• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

रोएको किन ? 

तपाईलाई पहिल्यै थाहा थियो, 
आज घरमा  केरा ल्याउनै  पर्छ र पशुपति पनि जानैपर्छ 
पशुपतिमा बाँदर छन् र तिनलाई केरा मनपर्छ 
अनि पहिला केरा किनेर पछि पशुपति गएको किन ?
अहिले आफ्नो घाउ हेर्दै केरा सम्झिएर रोएको किन ?


 
तपाईलाई पहिल्यै थाहा थियो 
उसले भेटेपछि कम्तिमा दुईघण्टा बोलेरै टाउको खान्छ 
तपाईसँग दुई चारहजार झारेर मात्रै बाटो लाग्छ
सडकको पल्लो पेटीबाट उता गइरहेको त्यसलाई 
सडकको ओल्लो पेटीबाट 'ए फलाना' भनेर बोलाएको किन ?
उ आयो,दुईघण्टा टाउको खायो र तपाईको ३ हजार लिएरै गयो 
अहिले तपाई आफ्नो पुर्पुरो समाएर रोएको किन ? 


 
तपाईलाई पहिल्यै थाहा थियो  
कोरोना महामारी रोग फैलिएको छ र यसले मानिस मर्न पनि सक्छ
मानिसबाट सर्ने यो तपाईले छोएको ठाउँबाट पनि सर्न सक्छ 
त्यसैले देशै पुरै लकडाउन छ र पुलिसले भेटे थुन्न सक्छ 
अनि घरभित्र बस्दाबस्दा दिक्क लाग्यो भन्दै डुल्न निस्किएको किन ?
चोरबाटो सुटुक्क गएर साथीहरुसँग हाहाहुहु गर्नुपरेको किन ?
अब ज्वरो पनि आयो,खोकी पनि लाग्यो 
अहिले आफ्नो काल देखेर मरिन्छ कि भन्दै रोएको किन ? 


 
तपाईलाई पहिल्यै थाहा थियो
उ कुनै संस्कार नपाएको मुर्ख स्वार्थी र मनमौजी छ   
निर्दयी उ अरुलाई दुख दिनु र लुट्नु आफ्नो बहादुरी ठान्छ  
अनि उसैका लागि भोट माग्दै हप्तौंसम्म घरघर डुलेको किन ? 
चुनावमा जितेपछि बधाई टक्राउन उसको ढोकामा पालो कुरेको किन ?
अहिले उसले भ्रष्टचार गर्यो र जनता चुस्यो भन्दै रोएको किन ? 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार