• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

रुवाउने कथा ‘आमा’

सुकृत नेपाल, काठमाडौं । मानव जीवनमा आमा सबैभन्दा प्रिय पात्र हुन । भगवानको अर्को रुपमा आमालाई लिइन्छ । आमा त्यस्तो एउटा सम्बन्ध हो जसले सन्तानको खुशीका लागी हजारौं कष्ट सहेकी हुन्छिन् । 


दिपेन्द्र के खनाल निर्देशित चलचित्र आमाले आमाका बिभिन्न रुप भोगाई र अनुभुर्तीहरुलाई दर्शक माझ पस्केको छ । सन्तानका खुशीका लागी आफनो खुशीलाई तिलान्जली दिएकी उनै आमा आफुलाई समस्या पर्दा एक्ली हुन्छिन् । समस्याको जञ्जिरमा फस्दा समेत सन्तानको मुहार हेरेर खुशी हुने प्रयत्न गरिरहन्छिन् । 


निर्देशक खनालले यस चलचित्र मार्फत फरक फरक परिस्थितीमा गुज्रिएका तीन महिलाका पिडालाई सशक्त ढंगबाट पर्दामा उतारेका छन् । बिरामी श्रीमान् र छोराछोरी भएकी आमा । अस्पतालमा छोरो जन्मिएको छ तर उनले आफनो छोरालाई टाडैबाट हेर्न मात्र पाउँछिन् । उनलाई आफनो सन्तानलाई स्पर्श समेत गर्न पाउँदिनन् । आफनै कोखबाट जन्माएको सन्तानलाई छुन नपाउनुको पिडा उनले भेगेकी छिन् । अर्को सन्तानको प्रतिक्षामा छिन आमा बन्ने प्रयत्नमा छिन  । सन्तानको चाहना छ तर चाहना अधुरै हुन्छ । कयौंपटक बच्चा जन्माउने अनेकन प्रयास गर्दा बच्चा नहुनुको पिडा यी स्त्रीले भोग्छिन् ।  


छोरा (अपर्ण थापा) अमेरिका पठाएर गाउँमा बुवाआमा एक्लै हुन्छन् । उनीहरुलाई हेर्ने कोही हुँदैन । एकदिन अचानक बुबा भ¥याङबाट लड्छन् र बेहोस हुन्छन् । एक्लै आमाले उठाएर उपचारका लागि काठमाडौं ल्याउँछिन् । यहीबाट शुरु हुन्छ ‘आमा’ को कथा ।


बुवालाई एम्बुलेन्समा राखेर अस्पताल ल्याएपछि छोरी आरती (सुरक्षा पन्त) पनि अस्पतालमा पुग्छिन् । तर अस्पताल पुर्याए पनि त्यहाँको उपकरणको अभावले उनीहरु भौतारिँदै अर्को अस्पताल खोज्न हिड्छन् ।  बिभिन्न किसिमका आन्दोलन र बिरामीले कतिबेला उपचार पाउने हो या अस्पताल पुग्ने हो कि होइन यी सबै कुराहरु चलचित्रमा देखाइका छन । जब बिरामी लिएर निजी अस्पताल पुग्छन् त्यसपछि उनीहरुले भोग्ने पिडा नै चलचित्रको मुख्य कथा हो । 


छोरी आरती (सुरक्षा पन्त) र ज्वाईं (मनिष निरौला) बुवाको उपचारमा सहयोग गरिरहेका हुन्छन् । पैसा देखि लिएर हरेक कुराहरुमा उनीहरुको सहयोग रहन्छ । उपचारको क्रममा पैसा सकिदै जान्छ तर निको हुने छाटकाट देखिँदैन । उता छोरो (अपर्ण थापा) अमेरिकाबाट आउन पाउँदैन र छोरी आरतीले आफनो श्रीमानको साथ र सहयोगले बिरामी बुवा र आमाको जसोतसो हेरचाह गरिहरेकी हुन्छिन् । आरतीको दाई अवैध बाटोबाट अमेरिका पुगेका हुन्छन, जो कमाउन भन्दा आफनो कागजपत्र बनाउनेमा मै तल्लीन छन् । 


निजी अस्पतालहरूमा कसरी लुटतन्त्र फैलिरहेको छ भन्ने कुरा निर्देशकले चलचित्र ‘आमा’ मार्फत देखाउन खोजेका छन् । मध्यमवर्गीय परिवारको सघर्षलाई चलचित्रमा देखाइएको छ । अस्पतालले उपचारको बहानामा कसरी बिरामीलाई ठगीरहेको छ भन्ने कुरा निर्देशक खनालले फरक ढंगबाट देखाउने कोशिस गरेका छन् । 


चलचित्र एक्ली ‘आमा’ मा मात्र सिमित छैन । अस्पतालभित्रको लुटतन्त्र, डाक्टरहरु भित्र लुकेको ठगी अपराध, धर्मको प्रचारप्रसार,मान्छेहरुको व्यवहार, श्रीमती माथि हुने दुव्यर्वहार जस्ता कुराहरु चलचित्रमा छन् । 


चलचित्रमा अभिनेत्री मिथिला शर्माले गरेको आमाको भुमिका बेजोड छ । उनले आमा र श्रीमती दुबैको भुमिकालाई न्याय गरेकी छिन् । मुख्य भुमिकामा देखिएकी अभिनेत्री शर्माले शुरुवात देखि नै दर्शकलाई बाधेर राख्ने काम गरेकी छिन् । 


यस्तै नायिका सुरक्षा पन्तको अभिनयको जति तारिफ गरेपनि कम हुन्छ । चलचित्रको शुरुवात देखि नै उनको रिसाउने भाव देखिन्छ । डाक्टरसँगको कुरा गराई, आफनो सासु–आमासँगको बोलीमा उनले बोलेको संवादमा केही रिसाउने भाव देखिन्छ । अन्तमा आफनो बुवा आमा दुबैको मृत्यु पछि क्रिया बस्ने आँट देखाएकी नायिका सुरक्षाले आफनो कपाल खौरिएर समाजलाई महिला पनि कुनै कुरामा कम छैनन भन्ने कुरा देखाएकी छिन् । उनको यो साहसीक आँट जोकोहीले गर्न सक्दैन । यस्तै रंगकर्मी मनिष निरौला सरिता गिरी, अशान्त शर्मा अस्मिता खनाल लगाएतका अन्य कलाकाहरुको अभिनय प्रशंसायोग्य छ । 


पशुपतिप्रसाद’ ‘धनपति’ र ‘चङ्गा चेट’ बाट चर्चा बटुलिसकेका दीपेन्द्रलाई यस चलचित्रले अझै झन धेरै माथी उकासेको छ । ‘आमा’ समसामयिक मौलिक कथा बोकेको चलचित्र हो जसले समाजमा लुकेका केही अध्यारो पाटोहरुलाई खोतल्न खोजेको छ ।


समग्रमा भन्दा चलचित्र राम्रो बनेको छ । एउटा आमाले गरेको त्याग नै चलचित्रको मुख्य बिषय हो । चलचित्रको बलियो पक्ष भनेको कथा, पटकथा नै हो । कथा, लेखन, निर्देशन र क्यामरामा निर्देशक खनाल पक्कै धन्यवादका हकदार छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार