• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

हुम्ला २२ दिनदेखि सञ्चारविहीन

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन ।

 

पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

 

इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए । 

 

टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल गरिरहेको छ । जिल्ला बाहिर नै प्रविधिमा समस्या आएको जनाउँदै हाल मर्मतको कम भइरहेको टेलिकम शाखाका प्रमुख शिवप्रसाद भट्टराईले बताए । जिल्लाको सदरमुकाम सिमकोट लाग्नामा रहेको छोपाखोरमा गत वर्ष जस्तै यस वर्ष पनि समस्या आएको हुन सक्ने उहाँले आशङ्का गरे ।

 

यही माघ १० गतेसम्म मौसम सफा भएमा नेपाली सेना र आफ्ना कर्मचारी मर्मतका लागि पठाइने जानकारी उनले दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार