• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
प्रविधी

विमानस्थलमा रोबोटमार्फत् यात्रीलाई सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट रोबोटमार्फत् यात्रीलाई सेवा दिन थालिएको छ । पर्यटन भ्रमण वर्ष २०२० को उपलक्ष्यमा रोबोटमार्फत् पर्यटकलाई सेवा दिने उद्देश्यका साथ सुरु गरिएको यो सेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् ।

 

भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ ।

 

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रयासमा विमानस्थलमा रोबोट सेवा शुरु गरिएको हो । दुवै रोबोटको लागत करिब रु २० लाख रहेको बताइएको छ । 

 

विमानस्थलको आगमन र प्रस्थान कक्षमा सो रोबोट राखिएको छ । पर्यटनमन्त्री भट्टराईले विमानस्थलको सेवालाई आधुनिक र विश्वस्तरीय बनाउन क्रमशः सेवा विस्तारका क्रममा रोबोट सेवा एक महत्वपूर्ण प्रयोग भएको उल्लेख गरे।

 

विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवासुविधालाई बढाउँदै लैजाने मन्त्री भट्टराईको भनाइ थियो । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिसा प्रक्रियालगायतका विषयमा जानकारी गराउनेछन् । प्रतिरोबोटका लागि २० लाख रुपैयाँ लागत परेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार