• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

'कोरोनाभाइरसबारे कुनै पनि ढाकछोप नगरौं'

चीन । चीनमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरसको सङ्क्रमणबारे कुनै पनि ढाकछोप नगर्न वरिष्ठ नेताहरूले कर्मचारीहरूलाई चेतावनी दिएका छन्।

 

हालसम्म त्यहाँ तीन सय जनामा उक्त नयाँ भाइरसको सङ्क्रमण पाइएको छ भने छ जनाको ज्यान गइसकेको छ। चीनमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मा पाएको राजनीतिक संयन्त्रले भनेको छ, जसले सङ्क्रमणका घटनालाई ढाकछोप गर्नेछ उ 'अनन्तकालसम्म लज्जाको खम्बामा बाँधिनेछ'।

 

वुहान क्षेत्रबाट फैलन शुरू भएको यो भाइरसले एक प्रकारको न्युमोनिया गराउँछ। यो भाइरसको सङ्क्रमण मानिसबाट मानिसमा पनि हुन सक्ने पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठनले बुधवार यो सङ्क्रमणलाई लिएर अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्‌कालको घोषणा गर्ने विषयमा छलफल गर्दैछ।

 

स्वाइन फ्लु तथा इबोला सङ्क्रमणमा उसले यस्तो घोषणा गरेको थियो। त्यस्तो घोषणा भए त्यसलाई समन्वय गरी तत्काल अन्तर्राष्ट्रिय कामकारबाही होस् भन्ने उसको आह्वानको रूपमा बुझिनेछ।

 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार पहिलो पटक मानिसबाट मानिसमा पनि यसको सङ्क्रमण हुनसक्ने पुष्टि गर्‍यो। ग्वाङ्गडङ्ग प्रान्तमा दुईजना यसरी सङ्क्रमित भएको उसले जनाएको छ।

 

एउटा छुट्टै विज्ञप्तिमा वुहानको नगर स्वास्थ्य आयोगले त्यहाँ उपचारमा संलग्न १५ जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको जनाएको छ। उनीहरूलाई एक्ल्याएर उपचार गरिँदैछ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार