• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

कोरोना भाइरसको परीक्षण १० स्थानमा सुरु

काठमाडौं । कोरोना भाइरसको परीक्षण सातै प्रदेशका १० स्थानमा सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

 

काठमाडौं सहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

 

सातै प्रदेशका अस्पतालमा सोमबार १०७ जना आइसोलेसनमा उपचार गरिरहेका उनले जानकारी दिए । देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । २४ घण्टामा मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा ३ हजार दुई सय १२ कलको सम्बोधन गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

 

प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको जनाए । राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म कोरोना भाइरसको आशंकामा एक हजार ६ सय ९७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार