• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

भत्काइए १०८ छाउगोठ 

डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।

 

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

 

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमन समेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ । उनले भने, 'तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।' गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।

 

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिना भित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार