• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

एक करोड बराबरका माछा उत्पादन

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधि मै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । 

 

पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै रु ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएका पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताए । माछा उत्पादनमा लागेका किसानले रहु, भाकुर, रुपचन्द, कमन, विगहेड, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । माछा प्रतिकिलो रु ३०० देखि ४०० का दरले बिक्री हुने गरेको छ ।

 

नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन् । नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिकरुपमा १५० क्विण्टल माछा उत्पादन गर्दै आएको छ । उनले ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गर्दै आएका छन् । अन्य किसानले भने तीन लाख ५० हजारदेखि ४० हजारसम्म माछा उत्पादन गरी बिक्री गर्दै आएका छन् । 

 

एक लाखभन्दा कम मूल्य बराबरको माछा उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै रहेको छ । चार जना किसानले चालु आवमै पोखरी बनाई माछापालनको शुरुआत गरेका छन । नगरपालिका क्षेत्रभित्र रहेका गौडी सलिना, मणिका, सिद्धनाथ, झारखण्डी, सुनदेवी, निल, शुक्ला, अजिंगर, पुरैना र लरंका ताल मध्ये अजिंगर, पुरैना, लरंका, सिद्धनाथ र झारखण्डी तालमा मात्रै माछापालन हुने गरेको छ ।

 

नगरपालिकाका दुई किसानले माछाको ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन् । नगरपालिकाको वडा नं ७ का हिक्मत चौधरीले १२ कट्ठा जग्गामा र वडा नं १ का पल्टु चौधरीले दुई दशमलव पाँच बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गरेको छ । उनले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर रु १० देखि रु १७ लाख आम्दानी गर्दै आएका छन् । 

 

नगरपालिकाको वडा नं ३ का गेदु चौधरीले धान खेतमा कमन र विगहेड जातका माछापालन गरी एक लाख बढी आम्दानी गरेका छन्। डेढ कट्ठा धानखेतमा सोचेभन्दा बढी आम्दानी भएपछि आउँदो वर्ष त्योभन्दा बढी धान खेतमा माछापालन गर्ने बताए । धान खेतमा माछापालन गर्ने चौधरी नगरपालिकभित्रका पहिलो किसान हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार