• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

फिल्म हेर्ने कि कलाकार

फ्रेसन्युज संवाददाता । नेपाली सिने–बजारमा हरेक वर्ष ९० प्रतिशत सिनेमाले लगानी उठाउन सक्दैनन् । लगानी नै ‘बालुवामा पानी’ सरह ती लगानीकर्ताले पुनः सिनेमा निर्माण गर्ने आँट गर्दैनन् । तथापि प्रत्येक वर्ष नयाँ जोस र उत्साहका साथ निर्माताको नयाँ अनुहार लिएर केही व्यक्तिको प्रवेश भइरहेको छ । उनीहरू पनि पुरानै शैलीमा आउँछन्, लगानी गर्छन् र उही नियति बोकेर फर्कन्छन् । सिने जगतमा भित्रिएको यस्तो दुर्दशाका केही कारण छन् ।


नेपाली सिनेमाका खाँटी दर्शक रहेका गाउँ र साना सहरका युवा जमात रोजगारीका लागि विदेश जानुले लक्षित दर्शक घट्न पुग्छन् । जसका कारण अपेक्षित लगानी उठ्न गाह्रो हुन्छ । यहाँका अधिकांश निर्माताहरू हिन्दी सिनेमाको प्रभावबाट बाहिर निस्कन सकेका छैनन् । नेपाली समाज, यहाँको बदलिँदो सोच अनुरुप अर्गानिक विषयवस्तु दिनुपर्नेमा उनीहरू चुकिरहेका छन्, जसले गर्दा आरोप लाग्ने गरेको छ— नेपाली सिनेमा त हिन्दीबाटै कपी गरिएको रहेछ ।


यहाँका जनतामा विभिन्न राजनीतिक परिवर्तन या प्राकृतिक संकट आइहाले पनि त्यसबाट चाँडै सामान्यीकरण हुने बानी परेको छ । तिनलाई मन भुलाउन साहित्य, संगीतसँगसँगै सिनेमा उपयुक्त विकल्प हो । उनीहरू कस्ता कथावस्तु वा विषय–सन्दर्भ बोकेको सिनेमा हेर्न उत्सुक छन् भनेर अनुसन्धान गरिनुपर्छ । बजार र दर्शक रुचीको अनुसन्धान हुन नसक्दा निर्माण भएका अधिकांश सिनेमा फ्लप भइरहेका छन् । 


कतिपय निर्मातामा सिनेमाको ग्ल्यामरमा लोभिएर आउने एकखालको रोग लागेको छ । कतिलाई भने निर्देशकले आर्थिक फाइदाको लोभ देखाएर फसाउने गरेका छन् । भारतीय र हिन्दी सिनेमा हेर्ने ठूलो संख्याका दर्शकलाई हलसम्म तान्न नसक्नुले पनि व्यापार प्रभावित भएको छ । पेसागत र व्यावसायिक रुपमा लगानी गर्नेहरु नआएकाले पनि सिनेमा क्षेत्र फस्टाउन सकेको छैन ।


सिनेमालाई स्टन्टबाजीका रुपमा लिँदा त्यो हौवा मात्र हुन पुग्छ, उपलब्धी जिरो । विषयवस्तु, निर्माणका प्राविधिक पाटो र अभिनय नै हुन्, सिनेमाका असली गुदी । तर यी भन्दा पर नायक–नायिकाको टाउको बेच्ने होडले गर्दा यहाँका सिनेमाको क्वालिटी होइन क्वान्टिटी बढ्दो छ । जुन, स्वयं सिने उद्योगकै लागि हानिकारक हो । ग्ल्यामरको आर्कषण, कलाकारसँगको हिमचिम र सञ्चारमाध्यममा छाउने लोभले जसरी लगानी गर्नेहरु आए, त्यसरी नै पलायन भइरहेका छन् ।


कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली सिनेमा ओरालो लागेको छ । बदलिँदो समाजको परिवेशलाई मौलिक रुपमा उतार्नका लागि जति कथावस्तु र प्रस्तुतिले पेल्नुपर्‍थ्यो, त्यो भइरहेको छैन । आखिर यसका लागि श्रम र लगानी गर्ने हात नेपाली नै हुन्, सोच्नका लागि चाहिने मस्तिष्क पनि नेपाली नै हो । लगानी गरिएको मुद्रा नेपाली कै हो । पर्दामा अनेक भावभङ्गीमा प्रस्तुत हुने पात्र हुन् वा पर्दापछिका सहयोगी; ती पनि नेपाली नै हुन् । तीनले टेकेको भूमि र बगाएको पसिना मौलिक हो । तर धेरै नेपालीहरु हाम्रो मौलिकता खोज्न भारतीय सञ्जयलीला भन्सालीलाई पछ्याउदै सिनेघरसम्म पुग्छन्, भारतीय सिनेमा हेर्न ।


नेपाली सिनेमामा बोलिने भाषा नेपाली हो, हाम्रो मौलिक भाषा । त्यसको हाँसो–रोदन वा बाँडिने सपना नेपाली हो । तर, धेरै नेपालीहरु सलमान खान र कैट्रिना कैफसँग हाँस्छन्, रुन्छन् र दीपिका पादुकोणसँग सपना साट्छन् । सिनेमामा दर्शकलाई कस्तो कथा दिँदा हुन्छ र कस्तो खाले सिनेमा बनाउँदा दर्शक तान्न सकिन्छ भन्ने कुरालाई अहिले निर्देशकहरुले बिर्संदै गएका छन् ।


एक त धेरै फिल्म लाग्ने तर कम चल्ने हाम्रो देशमा नेपाली फिल्मको बाटो केही फराकिलो पनि देखिन्छ पछिल्लो समय, तर गर्न धेरै बाँकी नै छ ।


उही पुरानै घिसीपिटी कथा या त हिन्दी सिनेमाको कपीले आक्रान्त छ, हाम्रो नेपाली सिनेमा । यसो हुनुको कारण या त निर्देशकले फिल्म बनाउनै नजानेका हुन्, या आफ्नो नाम बिकाउनका लागि फिल्म बनाएका हुन् । सिनेमा चलोस् नचलोस् तर सिनेमा बनाउन चाहिँ एकदमै तमतयार छन्, हाम्रा निर्देशकहरु ।


अहिले त झन् दर्शकलाई मूर्ख बनाउने चलन आएको छ । कथा जे जस्तो होस्, सिनेमाका कलाकार राम्रो भए पुग्यो । कुनै नायकको चौडा छाती या नायिकाको गुलाबी ओठ हेर्नमात्रै सिनेमाहल जाने कि सिनेमाको कथासँगै आफूलाई त्यसैमा समाहित गर्न जाने ? आम दर्शक अन्योलमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार