• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

भ्यालेन्टाइन डे मा ‘रातो टालो’

काठमाडौं । ५० वर्ष अघिको अन्तरजातीय प्रेमकथा कस्तो थियो होला ? यो कौतुहलको विषय हो । कर्णाली प्रदेशको हुम्लामा तत्कालिन अवस्थामा फष्टाएको उसबेलाको अन्तरजातीय पौराणिक प्रेमकथालाई त्यहाँ केही युवाले भिडियोमा उतारेका छन् । 

 

‘रातो टालो’ नाम दिइएको यो भिडियो आगामी फागुन २ गते अर्थात फेब्रुअरी १४ मा भ्यालेन्टाइनका दिन काठमाडौंमा प्रिमियर हुँदैछ । भिडियो निर्माण समूहले सार्वजनिक हुन लागेको भिडियोको पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा युबिना भट्टराई र सूर्यबहादुर शाही फिचर्ड छन् ।

 

भिडियोका निर्देशक डाइमण्ड उप्रेतीले प्राकृतिक सुुन्दरताले भरिपूर्ण नेपाली खस भाषा तथा लिपीको उद्गमस्थल कर्णालीको कला, संस्कृति, चालचलन, भेषभुषा, रहनसहनलाई भिडियोमा समेटिएको बताए । 

 

‘हुम्लाको खस भाषामा आधारित रहेर आजभन्दा ५० वर्ष अघिको अशिक्षित समाज, शासन व्यवस्था र परम्परागत सत्यतथ्य कथामा आधारित रहेर अन्तरजातीय पौराणिक प्रेम कथालाई भिडियोमा समेटेका छौं’, निर्देशक उप्रेतीले भने, ‘भिडियोमा अहिलेको युवाले बुझ्नुपर्ने हिजो र आजको मायाको आभाष तथा मायामा हुने अदृश्य द्वन्द्वलाई उजागर गरिएको छ । कानुनमा सीमित भए पनि ५० वर्ष अघि जे थियो, अहिले पनि त्यो समाजले जातीय विविधतालाई स्वीकारी सकेको छैन ।’

 

‘रातो टालो’मा जगदिश हमालको प्रस्तुती, कथा, गीत, संगीत र स्वर छ । भिडियोमा जगदिश हमाल, शोभा शाही र छिरिङ सोनाम लामाको पनि अभिनय छ । 

 

आश्मा पोखरेलको सह–निर्देशन, इतुशा पोखेलको छायांकन रहेको भिडियोमा अविनाश लामाको सह–छायांकन छ । भिडियो रातो टालो प्रोडक्सन र स्टुडियो लोइथोको व्यानरमा बनेको हो ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार