• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

गुजरात । पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्।

 

अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो।

 

यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो। श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो। पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजले यस्तो गरेको हो ।

 

कलेजको नियम अनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ । खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ । आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ ।

 

हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएको दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ ।

 

एक छात्राले बताए अनुसार छात्रावासले एउटा रजिस्टर राखेको छ र महिनावारी हुँदा छात्राहरूले त्यसमा नाम लेखाउनुपर्ने हुन्छ। त्यसो गर्दा महिनावारी भएका छात्रालाई पहिचान गर्न छात्रावासलाई सहज हुन्छ। तर विगत दुई महिनादेखि कुनै पनि छात्राले नाम लेखाएका छैनन् । शायद नाम लेखाएपछि महिनावारीसम्बन्धी कलेजका नियमलाई मान्नुपर्ने उनीहरूले ठानेको हुन सक्छ।

 

अतः अघिल्लो सोमवार छात्रावासका कर्मचारीले महिनावारी भएका विद्यार्थीहरू भान्सामा छिर्ने गरेको, मन्दिरनजिक जाने गरेको र अरू बासिन्दासँग घुलमिल भइरहेको भन्दै प्रिन्सिपलसमक्ष गुनासो गरे।

 

छात्राहरूका अनुसार त्यसको भोलिपल्ट आफूहरूलाई भित्रीवस्त्र फुकाल्न लगाउनुअघि छात्रावासका कर्मचारी र प्रिन्सिपलले दुर्व्यवहार गरे। एउटा 'एकदमै पीडादायी अनुभव' भन्दै त्यसबाट आफूहरूलाई 'आघात' पुगेको र त्यो 'मानसिक यातना सरह' भएको छात्राहरूले बताएका छन्।

 

एक छात्राका बुवाका अनुसार उनी कलेजमा पुग्दा उनकी छोरी र अन्य कैयौँ छात्राहरू नजिक आएर रुन थाले। 'उनीहरू स्तब्ध छन्,' उनले भने। आफूहरूलाई  'अपमानित' गरेका कलेजका अधिकारीहरूमाथि कारबाहीको माग गर्दै बिहीवार छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गर्यो।

 

कलेजका सञ्चालक प्रवीण पिन्डोरियाले घटनालाई 'दुर्भाग्यपूर्ण' भनेका छन्। त्यसबारे अनुसन्धान गर्न आदेश दिइसकेको भन्दै दोषी जोसुकैमाथि कारबाही गरिने उनले बताए। तर उक्त कलेजले सम्बन्ध पाएको विश्वविद्यालयकी उपकुलपति दर्शना ढोलकिया छात्रालाई दोषी देख्छिन्। छात्राहरूले कलेजका नियम उल्लङ्घन गरेको भन्दै केहीले माफी समेत मागिसकेको उनले बताइन्।

 

तर केही छात्राले बीबीसी गुजरातीलाई बताए अनुसार घटनालाई महत्त्व नदिन र आफ्नो भोगाइबारे नबोल्न कलेजका अधिकारीहरूको उनीहरूमाथि दबाव थियो। शुक्रवार गुजरातको महिला आयोगले त्यो 'लज्जास्पद अभ्यास' बारे छानबिन गर्न निर्देशन दियो र कुनै डरविना आफ्ना कुरा राख्न छात्राहरूलाई आग्रह गर्‍यो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार