• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

सार्वजनिक सवारीमा च्यातिएका सिट र उडुस आतंक 

काठमाडौं । रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।

 

त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तर कति सम्भव होला ? यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतङ्क भएको यात्रु बताउँछन् ।

 

उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, 'अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।'

 

सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थप्नुभयो, 'बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।'

 

सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ ।

 

अधिकांश सवारीको झ्याल र ढोका बिग्रिएर कामचलाऊ अवस्था छन् भने हप्तामा एक दिन सफा गरेको पाइएको छैन । समात्ने डन्डी तथा ह्यान्ड कच टुटेको अवस्थामा फेला परेका छन् । गाडीहरूमा यात्रुमैत्री सुविधाको धेरै नै अभाव छ ।

 

त्यसैगरी सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन चालकको भूमिका महत्वपुर्ण हुने भएकाले अशोभनीय क्रियाकलाप, तुच्छ र अपशब्द प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जुत्ता लगाएर सवारी चलाउन अनिवार्य गरिएको छ । सवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार