटघाट मिस भइरहेको छ । 


लकडाउनमा रहँदाको रमाइलो कुरा ?
रमाइलो भन्ने की के भन्ने । एकै ठाउँमा पनि बसिराख्न सकेको छु र समय बोझिलो लागेको छैन । शरिर र दिमागले केही आराम पाएको महसुस गरेको छु । तर सामाजिक, राजनीतिक अवस्थाका खबरहरुले झस्काइरहन्छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार