• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

‘सल्लाहमै त्रिशूलीमा हामफाल्यौं’

धादिङ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्।

 

खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए।

 

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात÷आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन् ।

 

विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि बिजनेसमा डेढ करोड रूपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ।’ सापटी दिएकहरूले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन्।

 

जमुनाले पनि मिटरब्याजबारे फेसबुकमा लेखेकी थिइन्। ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा उनले घटनाको १२ दिनअघि मिटरब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके दोब्बर, तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न थानकोटका डिएसपीलाई आग्रह गरेकी थिइन्।

 

विनयको बयान र जमुनाको फेसबुक स्टाटस हेर्दा केही दिनअघि नै सामूहिक आत्महत्या गर्नेबारे दुईजनाबीच सल्लाह भएको अनुमान गर्न सकिन्छ। विनय व्यवस्थापन विषयका ‘लेक्चरर’ हुन्। उनले मंगलोदय क्याम्पस व्यवस्थापन संकायमा पढाउँदै आएका थिए। बिहीबार सपरिवार धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा हाम फाल्दा विनयले आफू बाँचे पनि पत्नी र दुई छोरा गुमाए।

 

घटनाबारे थप अनुसन्धान भइरहेको छ। विनयले आफू बाँचेकोमा पछुतो मानेका छन्। उनलाई आइतबार जिल्ला अदालतमा ल्याइने प्रहरी उपरीक्षक रेग्मीले बताए। विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी गरिएको छ। दुई नाबालक अझै बेपत्ता छन्। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार