• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

जिन्समा तन्नेरी

फ्रेसन्युज संवाददाता, काठमाडौं । सेतो टिर्सट र निलो जिन्समा बन्दना शर्मा निकै खुलेकी  थिइन । कपाल फिँजाएर कालो चश्मा उनलाई निकै सुहाएको थियो ।

 

राजधानीको केन्द्रमा अवस्थित बिशालबजारमा सपिङ गर्न छिरेकी बन्दनालाई पछिल्लो मोडलको जिन्स छान्नु छ । ‘के छ जिन्समा त्यस्तो आकर्षण ?’ कपडा छान्न उनी एकछिन् थामिइन् । टिर्सटका लागी जिन्स चाहिहाल्यो नी,’ उनले जवाफ दिइन्, ‘जिन्सबिना सौन्र्दय कसरी खुल्छ ?’


जिन्सका यी प्रेमीलाई लेभी स्टार्सले सन् १८५४ मा क्यालिफोर्नियाको बजारमा पहिलो पटक जिन्स भित्रयाएको कथा सायदै थाहा होला । तर आफुजस्ता युवापुस्ताको रोजाइमा जिन्स नै रहेको उनले दाबी गरिन् । युवा मात्र होइन हरेक वर्ग र उमेरका व्यक्तिलाई जिन्सले आकर्षित गरेको छ । 


‘जिन्स भनेपछि तन्नेरीलाई ठानिन्थ्यो’, लामो समयदेखि व्यापार गर्दै आएका न्युरोडस्थित सि एण्ड जी कलेक्सनका गणेश ज्ञवालीले भने, ‘अहिले जिन्सले उमेरको हदबन्दी तोडेको छ ।’ बलियो टिकाउ र सरल मुल्यमा उपलव्ध हुने भएकाले पनि जिन्सको लोकप्रियता फैलिँदै गएको उनको ठम्याइ छ । 


सुन्धाराको टच कलेक्सनका उज्जवल रायमाझीले भने अलि भिन्न तरिकाले बुझेका छन् । उनका अनुसार लुगा किन्न आउनेमध्य केही एकदमै चुज पाइन्ट मन पराउँछन् भने कोहीलाई टाइट पाइन्ट मन पर्छ । आफनो पसलमा मध्य वर्गका मान्छेहरु कपडा किन्न आउने उनले जानकारी दिए । केटाकेटीहरुमा जिन्सको मोह हुनु साधारण हो तर रोजीरोजी कुन जिन्स लगाउने भन्ने जानकारी बटुलेको देख्दा उनी छक्क पर्छन । लिभरपुलको जिन्स रोज्ने बढी आउँछन्, उनले भने । 

 

 

पहिला कटराइजको पाइन्ट मात्र लगाउन रुचाउने सुरज मैनालीलाई पनि आजकल धेरै नै जिन्सले लोभ्याउन थालेको छ । आफनो प्रेमिकाको कारण जिन्सतर्फ मन लोभिएको उनले बताए । उपभोक्तामाझ लोकप्रिय बनेकै कारण सुपरमार्केटदेखि फुटपाथसम्म आजकल जिन्सको थुप्रो देखिन्छ । बजारमा पाइने बढी रेडिमेड कपडामध्ये जिन्सको हिस्सा ७५ देखि ८० प्रतिशत रहेको व्यवसायीहरु अनुमान गर्छन । 


कुनैबेला राजधानीमा ‘पङ्क स्टाइल’ मन पराउँथे युवा पुस्ता । शिक्षक नवराज शर्माको अनुभवमा ‘अहिले जिन्स अरुको ध्यान आफुतिर आकर्षित गर्ने माध्यम समेत बन्दै गइरहेको छ ।’ पुरानो बानेश्वरस्थित के आर फेन्सीका कृष्ण शाही भने जिन्सलाई सदाबहार फेसन मान्छन् । ‘जिन्स कल्चर एकदमै मौलाएको छ अहिले । समय र रुची अनुकुल नयाँ नयाँ डिजाइन उपलव्ध हुँदै जानु पनि यसको कारण हुनसक्छ, उनले अन्दाज गरे ।’ 


व्यवसायी पनि माहिर छन् । उनीहरु फेसनका सौखिन तन्नेरी पुस्ताको रुचीलाई ध्यानमा राखेर सस्तो र महंगो दुबैथरी जिन्स आयात गर्छन । ‘व्यापार गर्न बसेपछि बजार मनोबिज्ञान त बुझ्नै पर्यो,’ बानेश्वर कै व्यापारी नवराज तिमिल्सिनाले भने, ‘केही समययता निलो रंगको गाडा जिन्स बढी बिक्न थालेको छ ।’ युवतीहरु माझ भने सेतो तथा चुज जिन्स लोकप्रिय रहेको उनले बताए । 


काठमाडौंको चाइना र हङकङ बजार साथै इन्द्रचोकको सुरज आर्केट पनि जिन्सकै कारण चर्चित छन् । सुरज आर्फेटमा जिन्स छानिरहेका दिपेन्द्र रिमालले भने, ‘छानीछानी चाहेको मुल्यमा किन्न पाउने हुँदा यस्ता बजारले राहत दिएको छ ।’  
  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार