• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

‘प्रेमिकालाई गुमाउनुपर्दा थाहै नपाई आँसु झरेछ’

आँसु के हो ?
आँसु–मानवीय संवेदना,करुणा, भावावेग र उकुसमुकुसको  भौतिक तरल अभिव्यक्ति हो ।


पहिलो पटक आँसु आएको बेला ?
पहिलो पटक आँसु कहिले आयो ठ्याक्क भन्न सकिनँ । पक्कै अबोध शिशु अवस्थामा रोइयो होला , आँसु झारियो होला । म जान्ने–बुझ्ने भएपछि म दश वर्षको छँदा बुबा बित्नु हुँदा र बुवा बितेको पाँचा महिना पछि कान्छो भाई बित्दा रोएको, आँसु थाम्न नसकेको सम्झिरहन्छु अहिले पनि ।


आँसु आउँदा कस्तो महशुस हुन्छ ?
आँसुले पीडालाई बगाउँछ । मनभित्र जमेका विकार, जलन र उत्कण्ठालाई निशेष पार्छ । आँसु बगिसकेपछि मन हलुका र उदात्त बनेको महसूस हुन्छ ।


के कुराले तपाईलाई झर्झर आँसु आउँछ ?
कवि भएकाले होला म भावुक स्वभावको छु । अरुको दुख, वेदनाले मलाई छोइहाल्छ । नाटक , सिनेमाका कारुणिक दृश्य र कथा–उपन्यासका दारुण प्रसंगहरू पढ्दा आँसु बगेको पछि मात्र चाल पाउँछु ।


सबैभन्दा ज्यादा आँसु आएको समय ?
मेरो कान्छो भाइ हरि बित्दा म एकदुई दिन होइन महिनौं उसलाई सम्झेर विह्वल बनेको छु , रोएको छु । मेरो भाइ आठ वर्षको कलिलै उमेरमा एपिन्डसाइटिसको अप्रेसन बिग्रँदा बितेको थियो । ऊ ज्यादै सुन्दर थियो, मायालु स्वभावको थियो , मसित अति झ्याम्मिन्थ्यो । अहिले पनि उसको कलिलो , अबोध अनुहार सम्झँदा र उसले आफ्नो पूरा उमेर बाँच्न नपाएको कुरोले मन विचलित बन्छ र आँसु झर्न थाल्छ ।


आँसु किन आउँछ ?
मनभित्र गुम्सेका भावावेगलाई निकास दिन आँसु आउने गर्छ । वास्तवमा आँसुले मानव–मनको उपचार गरी उदात्तता प्रदान गर्दछ ।


आँसु आएको बेला कसले तपाईलाई ढाढस दिन्छ ?
अब अहिले उमेरदार भइयो । साठी नाघिसकियो । तर जुन उमेरमा आँसु पुछिदिने कोही हुनुपर्थ्यो त्यतिबेला छेउमा आँसु पुछेर ढाढस दिने मेरा लागि कोही थिएन; आज सम्झँदा अचम्भ लागेको छ आफैलाई ।


आँसु र खुशीमा के फरक छ ? 
आँसु खुशीमा पनि आउँछ, त्यतिबेला आँसु र खुशीमा अन्तर गर्न मुश्किल हुन्छ । तर आँसु घोर बिपद ,वेदना र दुखमा पनि त झर्दछ । त्यसैले आँसुको आन्तरिक कारण र स्रोत थाहा भएपछि मात्र आँसु र खुशी वा आँसु र दुखलाई अर्थ्याउन सकिन्छ होला ।


कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
खुशी वा दुखले पूर्ण रूपमा निकास नपाउनुजेलसम्म आँसु कहाँ थामिन्छ र ?


माया–प्रेम मा कतिपटक आँसु आयो ?
प्रेमिकालाई गुमाउनुपर्दा एक पटक थाहै नपाई आँसु झरेको सम्झन्छु । तर मायालु पत्नीको दुखसुखमा सहभागी बनिरहँदा र सन्तानलाई पीडा हुँदा तिनका दुखलाई आत्मसात गरी धेरै पटक आँसु झरेका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार