• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

‘शैली संवाद’ : चार शीर्षक, चार सहजकर्ता, १६ वक्ता

काठमाडौं । शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘११औं रास्ट्रिय बाल नाटक महोत्सव’को तेस्रो दिन शुक्रबार ‘शैली संवाद’ स्वरुप चार भिन्न भिन्न शीर्षकमा छलफल गरिएको थियो । रातोपुलस्थित शैली थिएटरमा भएको छलफल बालबालिका र नाटकमा केन्द्रित थियो । 


‘बाल्यकाल सम्झिँदा र नाटक’, ‘नाटक र बालअधिकार’, ‘बालनाटक महोत्सव – अनुभव र अवसर’ ,‘नाटकमा बालबालिका’ विषयमा १६ जना वक्ताले बोलेका थिए भने चारजनाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए  । 


‘बाल्यकाल सम्झिँदा र नाटक’ बिषयमा पत्रकार दिप्सन लुइँटेलले रंगकर्मी देशभक्त खनाल, देवेन्द्र बब्लु, स्नेहा पौडेल, र सरस्वती अधिकारीलाई आ–आफ्नो बाल्यकाल र नाटकको यात्रा सम्झिँन लगाए । देशभक्त खनालले खाटलाई स्टेज बनाएर अनि आवश्यक अनुसार घर आदि बनाएर नाटक मञ्चन गरेको अनुभव सुनाए । उनले विगत सम्झिए, ‘पर्दा अगाडि खाटमा सेट बनाउँथ्यौं अनि नाटक गर्थ्यौं ।  लाइट अहिलेको जस्तो कहाँ हुन्थ्यो र त्यही ५ सय र हजार वाटको चिम मात्र हुन्थे । नाटक वा चलचित्रको पहुच भन्दा धेरै पर रहेको हँुदा नाटक गर्छु भन्ने सपना बाल्यकालमा नबोकेको देवेन्द्रले बताए । रंगकर्मी सरस्वती अधिकारीले बच्चा उमेरमा नाटक गरियो तर व्यवसायिक रुपमा काम  गरेको धेरै नभएको बताएकी थिइन । नाटकले कलाकार स्वयंलार्ई चिन्न मद्दत गर्ने उनको भनाई थियो । यस्तै स्नेहा पौडेलले सानोमा कलाकार बन्ने उद्देश्य नभएको स्पष्ट पारिन् । पौडेलले भनिन्, हरेक दिन मेरो सपना फेरिन्थे । अहिले आएर नाटक वा अभिनयमा नै मेरो उदेश्य बनेको छ । 


‘नाटक र बालअधिकार’ सेसन नाटक गर्नु बालबालिकाको अधिकार कसरी हो र नाटक मार्फत कसरी बालबालिकाको अधिकारबारे सचेत गर्न सकिन्छ भन्नेमा कुरामा केन्द्रित थियो । यो शिर्षकमा बक्ताको रुपमा बालअधिकारकर्मी कबिता राज्य शाह, कलाकार सुबाश सुबेदी, अशोक शिवाकोटी र शिक्षक कुमार अधिकारी थिए भने सहजीकरण पत्रकार क्रान्ति पाण्डेले गरेका थिए । अधिकारकर्मी कविता राज्य शाहले नाटक मार्फत बालबालिकाको अभिव्यक्तिको स्वतन्त्रताको भूमिका खेलिरहेको र यसले उनीहरूको शारीरिक र विशेष गरी मानसिक विकासमा ठूलो टेवा पुगेको कुरामा जोड दिएकी थिइन । त्यस्तै अशोक शिवाकोटी कलाकार र अधिकारकर्मी दुवै हिसाबले भाइबैनीसंग नजिक रहेर काम गरेको अनुभव सुनाए । कुमार अधिकारीले आफु अभिभावक एवं  शिक्षक  भएको हँुदा बालअधिकारमा सचेत भएको अनुभव सुनाउँदै अधिकार मात्र होइन बिधार्थीलाई कर्तब्य पनि सिकाउनु पर्ने धारणा राखेका थिए । त्यस्तै सुबाश सुबेदीले, हामीले कचहरी वा सडक नाटक मार्फत बिभिन्न समयमा बालबालिकाको  बिषयबस्तुमा रहेर यौन दुर्ब्यबहार, बुलिंग, बाल अधिकार बारे नाटक देखाएका छौ । त्यसले यसले दीर्घकालीन रुपमा बालबालिकालाइ सचेत गराउने काम गरेको उनको भनाई थियो । 

 

‘बालनाटक महोत्सव – अनुभव र अवसर’ शिर्षकमा रंगकर्मीले बाल नाटक महोत्सव कसरी एउटा राम्रो अनुभव र प्रगतिको अवसर भयो भन्ने आ–आफ्ना अनुभव सुनाएका थिए । रंगकर्मी नवराज बुढाथोकी, केदार श्रेष्ठ, सशांक बोहरा, र काब्य बरालसँग सहजकर्ताको काम लेखक कला अनुरागीले गरेका थिए । दश एघारवर्ष अघि सुरुवात गरेको बाल नाटक महोत्सवले नाटकको दर्शक बढाएको साथै रंगकर्मी जन्माएको रंगकर्मी नवराज बुढाथोकीले बताए ।  उनले भने, पहिलो वा दोस्रो बाल नाटक महोत्सवमा भाग लिएका भाईबहिनीहरु अहिले व्यवसायिक कलाकार भईसकेका छन । कति निर्देशन पनि गरिरहेका छन । यो देख्दा महोत्सव राम्रो अवसर भएको जस्तो लाग्छ । यस्तै सशांक बोहराले त्यो समय र अहिलेको समय बिचको यात्रालाई वर्णन गरे । बाल कलाकार काब्य बरालले, आफु शिल्पी थिएटरमा हुर्केको बताए  । रंगकर्मी केदार श्रेष्ठले आफुलाई बिकसित गर्ने काम महोत्सवले गरेको रहेछ भन्ने बिश्वास व्यक्त गरे ।  उनले भने, बाल नाटक महोत्सवले नै मलाइ कलाकार, संयोजक एवं निर्देशक  बन्ने अवसर दिएको हो ।  


‘नाटकमा बालबालिका’ शिर्षकमा रङ्गकर्मी  सरस्वती चौधरीको सहजीकरणमा वक्ताहरु रङ्गकर्मी लुनिभा तुलाधर, पशुपति राई, बिजय विस्फोट र लेखक तथा प्राध्यापक अशोक थापाले आआफ्ना बिचार राखेका थिए । शैली थिएटरले संचालन गरेको बाल नाटक महोत्सवले बालबालिकालाई नाटकघरसम्म ल्याउने वातावरण सृजना गरेको रंगकर्मी बिजय बिष्फोटले बताए । उनले बालनाटक महोत्सवले नाटक सिक्ने र सिकाउने प्रवृत्ति को बिकास भएको र यसले बालबिकास र उनीहरुको आत्मबल बढने जनाएका थिए  । यस्तै पशुपति राई आफुले पनि केही स्कुलहरुमा भाईबहिनीलाई नाटक सिकाउने र उनीहरुको नाटक प्रतिको चासो देख्दा एकदमै खुसी लाग्ने बताइन । उनले भनिन्, विद्यायल संचालकहरु नाटक शिक्षक राख्नुको उदेश्य अभिभावक तान्ने यन्त्रको रूपमा प्रयोग गरेको देख्छु, । उनीहरु नाटक चमकधमक भएको हेर्न चाहन्छन्, उनको भनाई थियो । यस्तै लुनिभा तुलाधरले बालबालिकालाई ठाउँ दिने नाउँमा उनीहरु  प्रयोग भईरहेको तर्क गरेकी थिइन । उनले बच्चाले बुझ्दै नबुझ्ने बिषयमा समेत उनीहरुलाई अभिनय गराईन्छ ।  नाटक भित्र बालबालिकाले सुन्ने कुरा छ कि छैन, उनीहरुले हेर्न मिल्ने दृश्य छ कि छैन यस्ता बिषयमा एकदमै कम ध्यान दिईन्छ । उनले बालबालिकाको नाटक गर्दा गम्भीर हुनुपर्ने बिचार ब्यक्त गरेकी थिइन । लेखक तथा प्राध्यापक अशोक थापाले नाटकले बालबालिकालाई खुल्न मद्दत गर्छ र जीवन उपयोगी पाठ पढाउने बताएका थिए । उनले नाटकले राम्रो नराम्रो छुट्याउन सक्ने बनाउने धारणा राखेका थिए । नाटकको माध्यमबाट छिटो र सजिलै भन्न खोजेको कुरा बुझाउन सकिन्छ, उनले भने । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार