• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने

विराटनगर । विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजकमा भने पदाधिकारीमध्ये कै एक जनाका बुबा छन् । 

 

३० लाख बजेट रहेको जतुवास्थित सिरु ठाकुरको घरदेखि दक्षिण सरस्वती चोक पूर्वउत्तर पर्ने गोपाल यादवको घरसम्मको ९ सय मिटर सडक निर्माणका लागि गत कात्तिकमा वडाध्यक्ष यादवका मामाका छोरा सुशील यादवको अध्यक्षतामा समिति गठन गरिएको हो । समिति सदस्यमा मामाका अर्का छोरा चन्द्रशेखर यादव छन् ।

 

उक्त कामको गुणस्तर अनुगमन गर्न गठित समितिमा कार्यवाहक वडाध्यक्ष यादवका मामाकी बुहारी अनिताकुमारी यादव पनि छिन् । महानगरपालिकाको योजनामा परेको उक्त सडक ग्राभेल गर्नका लागि बनाइएको लागत अनुमान नै गलत भएको स्थानीयको आरोप छ ।

 

महानगरपालिकाबाट विनियोजन भएको २४ लाख र स्थानीय जनसहभागिताबाट ६ लाख गरी जम्मा ३० लाख रुपैयाँमा निर्माण भइरहेको उक्त नौ सय मिटर सडक फागुनभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।

 

सडक निर्माणका लागि उपभोक्ता समितिले महानगरपालिकालाई बुझाएको इस्टिमेट अनुसार पक्की नाला निर्माण भएका ठाउँमा एक मिटरको खाल्टो र ५ मिटरको चौडाइ देखाइएको छ । उक्त खाल्टामा माटो हाल्न ९ लाख ११ हजार ७ सय ६१ रुपैयाँ बजेट छुट्याएको छ ।

 

नौ सय मिटरको अर्को सडकअन्तर्गत कुनै पनि ठाउँमा ठूला खाल्डा छैनन् । जबकि प्राविधिकले ३३ इन्च बढी माटो हाल्नुपर्ने इस्टिमेटमा देखाइएको छ । ‘निर्माणाधीन सडकमा कुनै अवरोध नभए पनि सडकको ‘साइट क्लियर’ नाममा समेत बजेट छुट्याइएको छ,’ नाम उल्लेख नगर्न अनुरोध गर्दै एक स्थानीयले भने, ‘उपभोक्ता समितिमा सबै आफन्त राखेर गलत इस्टिमेट बनाई रकम हिनामिना भइरहेको छ ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार