• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
प्रवास

पत्रकार डम्बरकृष्णको पुस्तकमा 'वैदेशिक रोजगारीका बाध्यता र रहरका कथा'

काठमाडौं । पत्रकार डम्बरकृष्ण श्रेष्ठ  को पुस्तक ‘नेपाली प्रवासन नियति र रहर’ सार्वजनिक भएको छ । ललितपुरस्थित यलमाया केन्द्रमा लेखक श्रेष्ठसँगै पोलिसी रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.गणेश गुरुङ, प्रवासन विज्ञ सरु जोशी श्रेष्ठ, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र हिमाल खबरपत्रिका सम्पादक किरण नेपालले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए । 

 

पुस्तकमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुख, दुखका कथा समेटिएको छ ।  वि.स २०५६ देखि २०७२ सालसम्म हिमाल खबरपत्रिकामा रिपोर्टिङ गर्ने क्रममा लेखिएका खोजमुलक र विशेष महत्वका ४१ वटा सामग्री पुस्तकमा छ भने  वैदेशिक रोजगारीमा हुने पीडा, यसले दिने खुसी, यो क्षेत्रको बेथीति यसमा पढ्न पाइन्छ ।

 

वि.सं. २०५२ देखि धरानको साप्ताहिक पत्रिका सयपत्रीबाट पत्रकारिताको यात्रा सुरु गरेका श्रेष्ठले २०५६ सालदेखि हिमाल खबरपत्रिकामा काम गर्न सुरु गरेका थिए ।  त्यहिबाट रिपोर्टिङको क्रममा उनले वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउन थालेका थिए । 

 

 

विमोचन कार्यक्रममा बोल्द हिमाल खबर पत्रिकाका तत्कालीन सम्पादक तथा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहालले पुस्तकमा डम्बरको लगनशिलताको रहेको जनाएका थिए। दाहालले पुस्तकमा नेपालीको सपना र बाध्यता,  कष्ट, उपलब्धि जस्ता कुराहरु पढ्न पाईने बताए ।

 

त्यस्त अर्का पत्रकार किरण नेपालले पुस्तक अध्यताका लागि सन्दर्भ सामग्रीको रुपमा काम लाग्ने बताए । उनले भने, पुस्तकले वैदेशिक रोजगारप्रतिको नकारात्मक सोच बदल्न धेरै मद्दत गर्छ । 

 

कार्यक्रममा बोल्दै पोलिसी रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.गणेश गुरुङले वैदेशिक रोजगारीमा दुःख र पीडा मात्र नभएर खुसी र सन्तुष्टी पनि मिल्छ भन्ने कुरा पुस्तकले दर्शाउन खोजेको जनाए । उनले पुस्तक सामान्य पाठकका लागी मात्र नभएर अनुसन्धाताका  लागि समेत पठनीय सामग्रीका रुपमा रहेको बताए ।

 

अर्का वक्ता तथा प्रवासन विज्ञ सरु जोशी श्रेष्ठले वैदेशिक रोजगारमा जाने महिलाहरूलाई गलत नजरले हेर्ने गरिएकोमा पुस्तकले उनीहरुले गरेका संघर्ष र सफलताका कुरा पनि समेटेको बताईन् ।

 

कार्यक्रममा पुस्तकका पत्रकार तथा लेखक श्रेष्ठले  वैदेशिक रोजगार बारे बुझ्नका लागि बजारमा पुस्तकहरुको कमी देखेपछि आफुले पहिला लेखे विषयलाई पुस्तकको रुप दिएको बताए । १६/१७ वर्षको उमेरदेखि नै पत्रकारिता गर्न थालेको र यो पुस्तक २० वर्षे पत्रकारिताको परिणाम भएको पत्रकार तथा लेखक श्रेष्ठको भनाई थियो । 

 

पुस्तक हिमाल किताब सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी सोसल साइन्स बहाका लागि हिमाल किताब प्रालिले प्रकाशित गरेको हो । पुस्तकको मूल्य ३ सय ९० तोकिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार