• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

आर्मी र एपीएफ सेमिफाइनलमा

काठमाडौं । एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताको आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

 

नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजनामा भएको प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो । प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही दुईलाख तथा उपविजेताले  एकलाख पुरस्कार पाउनेछन् ।

 

त्यसैगरी तेस्रो हुने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही २५ हजार पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही रु दश हजार पाउनेछन् ।

 

यस्तै दोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३-० को सेटमा हराएर सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

 

एपीएफले बुद्धटोलमाथि २५-१८, २५-१७ र २५-११ को जित हात पार्यो । प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा पुग्ने दुई टोलीको भने टुंगो लाग्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार