• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
शिक्षा

विद्यार्थी र अभिभावकसँग परीक्षा बोर्डले माफी माग्यो (एसइई परीक्षा स्थगन)

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको हो ।

 

विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

 

अचानक परीक्षा स्थगन भएपछि परीक्षा दिन तयारी अवस्थामा रहेका कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन नहुँदा परीक्षा केन्द्र सुनसान बनेका हुन् । स्थानीय तहमार्फत समन्वय गरेर प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भनिए पनि त्यसको प्रभावकारी तयारी हुन सकेको थिएन ।

 

बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ’ भनिएको छ ।

 

यसबारेमा सदस्य सचिव अर्यालले कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेकामा क्षमाप्रार्थी रहेको बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार