• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नेपालमा कोरोनाभाइरस सङ्क्रमित भेटिएपछि थप सतर्कता अपनाइदै

REUTERS

काठमाडौं । चीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको छ।

 

स्वास्थ्य मन्त्रालयमा शनिवार बिहान बसेको बैठकले काठमाडौंका सबै अस्पतालहरूलाई सतर्क अवस्थामा रहन र आइसोलेसन वार्ड बनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको जनाएको छ।

 

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र आवश्यक परेको अवस्थामा त्यहीँबाट अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने कार्य भइरहेको जनाइएको छ।

 

शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट  फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो। तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ।त्यसबाहेक शाङ्घाइ शहरबाट केही समयअघि नेपाल आइपुगेका एकजना नेपालीमा पनि कोरोनाभाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन्।

 

उनलाई हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै कोठामा राखिएको छ। उनको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले जानकारी दिए।

 

चीनमा नयाँ वर्ष तथा वसन्त पर्वको छुट्टी सुरु भएका कारण यो बेला चीनमा पढ्न गएका नेपालीहरू नेपाल फर्कने गर्छन्। कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ४१ जनाको ज्यान गएको छ। त्यो भनेको जम्मा सङ्क्रमितको करिब तीन प्रतिशत मात्रै हो।

 

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेको छ। अहिले सम्म १ हजार २ सय ८७ जना सङ्क्रमित भएका विवरण प्राप्त भएका छन्।

 

चिकित्सकहरूले थाहै नपाएको सङ्क्रमण कति छ भन्ने अझै प्रष्ट भइसकेको छैन। कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गएपछि विभिन्न चिनियाँ सहरहरूमा रहेका नेपालीहरू समेत नेपाल फर्किरहेका विवरणहरू सार्वजनिक भइरहेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार