• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

मछिन्द्र लिग च्याम्पियन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले  लिगमा  उपाधि जितेको हो ।

 

उपाधिका लागि आर्मीले मछिन्द्र क्लबसँग बराबरी खेलेको भएपनि पुग्ने थियो । तर आफ्नै खेलाडीको आत्मघाती गोल उसका लागि महंगो सावित भयो । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिणत भएको थियो ।

 

उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो । 

 

खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए ।  यस्तै २० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाएका थिए । 

 

खेलको ३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै आत्मघाती गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

 

जितसँगै मछिन्द्रले १३ खेलबाट १० खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको थियो । मछिन्द्रले ३१ अंक बनाएर लिग जितेको हो। उपविजेता आर्मीले भने १३ खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र २ खेलमा हारेको थियो । आर्मी २९ अंक बनाएर उपविजेता बनेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार