• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अन्तर्वार्ता

‘कसैका भाषण भरिया मात्र बनेको खण्डमा पत्रकारितामा स्थापित हुन सकिँदैन’

तपाईको पत्रकारितामा प्रवेश कसरी भयो ?
म पत्रकारितामा प्रवेश गर्नुपूर्व पत्रकारितासँगै सम्बन्धित प्राविधिक क्षेत्रमा काम गर्थे । त्यो क्रममा बरिष्ठ पत्रकार किशोर नेपालसँग निकटता बढ्यो । पत्रकारिता विषयमा अध्ययन गर्ने रहर चल्यो । २०४९ फागुन ७ मा कान्तिपुर दैनिकको प्रकाशन सँगै त्यहाँ प्राविधिक व्यक्तिको रुपमा प्रवेश गरेको थिए । पत्रकारितामा स्नातक गरेपछि पूर्णतः पत्रकारितातिर मोडिएको हुँ ।


प्रारम्भिक चरणमा मलाई संसद, संसदीय राजनीति, संवैधानिक अंगका काम–कारवाही सम्बन्धी रिपोर्टिङ गर्ने अवसर मिल्यो । अर्थात्, मेरो मूल कार्यक्षेत्र संसद बन्यो । जतिबेला संसदीय रिपोर्टिङमा थिए, त्यतिबेला कांग्रेस–कम्युनिष्टबीच दूरी फराकिलो थियो । उनीहरुबीच नियमित झगडा चल्थ्यो । संसदमा धेरैजसो बेला हंगामा भइरहन्थ्यो । आपत्ति–नियमापत्ति नियमित थियो । तिनीहरुबीचका झगडाका कारण मध्यरातसम्म संसद चल्थ्यो । त्रिशंकू संसदमा सांसद खरीद–बिक्रीदेखि अपरहणसम्म झगडाका संसद रंगिन्थ्यो । संसदभित्र टेबुल–कुर्सी भाँचिन्थे । पञ्चायतविरुद्ध लडेका कांग्रेस–कम्युनिष्ट सत्ता र संसदसँगै आफै–आफैबीच लड्न पुगेका थिए ।


संसदीय रिपोर्टिङमा मैले दलीय राजनीति, नीति–निर्माण र कानून निर्माण प्रक्रिया बुझ्न पाए । संसदभित्र दलीय राजनीतिका अनगिन्ती चलखेल देख्ने र लेख्ने अवसर मिल्यो । त्यस अतिरिक्त मैले राजनीति, जलविद्युत्, राज्य–संयन्त्रका क्रियाकलाप, भ्रष्टाचारका सवालमा निरन्तर नौ वर्षे तथ्यगत रिपोर्टिङ गरेपछि कान्तिपुर प्रमुख संवाददाता भए । त्यसपछि समाचार सम्पादक, सम्पादक हुँदै २०७५ साउन ७ मा कान्तिपुरबाट बाहिरिएको हुँ । कान्तिपुर प्रकाशन गृहमा २६ वर्ष काम गरे । त्यहा“बाट बाहिरिएको नौ दिनपछि अर्थात् २०७५ साउन १६ बाट अन्नपूर्ण पोष्ट्को प्रधान सम्पादकमा नियुक्त भएको हुँ । 


मेरो रिपोर्टिङ थियो, तर खासमा रिपोर्टिङ गर्ने धित मेटिएको थिएन । मैले फिल्डमै रहेर जम्माजम्मी ९ वर्षजति मात्रै रिपोर्टिङ गरे । पत्रकारहरुलाई रिपोर्टिङ फिल्ड मै रहँदा रमाइलो हुन्छ, वास्तविकता आँखामा कैद हुने हुँदा । २०६० पछि बढी समय चाहिं सम्पादन, सहकर्मी साथीहरु व्यवस्थापन र सम्पादकीय व्यवस्थापनमा बित्यो ।

 

नेपाली पत्रकारिताको अवस्था कस्तो पाउनुहुन्छ ?
नेपाली पत्रकारिताको खास इतिहास चाहिं लामो छैन । २०४६ चैत २६ को मध्यरातमा दलविहीन पञ्चायतको अन्त्यसँगै २०४७ कात्तिक २३ मा जारी संविधानले स्वतन्त्र पत्रकारिताका निम्ति बाटो खोलेको हो । त्यो संविधानले प्रकाशन पूर्व सेन्सरशीप नहुने र मिडियाको दर्ता खारेजी नहुने ग्यारेन्टी गरेपछि मात्रै पत्रकारितामा लगानी बढेको हो । पञ्चायती व्यवस्थाभरि त्यो व्यवस्था र शासक विरुद्ध तथ्यपरकमा लेख्ने पत्रकारलाई ‘अराष्ट्रिय तत्व’, ‘राजद्रोही’, ‘देशद्रोही’, ‘व्यवस्थाविरोधी’ को पगरी गुथाउँदै जेल पुर्‍याउँथे, निरंकुश शासकहरु । भजन–मण्डली, सत्ताको चाकडीदारहरूलाई सरकारी विज्ञापन र हण्डीको रसमा डुबाइन्थ्यो । र, पत्रकारितालाई बद्नाम तुल्याइन्थ्यो । हाम्रो पत्रकारिताको त्यो दुःखद नियति थियो । 


त्यो कालखण्डमा वास्तविक पत्रकारिता गर्नेहरु जेल नपुगेको बिरलै उदाहरण छन् । बहुदलीय व्यवस्थाको पुर्नउदयसँगै पत्रकारितामा लगानीको वातावरण बन्यो, पत्रकारको संख्या बढ्यो । यही पेशाबाट पत्रकारहरुले जीविकोपार्जन गर्न सकिने अवस्था बनेको छ । तर, दुर्भाग्य हाम्रा शासकहरु चाहिं अझै पञ्चायतकालीन निरंकुश धडधडीबाट मुक्त हुन सकेका छैनन् । त्यहीकारण पत्रकारिता र पत्रकारले झमेला र पीडा खेप्नुपर्छ । आज पनि सत्ताको भजन गाउनै पर्ने परिस्थिति सिर्जना गरिंदैछ, अनेकन डर त्रासमा पारेर । पञ्चायत र शाहीकालीन कानून ब्यूँऊताउँदै लेख्नै नसक्ने स्थिति सिर्जनागर्न खोजिंदैछ । प्रधानमन्त्री निवासमा प्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्ष पत्रकारलाई सपथ खुवाउन तल्लीन छन् । जुन दुनियाँ कै निम्ति भद्दा र उदेक लाग्दो विकृत नाटक हो । लोकतन्त्रमा यस्ता दृश्य कल्पना पनि गर्न सकिन्न । 


देखिने दृश्यमा यस्ता कर्म हुन्छन्, पर्दाभित्र के–के पाकिरहेका होलान् ? पञ्चायतकालमा भजन गाउनेहरु योग्यता नहुँदा नहुँदै पनि सरकारी नियुक्ति पाउँथे, सरकारी हन्डी खाँदै वास्तविक पत्रकारिता गर्नेहरुको खेदो खन्थे । संघीय गणतान्त्रिक लोकतन्त्रमा पनि त्यही दृश्य मञ्चन भइरहेको दृश्यले पत्रकारितालाई अमिलो बनाएको छ । शासकहरु स्वतन्त्र र व्यवसायिक मिडियालाई प्रमुख शत्रु ठान्छन् । उनीहरु शत्रुको कित्तामा उभ्याउँदै भड्किलो शैलीमा मिडिया विरुद्ध उत्रन्छन् । त्यस अतिरिक्त आफ्नो स्वेच्छाचारी शासनको विरोध गर्नेहरुलाई आफनै ‘अरिङ्गाल’ लगाएर सिध्याउन खोज्छन्, जसरी पञ्चायतकालमा ‘मण्डले’ लगाइन्थ्यो । त्यसो हुनुमा पञ्चायतकालीन दृश्य देखेका पात्रहरु हावी हुनु हो । त्यहीकारण तिनीहरु बेलाबखत बोल्न पुग्छन्, ‘तिनले त्यसो गर्नुहुन्छ, हामीले किन नहुने ?’ पञ्चायतमा जसरी नै सत्ताधारीहरु पत्रकारिता बद्नाम गर्न उद्यत छन् । यसले पत्रकारिताको भविष्यलाई धरापमा पार्ने खतरा बढाएको छ । राजनीति र पत्रकारिता नितान्त फरक हुन् भन्ने मान्यता तलैसम्म स्थापित गराउन सकियो भने पत्रकारिताको भविष्य व्यवसायिक बन्नेछ ।

 

ठूला मिडिया हाउसभित्र सम्पादकीय स्वतन्त्रताको अवस्था कस्तो छ ?
मिडिया हाउसमा सम्पादकीय स्वतन्त्रता उल्लेखनीय रुपमा राम्रो छ । सम्पादकीय स्वतन्त्रताका निम्ति सम्पादकीय नेतृत्वले भूमिका खेलिरहेको हुन्छ, खेल्नै पर्ने पनि हुन्छ । सम्पादकीय नेतृत्वको मूलभूत जिम्मेवारी भनेकै हरेक खाले प्रभाव र दवावबाट सम्पादकीय कक्षलाई मुक्त राख्नु हो । अर्कातिर लगानीकर्ताले बेच्ने भनेको ‘कन्टेन्ट’ हो । राम्रो ‘कन्टेन्ट’ प्रस्तुत गर्न नसकेको खण्डमा लगानी डुब्न सक्छ । कुनै पनि लगानीकर्ताले आफनो लगानी डुबाउने खतरा मोल्न चाहँदैनन् भन्ने मलाई लाग्छ । अर्काे त, सम्पादकीय स्वतन्त्रता प्राप्त नभएको खण्डमा वास्तविक पत्रकारहरु आफनो हाउसमा लामो समय रह“दैनन् भन्ने तथ्य लगानीकर्ताले बुझेका हुन्छन् ।


पत्रकारिता गर्न इच्छुक नव–प्रवेशीहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
पत्रकारिता एउटा यस्तो पेशा हो, जहाँ हरेक खाले तथ्य र सूचना प्राप्त हुन्छ । यसले मुलुकुको अवयव र शासकका रुप छिट्टै बुझ्न सकिन्छ । तर, यस निम्ति यो पेशामा लाग्ने धैर्यता देखाउन सक्नुपर्छ । हरेक विषयमा अध्ययन गर्ने र विश्लेषण गर्ने क्षमता बिस्तार गर्नुपर्छ । केवल कसैका भाषण भरिया मात्र बनेको खण्डमा पत्रकारितामा स्थापित हुन सकिंदैन । पत्रकारितालाई पेशा बनाउने हो भने अध्ययनको दायरा बढाउने, कसैको दवाव र प्रभावमा नपर्ने र देखेका कुरा लेख्ने सक्ने व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्नुपर्छ ।

 

अनलाइन पत्रकारिताको प्रभावलाई कसरी मूल्याकंन गरिरहनुभएको छ ?
यो ‘डिजिटल’ युग हो । त्यसकारण, अबको भविष्य भनेकै अनलाइन पत्रकारिताको हो । किनभने विश्वमा ‘पेपरलेस सोसाइटी’ को मान्यता स्थापित हुँदैछ । त्यसको हावा र लहर नेपालमा राम्रैसँग प्रवेश गरिसकेको छ । नेपालमा पनि बिस्तारै ‘अनलाइन’ ठूला मिडिया हाउसमा रुपान्तरित हुँदैछन् । ‘परम्परागत’ भनिने संज्ञा पाएकाहरुले परम्परागत मिडियासँगै अनलाइनलाई पनि उत्तिकै बढावा दिने नीति अख्तियार गरेका छन् । अब बिस्तारै अनलाइन पत्रकारिताबीच प्रतिस्पर्धा हुनेछ र यसको प्रभाव व्यापक मात्रामा बढ्नेछ ।

 

तपाईको रिर्पोर्टिङ र लेखनबाट समाजमा कस्तो परिवर्तन पाउनुभएको छ ?
मैले खासमा राजनीतिक र आर्थिक विकृतिका पाटो उजागर गर्न समय खर्चिए । शासकीय दम्भ, भ्रष्ट मति र तिनका कुकृत्यहरुलाई तथ्यपरक रुपमा प्रस्तुत गरे । मैले समाचार लेखेपछि कतिपय शक्तिशाली पात्रहरुकै विरुद्ध भ्रष्टाचार मुद्दा लागेका छन् । त्यस अतिरिक्त पुस्तकहरु पनि लेखे । समाजलाई सूचित पार्ने कर्ममै आफूलाई केन्द्रित गरेको छु । मैले २०५८ मै ‘भ्रष्टाचारको शल्यक्रिया’ पुस्तक लेखेर बद्मास शासकका रुप उजागर गरेको हुँ । त्यसपछि विदेशी सहायताका विसंगति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व, रजगज पुस्तक लेखे । त्यसअतिरिक्त अनगिन्ती लेखबाट समाजले तथ्यपरक सामाग्री पाएको र त्यसबाट समाजलाई आफनो मान्यता बनाउन सजिलो तुल्याएको विश्वास मैले लिएको छु । 

 

अनलाइन पत्रकारिताका चुनौति के हुन् ?
‘अनलाइन पत्रकारिता’ मा समाचार ‘ब्रेक’ हतारोमा हुन्छन् । यसले कतिपय घटना नभइसकेको घटनालाई घटनाको रुपमा प्रस्तुत हुँदा विश्वसनीयतामा प्रश्न उठाएको छ । अर्काे त, पाठक–स्रोता समूह बढाउने होडमा हल्काफुल्का सूचना दिने र जथाभावी लेख्ने शैली विकसित हुने खतरा पनि उत्तिकै छ । यो प्रवृत्तिले अनलाइन माध्यमलाई गहन हुन दिंदैन । अनलाइनबाट सूचना ग्रहण गर्न जुन किसिमको प्राविधिक क्षमता चाहिन्छ, त्यसको अभावमा धेरै मानिसहरु सूचनाबाट बञ्चित हुन सक्ने चुनौति पनि छ ।

 

प्रस्तुति : सुकृत नेपाल

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार