• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

होस्टेलको सुख–दुख

फ्रेसन्युज संवाददाता, काठमाडौं । कुनै समयमा काठमाडौंमा विद्यार्थीका लागि होस्टेल नै पाइदैनथ्यो । कीर्तिपुरको केन्द्रिय क्याम्पस, अस्कल, ताहाचल र अरु एक/दुई क्याम्पसमा मात्र होस्टेल थिए । संस्कृत पढ्ने विद्यार्थी तीनधारा पाठशालामा बस्न पाउँथे ।

 

शिक्षा क्षेत्रमा भएको लगानी र बिकाससँगै कलेजहरुले अहिले होस्टेललाई पूर्वाधारको रुपमा लिएका छन् तर सबै क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई होस्टेल सुविधा दिन सकेका छैनन् । होस्लेलको माग वात्तै बढेकाले काठमाडौंमा अहिले यो व्यवसायकै रुपमा चल्न थालेको छ । कति ठाउँमा भाडामा दिने हिसाबले बनाइएका घरहरुमा घरधनीले नै होस्टेल चलाउन थालेका छन् । अन्य व्यवसायमा जस्तै यो व्यवसायमा पनि निजी क्षेत्रको सहभागिता बढ्दै गएको देखिन्छ । 


होस्टेलमा बस्नु आवश्यकता हो वा होइन भन्ने छुट्याउन सक्ने अवस्था विद्यार्थीहरुमा छैन । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसका रुचीमा पनि परिवर्तन आएको छ । कतिले होस्टेल जीवनलाई फेसनकै रुपमा लिएको पाइन्छ । कसैलाई खाने, बस्ने र राम्रो वातावरणमा पढ्ने सुविधाको लागि होस्टेल बस्नु परेको छ भने कसैलाई आफ्नो जीवनशैली परिवर्तन गर्नका लागि । 


होस्टेलमा बस्नुको रमाइलो पनि बेग्लै हुन्छ । मैतीदेवीको एक होस्टेलमा बस्दै आएका सङ्गम भण्डारी भन्छिन्, ‘होस्टेलमा फ्रिडम हुन्छ । कसैको रोकतोक हुँदैन ।’ यतिबेला काठमाडौंको गल्लीमा प्रशस्त मात्रामा होस्टेलका बोर्ड देख्न पाइन्छ । कसैले यसलाई सकारात्मक रुपमा लिएका छन् त कसैले नकरात्मक । कक्षा एकदेखि होस्टेलमा बस्दै आएकी भण्डारीले होस्टेलमा नै बसेर स्नातकको अध्ययन गर्दैछन् । भण्डारी भन्छिन्, ‘होस्टेलले विद्यार्थीलाई बिगार्छ पनि र बनाउँछ पनि ।’


नातेदारहरुले खाने बस्ने सुविधा दिने भएपनि होस्टेलकै जीवनमा रमाउँछिन् काठमाडौं सिनामंगल कि सम्भाली मैनाली । नातेदारकहाँ बस्यो भने स्वतन्त्रता पनि नहुने र पढाईमा पनि खासै व्यस्त हुन नपाइने । यताउताको काम भनेर नै दिन बित्ने गरेको मैनालीको अनुभव छ । मैनाली भन्छिन्, होस्टेलमा बस्दा छुट्टै रमाइलो हुन्छ । आफूलाई होस्टेलमा खासै केही कुराको पनि दुःख नभएको उनी बताउँछिन् । होस्टेल जीवनमा कति अनुभव रमाइला हुन्छन् भने कति नराम्रा हुने गरेको अहिलेसम्मको अनुभवले बताएको मैनाली भन्छिन् । 


कतिपय अभिभावकलाई छोराछोरी घर बस्नाले बिग्रने डरले पनि होस्टेलमा राख्न गरेको पाइन्छ । कतिलाई भने बच्चाको रेखदेखका लागि फुर्सद नभएर होस्टेलमा राख्ने गरेको पाइन्छ । मुख्य गरेर राम्रो खाना र रमाइलो वातावरण भयोे भने मात्रै होस्टेल चल्छ । आफनो होस्टेलमा सफा पिउने पानी र विद्यार्थीको माग अनुसार विभिन्न परिकारहरु बनाउने बताउँछन पुरानो वानेश्वरमा रहेको विनायक गल्र्स होस्टेलका इन्चार्ज कृष्ण सापकोटा । 'यो गल्र्स होस्टेले हो । यहाँ नियमा अनुसार चल्नुपर्छ मन लागि गर्न मिल्दैन,' घिमिरेले भने । दुईसय जना विद्यार्थी रहेको आफनो होस्टेल सुरक्षित र सुविधाजनक रहेको उनको भनाई थियो । विनायक गल्र्स होस्टलमा बस्दै आएकी प्रवीणा कार्की होस्टेल लाइफमा मनलागी गरेर हिँड्न नहुनेमा जोड दिन्छिन् । उनी भन्छिन्, ‘होस्टेलको स्वतन्त्रता भनेको पढ्नका लागि अवसर हो’ । रमाइलो गर्न सबैलाई मन लाग्छ तर त्यसको पनि समय हुन्छ । पढ्ने अवसरलाई रमाइलोमा बिताउने हो भने जीवन असफल हुन्छ । सबै कुरा आफूले चाहेर पनि त गर्न मिल्दैन नि । 


काठमाडौंमा धेरैजसो विद्यार्थीहरु सुदुर पूर्व र पश्चिमका जिल्लाहरुबाट आएका छन् । बिगत चार महिनादेखि होस्टेलमा बस्दै आएकी पोखरा कि अस्मिता दवाडी होस्टेल लाईफलाई सामान्यभन्दा बेग्लै भएको बताउँछिन् । असाधारण जीवनलाई कसरी रमाइलो बनाउने र कसरी यसको धेरै भन्दा धेरै उपभोग गर्दै मजा लिने यो होस्टेलमा बस्ने व्यक्तिको रुचीमा भर पर्ने अस्मिताको ठम्याइ छ । 


खाना बनाउने र भाँडा माझ्ने समस्याबाट मुक्त हुन चाहनेका लागि होस्टेल जीवन लोकप्रिय हुँदैछ । आफू होस्टेलमा बस्न लागेको तीन महिना जति भएको बताउँछिन् चितवन की शिखा घिमिरे । शिखाको भनाइ छ– जति मजा गर्ने हो होस्टेल लाइफमा गर्नुपर्छ पछि के हुन्छ के, तर यसो भनेर पढाइलाई थन्क्याउने चाहिँ होइन ।


होस्टेल भन्ने वित्तिकै प्रायः मानिसको बेग्लैसोच हुन्छ तर सबै एउटै खाले हुँदैनन् । कसैले यो पेशालाई सेवामूलक रुपमा लिएका छन् भने कसैले पैसा कमाउने बाटो बनाएका छन् । आफ्नो होस्टेलमा पचास जना जति विद्यार्थी रहेको बताउँछन् कमलपोखरीमा रहेको ओमसाई व्वाइज होस्टेलका सञ्चालक केशव उप्रेती । आफूले यो पेसा खासै पैसा कमाउने लक्ष्य राखेर नगरेको र सेवामूलक लक्ष्य राखेको दाबी छ उनको । सफा खाना, कम खर्च, पानी र अन्य सुविधाका लागि पनि प्रायः विद्यार्थीले होस्टेल नै रोज्ने गरेको देखिन्छ । 


आफु पहिले डेरामा बसेको तर डेरामा बस्दा सबै काम आफैले गर्नुपर्ने हुनाले होस्टेल रोजेको बताउँछन् धादिङ का अशोक न्यौपाने  । होस्टेलमा बस्यो भने खानको सुबिधा पनि हुने र मुख्य गरेर पानीको सुबिधा पाइने यादवको भनाई थियो । होस्टेलको बसाइ अलि सस्तो पनि हो, उनले भने । 


भीमसेनगोला स्थित नाइस गल्र्स होस्टेलको रौनक अर्कै छ । भर्खर संचालनमा आएको यो गल्र्स होस्टेलमा ३५ जना जति बिद्यार्थीहरु बस्ने गर्छन । आफनो होस्टेलको दर रेट अलि कम पनि भएको र बिधार्थी भर्ना गर्दा अलि ध्यान दिएर मात्र भर्ना गर्ने गरेको बताउँछिन् संचालिका राधा शिवाकोटी । हामीले  बिधार्थीको सुविधामा बिशेष ध्यान दिने भनेको बस्ने र खाने मै हो । यी दुबै राम्रो भयो भने बिधार्थी आफै ठाउँ खोज्दै आउँछन् । आफनो होस्टेलमा खासै त्यस्तो कडा नियम नभएको र बिधार्थी आफै पनि बुझने भएको हुनाले नियम लगाउन नपरेको शिवाकोटी बताउँछिन् । तर बेलुका भने अलि ध्यान दिनुपर्छ । 


सफा खाना, कम खर्च, पानी र अन्य सुबिधाको लागि पनि प्राय बिधार्थीले होस्टेल नै रोज्ने गरेको देखिन्छ । तर यसको दूरगामी प्रभाव कस्तो हुने हो ? अनुमान लगाउन भने अलि कठिन छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार