• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

यदि किरा-फट्याङ्ग्रा नहुने हो भने.....

काठमाडौं । किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ।

 

हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ। 'हामीले संसारबाट सबै किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ' लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीको क्राउड साइन्स कार्यक्रमलाई भनिन्।

 

किरा फट्याङ्ग्राको संसार हामी धेरैजसोलाई निकै ठूलो लाग्छ। अमेरिकाको स्मिथसोनियन इन्स्टिट्यूसनका अनुसार मानवहरूको भन्दा किराहरूको सङ्ख्या १७ गुणाले बढी हुन्छ।उक्त संस्थाका अनुसार एक समयमा १० क्विन्टिलियन किराहरू पृथ्वीमा भेटिन्छ। एक क्विन्टिलियन भनेको अमेरिकी अङ्ग्रेजीमा एक अर्ब अर्ब हो।

 

कति प्रजातिका किराहरू पाइन्छ भन्नेमा सहमत हुन संरक्षणविद्हरू नै बाँकी छ तर त्यो करिब २० लाखदेखि ३ करोडसम्म छ। स्मिथसोनियन संस्थाका अनुसार केवल ९ लाख विभिन्न प्रजातिका किराहरू मात्रै हामीलाई थाहा छ। तर त्यसले विश्वको करिब ८० प्रतिशत प्रजातिलाई मात्रै प्रतिनिधित्व गर्छ।

 

किराहरूलाई न उनीहरूको ठूलो सङ्ख्याले न नै जैविक विविधताले उनीहरूलाई सामुहिक विनाशबाट जोगाउन सकेको छ। सन् २०१७ मा गरिएको एक अध्ययनले जर्मनीको ६० वटा संरक्षित क्षेत्रमा करिब ३० वर्षमा उड्ने किराको सङ्ख्या ७५ प्रतिशत भन्दा बढीले घटेको छ।

 

प्वेर्टो रिकोमा चार दशकमा किराको सङ्ख्यामा ९८ प्रतिशतले कमी आएको एउटा अध्ययनले पत्ता लगाएको छ। यो दरमा थुप्रै किराहरू चाँडै हराउन सक्छन्। 'अहिलेको अवस्थामा सुधार नल्याए एक शताब्दीमा हामीले किराका धेरै प्रजातिहरू हराएको देख्नेछौँ,' सान्चेथ बायोले भन्छन्।

 

रासायनिक विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनका कारण पनि किराहरूको सङ्ख्यामा कमी आइरहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार