• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
रंगमञ्च

पहिले माया पछि घृणा : झिम्के मामा

फ्रेसन्युज संवाददाता, काठमाडौं । ‘झिम्के मामा’ चरित्र प्रधान नाटक हो, नाटकमा पात्रहरुको माध्यमबाट एउटा समाजको चित्रण गर्न खोजिएको छ ।  


देउराली भन्ने पहाडी भेगमा काल्पनिक गाउँ छ । देउरालीको छेउछाउका सात गाउँसम्म फैलिएको बस्ती छ । त्यहाँ ब्रहामण समुदायको बाहुल्यता रहेको छ । पोखरेल टोल, खड्का टोल, कट्टेल टोल आदी र यी सवै गाउँहरुको प्रमुख केन्द्रको रुपमा देउराली रहेको हुन्छ । नाटक यीनै परिवेश भित्र रुमलिएको छ ।


झिम्के मामा सामाजिक यथार्थवादी कथा हो । समाजमा जकडिएर रहेको जातीय विदेभले मानवतालाई कसरी पतन गरिरहेको छ भन्ने विम्ब नाटकमा पस्कन खोजिएको छ । एक व्यक्ति किन अर्को समुदायमा अटाउन सक्दैन भन्ने सामाजिक व्यङ्गय हो । सामाजिक संरचनाले सृजना गरेको सामाजिक विभेद र त्यसले समाजमा निमत्याको परिणामको झल्को हो, नाटक ‘झिम्के मामा’ । 


दलित समुदायलाई माया गरेपनि घृणाको दृष्टिले हेर्ने नेपाली समाजको सोच र परम्परासँगै दलितले बनाएको मूर्ती पूज्ने र सिलाएको कपडा लगाउने तर उनीहरुलाई सम्मान गर्न नसक्ने अवस्था नाटकमा देखाउन खोजिएको छ । पहिला सबैले माया गर्ने सबैको रोजाईमा परेको झिम्केको अश्लियत जब बाहिर आउँछ त्यसपछि नाटकले नयाँ मोड लिन्छ ।

 

सजन थापा मगरले गरेको गाउँले परिवेशको सेट डिजाइनले नाटकलाई सुन्दर र मनमोहक बनाइदिएको छ । दुर्गाप्रसाद पाण्डेको कथामा आधारित यस नाटकको कथावस्तु नयाँ होइन यस बिषयमा धेरै नाटक, कथा, उपन्यास बनेका छन् । 

 

 

यसअघि मञ्चन भएको नाटक ‘महाभोज’ पनि दलितलाई गरिने दुर्रव्यवहारको कथामा थियो ।  एउटा दलित कै लासमाथि हुने राजनीतिमा कथा केन्द्रित थियो । राजधानीमा  झिम्के जस्तै कयौं व्यक्तिहरु सरकारले दिएको कोटा प्राणालीबाट शिक्षा र रोजगारी लिने प्रयास गरिरहेका छन् ।  आफ्नो थर लुकाएर कोठा खोज्दैछन । उनीहरु कुनैदिन दलित हो भन्ने खुलासा भयो भने झिम्के जस्त अपमानको जहर सहेर निस्कनुपर्छ । 


नाटकमा कलाकारहरुको अभिनयमा एकरुपता नभएको महसुस हुन्छ । नाटकको पहिलो केही समय कथावस्तु फिजारिएको हो कि जस्तो लाग्छ । नाटकले बिकास निमार्ण, अन्तरजातीय बिवाह, सहरमा बसेकाहरुको दुख, विदेशबाट स्वदेश फर्केको व्यक्तिका गफ दर्शकलाई पट्यारलाग्न सक्छ । सुरुका केही मिनेट नाटक सम्वादले नै भरिएका छन् जसले नाटकलाई निर्देशकले केही समय लम्ब्याउन खोजेका हुन कि जस्तो पनि महसुस हुन्छ । 


झिम्के मामाको भुमिकामा देखिएका अंकित खड्काको अभिनयमा खोट लगाउने ठाउँ छैन । उनले आफनो तर्फबाट नाटकमा ज्यान नै दिएका छन् भन्दा पनि फरक पर्दैन । नाटकमा उनको आवाज, शारीरीक हाउभाउ, भेषभुषा धेरै राम्रो छ । उनी अघिल्ला नाटकहरुमा भन्दा यसमा केही फरक पनि देखिएका छन् । यस्तै संयोग गुँरागाई लगायतका कलाकारहरुको काम सम्झिनयोग्य छ । उनीहरुले बोल्ने संवादहरु र व्यवहारले दर्शकलाई केही समय हसाउँछ। झिम्केको दिदी–भिनाजु रीता श्रेष्ठ र अनुप न्यैपानेको अभिनय ठिकठाक छ । 

 

 

समग्रमा निर्देशक प्रदीप कुमार चौधरीले नाटकलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि उनी धेरै ठाउँमा खस्किएका छन् । नाटक हेर्दा लाग्छ निर्देशक अझै पनि आफनो पहिला कै ढाँचाशैलीबाट बाहिर निस्कन सकेका छैनन् । 


यही माघ ४ गतेबाट माघ २६ गतेसम्म मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ । अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर कामी खाती, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्य बराल, सुशिल पाण्डे, विकास पन्त, महन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा र अरविन्द अमात्यको नाटकमा अभिनय रहेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार