• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

'हामी सुरक्षित छौं'

भक्तपुर । चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन् । नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तरराष्ट्रिय मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै  नेपाल सरकारप्रति आभार प्रकट गरे।

 

उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक परिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नियमित निगरानीमा राखेको पनि जनाए। यस्तै, त्यहाँं रहेका  सबैलाई सुरक्षाको दृष्टिले अपनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए।

 

आफूहरुभित्र रमाइलोसँंग बसिरहेको उनीहरुले बताए। कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बिताउन पनि सहज भएको उनीहरुले बताए। क्यारेमलगायतका खेल खेली आफूहरु रमाइलोसँंग बसिरहेको भन्दै उनीहरुले चिन्ता नगर्न सबैसँंग आग्रह समेत गरे।

 

निरन्तरको चर्को विरोधका बावजुद पनि क्वारेन्टाइन राखेपछि स्थानीय त्रसित छन्। बरिपरिका सबै पसलहरु बन्द छन्। नगरकोट पुग्ने यो सडक खण्डमा पर्ने क्वारेन्टाइन क्षेत्रका आसपासका सबै पसलहरु आइतबार साँंझसम्म पनि बन्द नै थिए। त्यहाँं आसपास एक दर्जन पसलहरु थिए। क्वारेन्टाइन बनाइएको खरिपाटी क्षेत्र भक्तपुरको कमलविनायकबाट नगरकोट पुग्ने सडक खण्डमा पर्छ। यो ठाउँं भक्तपुरको कमलविनायकबाट करिब दुई किलोमिटरमाथि नगरकोट जाने बाटोमा रहेको छ।

 

स्थानीयका अनुसार त्रासले आधा दर्जन भन्दा बढी परिवारहरु घर छोडेर अन्यत्र बस्न गएका छन्। स्थानीय लक्ष्मण लामिछानेले आफूहरुसहित आधा दर्जनको संख्याका परिवारहरु अन्यत्र सरेको बताए। गाइवस्तु रहेका स्थानीय भने चाहेर पनि बसाई सर्न नसकेको बताएका छन्।

 

सञ्चारकर्मीका जानकारी दिनका लागि सूचना डेक्स राख्ने भने पनि सूचना केन्द्रको व्यवस्था छैन। ‘बिहानदेखि पत्रकारको हुल आइरहेर दिनभरि सोध्ने क्रमले हामी हैरान छौं, क्वारेन्टाइन प्रवेश गर्ने गेटमा रहेका एकजना सुरक्षाकर्मीले भने, फेरि हामीलाई भित्रको कुरा पनि पूर्ण रुपमा थाहा छैन।’ आधिकारिक जानकारीको अभावमा पत्रकारहरु अलपत्र देखिएका थिए।

 

क्वारेन्टाइन प्रवेश गर्ने गेटबाहिर एउटा हेल्थ डेस्क भने राखिएको छ। सरकारले नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थासँंग संयुक्त रुपमा डेस्क राखिएको उल्लेख छ। त्यहाँं केही स्वयमसेवकले नोभेल कोरोना भाइसर सर्वसाधारणका लागि जनचेतनामूलक सन्देश लेखिएको पर्चा वितरणका लागि राखिएका छन्। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार