• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

तुलाको नेतृत्वमा शिक्षा पत्रकार समूह

काठमाडौं ।  शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको नेतृत्वमा आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन् । 


विगत २२ बर्ष देखि पत्रकारिता गर्दै आएका अधिकारी पछिल्लो समय नेपालगञ्ज स्थित कृष्णसार एफएममा कार्यकारी प्रमुख तथा समाचार निर्देशक छन् । उपाध्यक्ष मल्ल बुटवल टुडे दैनिकका सम्पादक हुन् भने नेपाल, नेपाल साप्ताहिकमा कार्यरत छन् । यसैगरी सचिव तण्डुकार शिक्षालय मासिकका सम्पादक र कोषाध्यक्ष थापा आर्थिक अभियानमा कार्यरत छन् ।

 

नेटिजन नेपाल डटकमका सम्पादक ओमप्रकाश घिमिरे, कारोवार दैनिकमा कार्यरत गोपाल संग्रौला, इमेज टेलिभिजनमा कार्यरत प्रज्ञा तिमल्सिना,  एजुकेशन पाटीका रोशन क्षेत्री गाउँले, रेडियो नेपालकी यशोदा अधिकारी, प्राइम टेलिभिजनका जनक पण्डित, नुवागी मासिककी सविना बानिया र उज्यालो रेडियो नेटवर्कका विष्णु विवेक सदस्य निर्वाचित भएका छन् । 


नेपाल पत्रकार महासंघ र तत्कालिन शिक्षा विभागले संयुक्त रुपमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०६१ बाट पुरस्कृत अधिकारी पत्रकारितामा स्नातकोत्तर हुन् । २०५८ सालदेखि शिक्षा पत्रकार समूहले निर्माण गरेको शिक्षाको नालीवेली नामक रेडियो कार्यक्रममा साढे ३ बर्ष वरिष्ठ कार्यक्रम उत्पादकका रुपमा कार्य गरेका अधिकारी समूहको नवनिर्वाचित कार्यसमितिका सबै भन्दा पुराना सदस्य समेत हुन् । 


निर्वाचित भएसँगै अध्यक्ष अधिकारीले बदलिदोँ समय अनुसार शिक्षा पत्रकारिताका प्राथमिकता बदल्न जरुरी रहेको तर्फ आफ्नो कार्यसमिति केन्द्रित हुने बताए । निकट भविष्यमा शिक्षाका सरोकारवालाहरु सहित बसेर बृहत छलफल गरी प्राथमिकता निर्धारण गर्ने योजना बनाएको उनले बताए ।

 

नयाँ संविधानमा शिक्षालाई मौलिक हक अन्र्तगत गरिएको व्यवस्था कार्यान्वयन र विद्यालय तह सम्मका शिक्षाको अधिकार स्थानीय सरकार मातहत भएको सन्दर्भमा पत्रकारिताका माध्यमबाट गर्नुपर्ने पैरवीलाई त्यस तर्फ केन्द्रित गर्न नयां कार्यसमिति कृयाशिल हुने अधिकारीको भनाई छ ।


अन्य पदमा सर्व सम्मत भए पनि अध्यक्षमा मदतान भएको थियो । निवर्तमान कार्यसमितिका उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्ष भएका हुन् । समूहमा ४१ सदस्य भए पनि मतदानमा २९ भोट मात्रै खसेको थियो । जसमध्ये अधिकारीले २३ र पण्डितले ६ मत प्राप्त गरेका हुन् । समूहको अधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा कृयाशील विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार