• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

आर्मी संकटासँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

 

खेलको २९औँ मिनेटमा नवयुग श्रेष्ठको गोलमार्फत अग्रता बनाएको आर्मीले दोस्रो हाफमा गोल खान पुगेको थियो। यस्तै खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा संकटाले लियो ।

 

संकटाका लागि खेलको ५५औँ मिनेटमा अमित तामाङले बराबरी गोल गरे भने खेल अवधीभर आर्मी र संकटा दुबैले पोस्टका दिशामा  प्रहार गरेको भए पनि थप गोल भने हुन सकेन। 

 

आर्मीका सुमन लामाले आफ्नो डिबक्स भित्र ह्याण्डबल गरेपछि संकटाले पेनाल्टी पाएको थियो । जसमा अमित चुकेनन् । खेलमा आर्मीका जर्ज प्रिन्स कार्की म्यान अफ दि म्याच चुनिए ।

 

सानमिगेल मछिन्द्र क्लबलाई २ अंकले पछाडि पार्ने मौका आर्मीले गुमाएको छ । बराबरीपछि आर्मी र मछिन्द्रको समान १३ अंक भएको छ । आर्मीको बराबरीले मछिन्द्र, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्री स्टारलाई फाइदा पुगेको छ ।

 

अहिलेसम्म ६ खेलमा आर्मीले ४ खेल जितेको छ भने १ खेलमा हार र १ बराबरी खेलेको छ। यस्तै आठौं स्थानमा रहेको संकटाले ६ खेलमा २ जित २ हार र २ बराबरी सहित ८ अंक बनाएको छ। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार