• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

आज मण्डलामा सुनिल पोखरेलको प्रशिक्षणमा २४ रंगकर्मीको 'हाफ क्या बी' मञ्चन हुँदै 

काठमाडौं ।  राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा बिभिन्न जिल्लाका २४ रंगकर्मीहरुले १२ दिने नाटकको कार्यशाला लिएका छन् । 

 

सोही कार्यशालामा सिकेका सीपहरू मार्फत उक्त टोलीले नाटक 'हाफ क्या बी' तयार पारेका छन् ।  राजवले लेखेको कथामा आधारित नाटक आज साँझ ४ः३० बजे मण्डला थिएटरमा मञ्चन हुँदैछ ।

 

नाटकमा समाजमा रहेका वर्गीय बिभेदलाई मनोवैज्ञानिक शैलीमा यथार्थपरक ढंगले प्रस्तुत गरिएको। दानबहादुर आफ्नी सुत्केरी श्रीमतीको स्याहार गर्न कार्यालयबाट हाफ छुट्टी 'हाफ क्या बी' लिन चिठ्ठी तयार गर्छन् । तर कार्यालयका अन्य कर्मचारी, शाखा प्रबन्धक र सचिवले विभिन्न व्यवधान सिर्जना गरी उनलाई अल्झाउने काम गर्छन । अन्तिममा उनको बिदा स्वीकृत हुँदा साँझ ५ बजिसकेको हुन्छ । यसरी उसलाई दोहोरो घाटा हुन्छ- एकतिर बिदा काटिन्छ भने अर्को  उनले स्वीकृत भएको बिदा उपयोग गर्न पाउँदैन । यही कुराहरुमा घुमेको छ नाटक ।

 

१५ देखि २० मिनेटको यस नाटकलाई सुनिल पोखरेलको प्रशिक्षणमा २४ रंगकर्मीले  लाइट, सेट, साउण्ड, डिजाइन, र निर्देशनको कार्यशालाबाट संचालन गरेका हुन्।

 

राजधानी बाहिर  नाटकलाई कसरी विस्तार गर्ने, नाटकमा हुने रंगमञ्चका दृश्यदेखि प्राविधिक पक्षलाई कसरी अन्य ठाउँमा लैजाने भन्ने समस्यालाई हल गर्ने उदेश्यले नेपाल राष्ट्रिय संगीत तथा नाट्य प्रतिष्ठानले रंगकर्मीहरुको लागी यस्तो कार्यशाला आयोजना गरेको नाट्य विभाग प्रमुख निशा शर्मा बताउँछिन् । 

 

नाटकमा रामलोचन चौरासिया, चाँदनी शाह, देवराज जोशी, प्रकाश लामिछाने, श्रीचन्द्र चौरसिया, गणेश पौडेल, सागर बिश्वास, भरत कार्की, संजित राई र सूरज तमु लगाएतका कलाकारहरुको अभिनय रहेको छ । रंगकर्मी राजन खतिवडाले सेट डिजाइन, मिलन नेपालीले लाइट, न्यु बज्राचार्य र देव न्यौपानेले संगीत र आवाजको नाटकमा रंगकर्मीहरुलाई प्रशिक्षण दिएका हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार