• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
शिक्षा

प्रधानमन्त्रीलाई डा. मञ्जु मिश्रको खुलापत्र (आमसञ्चार विश्वविद्यालय खोल्न माग)

 

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं 

 

विषय – आमसञ्चार विश्व विद्यालय नेपाल
(मानित विश्वविद्यालय)

 

महोदय,
देशको सर्वाङ्गीण विकासमा तथा आम जनतालाई सवल बनाउने महान कार्यमा गुणस्तरीय आमसञ्चार तथा पत्रकारिता क्षेत्रले कति महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने तथ्य विश्वका विकसित मुलुकहरुका इतिहासले पुष्टि गरिसकेको छ । यसै क्रममा नेपालको नयाँ राजनीतिक वातावरणले सबै क्षेत्रमा नयाँ, साहसिक र दीर्घकालीन महत्वका कामहरुका लागि ढोका खोलिदिएको छ र आमजनता त्यस्ता कामले मूर्त रुप लिएको देख्न लालायित छन् ।

 

आमसञ्चार र पत्रकारिताका क्षेत्रमा समयको माग अनुसार दक्ष जनशक्तिको खाँचोलाई दृष्टिगत गरी यसै विषयमा मात्र समर्पित रही २०५७ सालदेखि निजी क्षेत्रबाट कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन सफलतापूर्वक सञ्चालन भई रहेको श्रीमान्मा अवगत नै छ । एक एकल महिलाको परिश्रम र समर्पणबाट सफलतापूर्वक सञ्चालन हुँदै आएको आमसञ्चार र पत्रकारिता विषयका विभिन्न विधामा स्नातक र स्नातकोत्तर तहको अध्यापन गरिने यस कलेजबाट हालसम्म ५ सय जना विद्यार्थीहरु दीक्षित भईसकेका छन् ।

 

यसका अतिरिक्त नेपालका विद्यार्थीलाई विदेशमा गई आफ्नो आत्मविश्वास, अनुभव तथा ज्ञानको दायरा फराकिलो बनाउने अवसर प्रदान गर्न यस कलेजले विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयहरुमा समेत छात्रवृत्तिमा विद्यार्थिहरु, प्राध्यापक तथा कर्मचारीहरुलाई ७० जना भन्दा बढी अध्ययन गर्न र काममा पठाइसकेको छ ।


त्यसरी विदेशमा पढ्न गएका विद्यार्थीले यस कलेजले दिएको क्षमता र आत्मविश्वासका कारण विदेशमा स्वर्ण पदक समेत प्राप्त गर्न सफल भएका छन् । विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुसँग रहेको यस कलेजको अत्यन्त सौहार्द र घनिष्ठ द्विपक्षीय प्राज्ञिक सम्बन्धका आधारमा प्राप्त छात्रवृत्तिबाट १३ जना विद्यार्थी बंगलादेश र बिभिन्न अफ्रिकी मुलुकहरुमा काममा र सभा सेमिनारमा भाग लिन गई लाभान्वित भएका छन् । यसका साथै यस कलेजले प्राप्त गर्दै गएको ख्यातीका कारण हालसम्म ५ जनाले विद्यावारिधिका लागि शोध कार्य गरिरहेका छन् ।

 

यस कलेजले अफ्रिका महादेशसँग प्राज्ञिक सम्बन्ध विस्तार गरेकोबारे पनि श्रीमान्मा जानकारी गराउन पाउँदा हामी हर्षित छौं । यसै सम्बन्धको क्रममा आमसञ्चार र पत्रकारिता विषय अन्तर्गत पर्ने सिनेमा विधामा ठोस कार्य गरिँदै आएको छ । विगत सात वर्षदेखि प्रत्येक वर्ष काठमाडौंमा यस कलेजको सक्रियतामा आयोजना गर्ने गरिएको अफ्रिकी फिल्म फेस्टिभलले नेपाल र अफ्रिकी जनताबीच चिनारी र सम्बन्ध अघि बढाउन निकै योगदान दिइरहेको छ । नेपाल र अफ्रिकी मुलुकहरुबीच प्राज्ञिक एवम् जनस्तरमा कुनै ठोस सम्बन्धका गतिविधिहरुको प्रचलन नरहेको अवस्थामा यस कलेजको पहलमा हुने गरेको यस्ता प्रयासको ऐतिहासिक महत्व रहेको महसुस भएको छ ।

 

नेपालले आमसञ्चार क्षेत्रमा अपनाएको उदारवादको नीतिलाई उपयोग गर्दै यस कलेजले आमसञ्चार र पत्रकारिता शिक्षणको व्यवहारिक पक्षलाई अघि बढाउन नेपालमै पहिलो पटक CJMC FM समेत सञ्चालन गरेको छ । यसले नेपालमा शैक्षिक प्रयोजनले स्थापित पहिलो एफएम बन्ने सौभाग्य प्राप्त गरेको छ । आजभन्दा १९ वर्षअघि तत्कालीन सोभियत संघबाट आमसञ्चार र पत्रकारिता विषयमै विद्यावारिधि गरी स्वदेश फर्केपछि यसै क्षेत्रमा पूर्णतया समर्पित रही क्रियाशील रहँदै आएको कारणले यो प्रस्तावित विश्वविद्यालयको स्थापना, सञ्चालन र यसलाई अघि बढाउने मार्ग चित्रबारे म आफु र मेरा सहयोगी समूह स्पष्ट रहेको पनि श्रीमान्मा निवेदन गर्दछु ।

 

मौजुदा विश्वविद्यालयको सम्बन्धन अन्तर्गत रहेर मात्र कलेज सञ्चालन गर्दा समयको माग र आमसञ्चारको प्रकृतिअनुसार प्राज्ञिक गतिविधिहरुलाई लक्ष्यअनुरुप अघि बढाउन कठिनाई हुने गरेको हामीले अनुभव गरेका छौं । आमसञ्चार तथा पत्रकारिता क्षेत्रको बढदो व्यापकतालाई ध्यानमा राख्दा नेपालमा निजी क्षेत्रबाट एक अलग अस्थित्वको गैरनाफामुखी आमसञ्चार तथा पत्रकारिता सम्बन्धी विषयगत विश्वविद्यालय स्थापना हुनु अत्यावश्यक भईसकेकोले यस विश्वविद्यालयको प्रस्ताव शिक्षा मन्त्रालयमा २०६१ सालमैै प्रस्तुत गरिएको हो । उक्त प्रस्तावप्रति शिक्षा मन्त्रालयल लगायत विभिन्न सम्बन्धित निकायहरुको सकारात्मक धारणा रहँदा रहँदै पनि आजसम्म यस प्रस्तावले विभिन्न चरणमा हुने गरेका विलम्बका कारण मूर्त रुप लिन सकेको छैन ।

 

अततः राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो राम्रो छवि बनाइसकेको र आफ्नै स्वामित्वमा भौतिक पूर्वाधारको समेत व्यवस्थापन गरिसकेको यस कलेजलाई आफ्नो लक्ष्यमा अघि बढ्नका लागि विषयगत विशेषज्ञतायुक्त आमसञ्चार विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्रदान गरी दीर्घकालीन महत्वको ऐतिहासिक कार्यमा योगदान पु¥याई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

 

विगत डेढ दशकदेखि सफलतापूर्व सञ्चालन भई रहेको आमसञ्चार तथा पत्रकारिता विषयको देशको पहिलो कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनकै प्राज्ञिक तथा भौतिक पूर्वाधारमा खडा हुने यस प्रस्तावित विश्वविद्यालयलाई स्वीकृति दिलाउने बारे आवश्यक प्रक्रिया अविलम्ब अघि बढाई विगत १४ वर्ष देखि एउटी समर्पित एकल महिलाले गरिरहेको अनवरत प्रयासलाई सफलिभूत बनाई देशमा गर्व गर्न लायक एक नमुना कामलाई साकार रुप दिलाउन सकारात्मक भूमिका खेलिदिनु हुन विनम्र निवेदन गर्दछु ।

 

मेरो प्रतिबद्धता


१, सन् २०२० को कलेजलाई दिइने नर्वेजियन नोराड् प्रोजेक्ट विश्वविद्यालयलाई दिने।
२, कम्युनिकेसन यूनिभर्सिटी अफ चाइनालगायत अन्य यूनिभर्सिटीहरुसितको सहकार्य विश्वविद्यालयमा ल्याइने।
३, त्यस्तै विश्वविद्यालयको नाममा बनाइएको सम्पूर्ण कागजपत्र र लोगो विश्वविद्यालयलाई हस्तन्तरण गरिने।
४, विश्वविद्यालयलाई व्यवस्थित गरेर अगाडि बढाई साउथ एसियमा नमूना आमसञ्चार विश्वविद्यालयको रुपमा स्थापित गराउने।
५, पाँच वर्षपछि पूर्ण रुपमा सबै जिम्मेवारीबाट विश्राम लिने।

 

मेरो माग


१, सञ्चार विश्वविद्यालयको केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका ११ कपन पैंयुटार कलेज अफ जर्नालिजमको आफ्नै नवनिर्मित भवनमा रहनुपर्नेछ।
२, सञ्चार विश्वविद्यालयको निमित्त विगत २० वर्षदेखि मैले अनवरत रुपमा प्रयास गरेको विभिन्न उकाली ओराली र अवरोधको सामना गर्दै आइपुगेको कारण।
३, म एकल महिलाले गरेको २० वर्ष लामो संघर्षलाई अग्रगामी सरकारले उचित मुल्याकंन गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ।

 

निवेदक
डां मञ्जु मिश्र
संस्थापक प्रिन्सिपल
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार