• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेलगत्तै स्वदेश फिर्ता गर्न पहल, चीनले अझै अनुमति दिएन

कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दुमा रहेको चीनको वुहान र नजिकैका नगरमा अड्किएका झन्डै १०० जना नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने पहल गरिए पनि चिनियाँ अनुरोधमा उनीहरूलाई त्यहीँ रोकिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।

 

दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबे प्रान्तका वुहान र अन्य नगरमा रहेका नेपालीहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेलगत्तै स्वदेश फिर्ता गर्न पहल गरिएको थियो।

तर चिनियाँ परराष्ट्र मन्त्रालयले सङ्क्रमण फैलिन नदिन सबै देशका नागरिकलाई आफ्नो नगर नछोड्न अनुरोध गरेकोले वुहान र वरपर रहेका नेपाली नागरिकलाई नेपाल फर्काउने प्रयास अहिलेलाई स्थगित गरिएको लम्सालले बीबीसी न्यूज नेपालीलाई बताए।

 

तर छिमेकी देश भारतको विदेश मन्त्रालयका प्रवक्ताले हुबे प्रान्तबाट आफ्ना नागरिकलाई अन्यत्र लैजाने प्रक्रिया सुरु गरिएको बताएको छ।

वुहानको एउटा माछा बजारबाट कोरोनाभाइरस फैलिन थालेको आशङ्का गरिएपछि त्यो नगरमा सबै यातायात बन्द गरिएको छ। हुबे प्रान्तका वरपरका अन्य नगरमा पनि यातायात सेवा बन्द गरिएको छ।

 

नेपालका राजदूतले पनि सङ्क्रमण थप फैलिन नदिन आफ्ना नागरिकलाई फिर्ता लैजान हतार नगर्ने प्रतिबद्धता चिनियाँ परराष्ट्र मन्त्रालयसमक्ष गरिसकेको उनले बताए।

 

नेपाली दूतावासका नियोग उपप्रमुख लम्सालका अनुसार चीनमा अहिले झन्डै ८,००० नेपाली छन्।

चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु र मङ्गलवारसम्म ४,५०० भन्दा बढी व्यक्तिमा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार