• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

एङ्गोलाबाट अकुत सम्पत्ति कमाउने 'अफ्रिकाकै धनी महिला'

अफ्रिका । अफ्रिकाकै सबभन्दा धनी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू बीबीसीले हेर्न पाएको छ।

 

चुहिएका ती दस्तावेज अनुसार एसाबेल डोस सान्टोसलाई उनका पिता एङगोलाका राष्ट्रपति हुँदा देशभित्र हुने कारोबारहरूमा सहभागी गराइएको थियो। त्यसै क्रममा उनले धेरै सम्पत्ति आर्जन गरेको खुलासा भएको छ।

 

एङ्गोलाका विगतमा भएका कारोबारहरूबारे चुहिएका ती दस्तावेजहरूले एसाबेल डोस सान्टोस र उनका श्रीमानलाई विभिन्न शङ्कास्पद कारोबारमा संलग्न गराई मूल्यवान् सरकारी सम्पत्ति खरिद गर्न दिइएको खुलासा गरेका छन्।

 

हीरा र विभिन्न बहुमूल्य खनिजहरूमा धनी एङ्गोला दक्षिणी अफ्रिकामा अवस्थित छ। त्यहाँ एसाबेल डोस सान्टोसलाई उनका पिता एङ्गोलाका पूर्व राष्ट्रपति जजे इदुआर्दो डोस् सान्टोस सत्तामा रहँदा एङ्गोलाको जमिन, हीरा, तेल र टेलिकमका प्रमुख व्यापारिक कारोबारहरूमा कसरी सहभागी गराइयो भन्ने खुलासा एक नयाँ अनुसन्धानले गरेको छ।

 

पूर्व राष्ट्रपतिकी छोरी डोस सान्टोसले ब्रिटेनलाई आफ्नो घर बनाएकी छन् र मध्य लन्डनका केही महङ्गा घरजग्गा उनको स्वामित्वमा छन्। उनीविरुद्ध एङ्गोलामा फौजदारी अनुसन्धान जारी छ र त्यसक्रममा उनको त्यहाँको सम्पत्ति रोक्का गरिएको छ।

 

अहिले उनको व्यवसायिक साम्राज्य बारेका सात लाख वटा भन्दा बढी दस्तावेज बीबीसीको प्यानोरमालाई उपलब्ध गराइएको छ। ती दस्तावेजहरू ब्रिटेनको गार्डियन र पोर्चुगलको एक्सप्रेसो समाचारपत्रसहित ३७ वटा सञ्चार संस्थाहरूले अनुसन्धान गरेका छन्।

 

भ्रष्टाचार निगरानी गर्ने संस्था करप्सन वाचका प्रमुख एन्ड्रु फाइस्टाइनका विचारमा ती दस्तावेजहरूले एसाबेल डोस सान्टोसले एङ्गोलाका सर्वसाधारणको अहित हुने गरी कसरी आफ्नो देशलाई दोहन गरिन् भन्ने प्रस्ट पारेको बताए।

 

'उनी जति पटक विश्कको कुनै चिल्लो म्यागाजिनको आवरणमा देखा पर्छिन्, उनी जति पटक दक्षिणी फ्रान्समा कुनै झड्किलो भोज भत्तेरको आयोजना गर्छिन्, उनले एङ्गोलामा नागरिकको आकाङ्क्षामा कुल्चिरहेकी हुन्छिन्।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार