• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

‘अहिले घरदैलो बिमा पनि सुरु भएको छ’

काठमाडौं । २०७४ साल मंसिर देखि काम सुरु गरेको युनियन लाइफ इन्स्युरेन्सले हाल ७० जिल्लाबाट सेवा दिँदै आईरहेको छ । ग्रामिण भेगको तुलनामा सहरमा बिमा गर्नेहरु तुलनात्मक रुपमा बढी छन । २७ हजार अभिकर्ता रहेको यस इन्स्युरेन्सले समय–समयमा अभिकर्तालाई तालिमहरु पनि प्रदान गर्दै आइरहेको छ ।

 

विगत २५ बर्ष देखी विमा क्षेत्र मै काम गर्दै आएका युनियन लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार कर्णले बिमा गर्नेहरु बिगतको तुलनामा अहिले जागरुक भएको बताए । १९ वटा बिमा कम्पनीहरुले हाल नेपालमा सेवा दिदैं आईरहेका छन । बिमा कम्पनीहरुको संख्या धेरै भएको भनेर विमा समितीले मर्जरमा जान सक्ने संकेत समेत गरेको छ । युनियन लाईफ इन्स्युरेन्सले ल्याएका पोलिसी र बिमाको प्रभावकारीताको बारेमा फ्रेसन्यूज नेपालले प्रमुख कार्यकारी अधिकृत कर्णसँग गरेको कुराकानीको सार : 


इन्स्युरेन्स क्षेत्रमा दुईदशक बढी बिताइसक्नु भयो ? अहिल बिमीतको बुझाई कस्तो पाउनुभयोे ?
हिजो बुझाउन समय लाग्थ्यो । आम मानिसहरु यसका बारेमा बुझ्न चाहदैंन्थे । आज त्यस्तो छैन । अहिले के कस्तो रहेछ भनेर उनीहरु यसबारे बुझने चासो देखाउँछन् । बिमामा आर्कषण छ । पहिला व्यक्तिसँग पैसा कम हुन्थ्यो । अहिले बैदेशिक रोजगारले पनि व्यक्तिहरुसँग पैसा छ । कतिले त्यो पैसालाई सहि सदुपयोग गरेका छन् भने कतिले त्यसलाई विलासिता सकेको देखेको छु । 


म सुरुवातका दिन सम्झन चाहन्छु, जतिबेला एकजना भाई जो जनकपुरमा सैलुन चलाउने गर्नुहुन्थ्यो उहाँलाई यसका बारेमा बुझाएर बिमा गर्नुपर्छ भनेको थिए । त्यो समय ती युवाले गरेको निर्णयले उनलाई आज उद्यममा केहि भएपनि उर्जा थपेको छ । यसलाई सामान्य रुपमा लिनु हुँदैन । बिमाले हाम्रो आर्यमा केहि सहयोग गर्छ । बचत गर्न सिकाउँछ । उद्यम कै लागि ऋण लिन प¥यो भने सहज हुन्छ । 


बिहान बेलुकाको छाक टार्न सक्ने आर्थिक हैसियत भएका व्यक्तिहरुले समेत यसबारे बुझ्न र थोरै रकम भएपनि पछिका लागी सोच्नुपर्छ है भन्न थालेका छन् । कतिपयसँग प्रस्सत पैसा छ तर बिमा गर्न चाँहि रहनुभएको छैन । जन–चेतनाको अभावले पनि यस्तो भएको हुनसक्छ ।  मैले भन्दै आएको छु, दुई रुपैयाँ किन नहोस बचत गर्ने बानी गर्नुपर्छ । चिया, चुरोटमा पैसा खर्च गुर्नभन्दा बचत गर्यो भने त्यसको सुरुवात अवस्य राम्रो हुन्छ । अहिले हाम्रो टिमले समुदाय स्तरमा गएर यसबारे बुझाउने काम तत्परताका साथ अघि बढाइरहनु भएको छ । 
 

हरेक क्षेत्र डिजिटलाइज हुँदै गइरहेको छ । प्रविधिको प्रयोगमा तपाईहरु कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
हामीले डिजिटलाइजेसन एउटा अनिर्वाय र अभिन्न अंगका रुपमा बुझेका छौं । सोही अनुसार अघि बढ्ने भनेर कामहरु पनि भइरहेका छन् । बीमा पोलिसी बारे जानकारी लिन कम्पनीको बेभसाइट बाटै हेर्ने सक्ने बनाउने कार्य तीब्रताका साथ अघि बढिरहेको छ । यसको लागि केही समय लाग्न सक्छ । तर भोलिको दिनमा ग्राहकहरुको सुविधालाई मध्यनजर गरेर हामी अगाडी बढ्नु पर्छ । 


समुदाय स्तरमा बिमा अझै प्रभावकारी हुन सकेको छैन, पशुको बरु बिमा गरिएको पाइन्छ तर मानिस बिमा गर्न खोज्दैनन्, किन ?
यसमा जन–चेतना नै मुख्य कुरा हो भन्ने लाग्छ । अभिकर्ताहरुको व्यापक परिचालन गरिएको पनि यसकै लागि हो । गाउँमा गएर उहाँहरुले भन्नुहुन्छ तब मात्रै अवस्थामा सुधार आउँछ । अहिले पनि हामी गाउँघरमा देख्छौं एउटा परिवारमा छोरा आफ्नो हिसावले बस्छ । बृद्ध आमा–बाबुलाई समस्या छ । समयमै बिमा गरेको भए त्यस्तो अवस्था हुने थिएन । निश्चित रकम आउँछ भन्ने भएपछि परिवारका सदस्यले पनि त्यसरी छाड्ने थिएनन् होला । बिमाको पैसा अथवा फिक्स डिपोजिटमा पैसा राखेको भए त्यसले दैनिकी चलाउन व्यापार व्यवसायमा लगाउन सहयोग पुग्थ्यो । अहिले घरदैलो बिमा पनि भईरहेको छ ।


बजारमा एउटै किसिमको पोलिसीहरु भए भनिन्छ नि ?
सम्रगमा भन्ने हो भने बीमा सबैले गरेका छैनन् । अहिलेको अवस्था हेर्ने हो भने बीमा १४ प्रतिशत पुगेको छ भन्न सकिन्छ । ग्रहाकलाई छुने किसिमका उनीहरुलाई प्रभाव पार्न किसिमका पोलिसीहरु भए भने त्यो बढी प्रभावकारी हुनसक्छ । अभिकर्ताहरुले घर दैलोमै गएर बीमा गरिरहेका छन । राम्रोसँग बुझाउने हो भने आम–मानिस बिमा गर्न तयार हुन्छन । अनुत्पादक क्षेत्रमा खर्च भईरहेको छ । यस्तो हुनु हुँदैन । गाउँघरमा कृषि, पशु बिमामा चासो बढेको छ । बिस्तारै जीवन बिमामा उनीहरु जागरुक हुन थालेका छन् । अबका दिनमा यो क्रम अझै बढ्नेमा हामी ढुक्क छौं ।


युनियन लाइफ इन्स्युरेन्समा नयाँ त्यस्तो के छ ? 
छिटो छरितो सेवा सुविधा, पोलिसी हाम्रो प्रभावकारी छ । सम्बन्धीत घटनाको प्रमाण जुट्यो भने प्रक्रिया छिटो हुन्छ । जसले दाबी गर्छ प्रमाणका आधारमा हामीले पैसा दिने हो । दुईवर्षको प्रिमियम तिरेपछि ऋण लिन सक्छ बिमीतले । जसले गर्दा उनीहरुको व्यवसाय र उसलाई पर्ने आवश्यक आर्थिक सहयोग पुग्नुका साथै काम गर्न सहज हुन्छ । हामीले हरेक बर्ष नयाँ–नयाँ पोलिसी ल्याउने प्रयत्न गरिरहेका हुन्छौं । पोलिसी नयाँ भयो भने अभिकर्ताहरु ग्राहकहरुकोमा पुग्दा त्यसले थप प्रोत्साहन गर्छ ।


बिमा समितीले मर्जरको कुरा अघि बढाएको छ ? छिट्टै मर्जरमा जाने सम्भावना कतिको देख्नुहुन्छ ?
मर्जर तत्काल नहुन सक्छ  । कम्पनीहरु १९ वटा छन । एउटा समय आएपछि अथवा भनौ ५/६ बर्ष पछि मलाई यो हुनु नै पर्छ जस्तो लाग्छ । मर्जरमा गएपनि त्यसले खासै असर गर्दैन । फरक किसिमको वातावरणबाट आएका कम्पनीहरुको हकमा व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती हुनसक्छ अन्यथा यो ठूलो समस्या होइन । 

 

प्रस्तुति : देवी सापकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार