• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

चाडपर्वको महंगीले सर्वसाधारण हम्मेहम्मे

काठमाडौं । हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ ।

 

हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो । नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ ।

 

रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ ! कति साह्रो महँगी बढेको हो ? किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।

 

दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउन समेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने रु महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् ।

 

माघेसंक्रान्ति मनाउने भनेर बजारमा सामान किन्न जानेहरूका अनुसार मूल्य छोइसक्नु छैन । टुकुच्चाको तरकारी बजारमा हरेक व्यापारीको फरक–फरक मूल्य छ । वन तरुल प्रतिकेजी २ सय ५० देखि ४ सय रुपैयाँ केजीसम्म बढेको बताइएको छ । यस्तै, हात्तीपाइले तरुल प्रतिकेजी १ सयदेखि १ सय ५०, घर तरुल १ सयदेखि १ सय २० रुपैयाँ पर्ने गरेको अम्बिका मगर बताउँछिन् ।

 

एक–दुई वर्षपहिले एक मुठा साग ५–१० रुपैयाँमा पाइनेमा अहिले त्यही सागको ८०–९० रुपैयाँ पुगेको छ । घरधनीले मनपरी कोठाभाडा लिँदै आएका छन् । यस्तै, सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएकी दिलमाया तामाङलाई पनि पछिल्लो समय उपत्यकाको महँगीले भान्सा चलाउन गाह्रो भएको छ । तामाङ भन्छिन्, ‘काठमाडौं आएको १५ वर्ष भयो, अहिलेको जस्तो महँगी यसअघि महसुस गरेकी थिइनँ ।

 

अहिले १ सय रुपैयाँमा केही पनि आउँदैन,’ तामाङले भनिन्, महँगी पनि कति सारो बढेको हो । अहिले महँगीले महिनामा कमाएको २०–२५ हजारले १५ दिन गुजारा गर्न मुस्किल भएको छ । बजारमा एक केजी प्याजको १ सय ३० रुपैयाँ छ भने सिमी १ सय ५० रुपैयाँ छ । व्यापारीले कुनै ठाउँमा त त्यसको मूल्य १५०–१६० सम्म लिन्छन् । मैतीदेवीमा बस्दै आएकी सुन्तली तामाङलाई पनि महँगीले माघेसंक्रान्ति समेत कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । राजधानी

 

तरुल बजार मूल्य प्रतिकेजी
वन तरुल ३०० देखि ३५०
हात्तीपाइले तरुल १५० देखि २००
स्कुसको जरा १५० देखि १७०
पतले तरुल १६० देखि १८०
देसी तरुल १०० देखि १२५
भैंसी तरुल १०० देखि १२५
सिमल तरुल ८० देखि ९०
रातो तरुल १०० देखि १२०
सक्खरखण्ड १०० देखि १२०

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार