• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
पत्रपत्रिका

हराएका विदेशी पर्यटकको खोजीमा कठिनाइ

पोखरा । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्।

 

त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए। हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो। ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६र७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन।

 

गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन्। तीमध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ। खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ। कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए। स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ।

 

‘हामी घटनास्थल पुगेर फर्किंदैछौं। तर अहिलेका लागि खोजतलास सम्भव नै छैन,’ केसीले भने, ‘पहिरो भीषण छ। तत्काल हिउँ पग्लिने सम्भावना छैन। हिउँ नपग्लेसम्म खोतलेर बेपत्ता मान्छे भेट्न सकिन्न।’ समुद्री सतहदेखि करिब ३२ सय मिटर उचाइको उक्त घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न कम्तीमा एक महिनासम्म लाग्न सक्ने उनले बताए। ‘अहिले पनि लगातार हिउँ परेकाले खोजीकार्य तत्काल सम्भव छैन। कोरियाली पर्यटक हराएको खोचमा त झनै बाक्लो हिउँ जमेको छ’, उनले भने। नेपाली गाइड परियार बेपत्ता भनिएको ठाउँमा भने केही कम हिउँ रहेकाले अरु नथपिएको अवस्थामा कम्तीमा एक साता लाग्ने उनले बताए। बाक्लो हिउँले पुरिएको मानवशरीर पत्ता लगाउने कुनै विशेष प्रविधि प्रयोग गरेर यकिन गर्न सकेको अवस्थामा केही छिटो भेट्टाउन सकिने सम्भावना रहे पनि हिउँ पग्लिने दिन पर्खिंदा महिना दिनभन्दा बढी लाग्ने उनले बताए।

 

‘चट्टानजसरी जमेको हिउँको थुप्रो खनेर बेपत्ता व्यक्ति भेटिने अवस्था रहन्न,’ उनले भने। उनका अनुसार पदमार्गमा हिमचुलीबाट झरेका दुईवटा हिमपहिरोले तल आइपुग्दा भीषण रुप लिएको छ। माथिबाट झरेको हिमपहिरो तलसम्म आइपुग्दा बाँडिएर ३–३ तिर विभाजित हुँदा अझै क्षति बढ्नसक्ने अनुमान रहेको उनले बताए। अहिले पदमार्गको हिमालयमा एउटा हिङ कु केभ र देउरालीबीचमा अर्को गरी दुईवटा पहिरो झरेका थिए। तर ती दुवै भीषण पहिरो पदमार्गसम्म झर्दा तीनतीन ठाउँमा बाँडिएको छ। ढुंगाले पहिरोलाई विच्छेद गराउँदा तीनतिर फैलिएको उनले बताए।

 

‘अहिले सातजना मान्छेमात्र हराएको भनिएको छ। तर पहिरो धेरैतिर छरिँदा अझै धेरै मान्छे परेका हुन सक्छन्। स्थानीयले अझै धेरै पदयात्री परेको हुन सक्ने बताएका छन्,’ केसीले भने, ‘व्यक्तिगत रुपमा पदयात्रामा गएका पर्यटकको बारेमा अझै विवरण खुलिसकेको छैन।’ पर्यटक हराएको ठाउँमा खोजीका लागि स्थानीयबाहेक प्रहरी पनि पुग्न नसकेको उनले बताए। सुरक्षित भनिएको देउरालीबाट पहिरो गएको ठाउँमा २० मिनेटमा पुग्न सकिन्छ। पहिरोले खहरे खोलालाई नै पुरेर समथर बनाइदिएकाले तत्काल भे्टने सम्भावना नभएको केसीले बताए।

 

अहिले पनि हिउँ पर्ने क्रम नरोकिएको र पदमार्ग पूरै हिउँले पुरिएकाले पदमार्गको दोभानभन्दा माथि बास बस्न ठाउँ नै नभएको उनले बताए। दोभानभन्दा माथि हिमालय र देउराली पर्छन्। देउरालीपछि माछापुच्छ्रे आधारशिविर ९एमबिसी० र त्यसपछि एबिसी आउँछन्। अहिले दोभानमाथि जानसक्ने अवस्था नै नरहेको केसीले बताए। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार