• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

'छपाक' भर्सेस 'तानाजी' मा राजनीतिको चित्र

काठमाडौं । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि भारतीय राजनीतिमा ठूलो परिवर्तन आयो । यसको प्रभाव भने बलिउडसम्मै देखियो । जसरी राजनीतिमा हिन्दुवादी गंगा बगेको देखियो बलिउडले पनि यसमा आफ्नो डुंगा खियाउन निस्किइहाल्यो ।

 

यस्तै एउटा डुंगामा सवार भएर अजय देवगन अहिले निस्किएका छन्, सत्रौं शताब्दीका एक मराठा योद्धा तानाजी मालुसरेले आफ्ना सम्राट छत्रपति शिवाजीको वफादारीमा प्रदर्शन गरेको वीरताको गाथामा फिल्म लिएर।

 

यसैसँग दीपिका पादुकोणले निर्माण र मूख्य भूमिकामा अभिनय गरेको 'छपाक' पनि प्रदर्शन भइरहेको छ। छपाकले बलिउडलाई मात्र नभएर भारतीय राजनीतिलाई नै तरंगित बनाइदिएको छ। यो पनि वास्तविक पात्रको कथामा नै बनेको फिल्म हो। र, यसको मुख्यपात्र पनि एक योद्धा नै हुन्, एसिड आक्रमणमा परेर बाँचेकी लक्ष्मी अग्रवाल। फरक के छ भने तानाजीले हिन्दु साम्राज्य बचाउनका लागि मुगलसँग लडेका थिए। लक्ष्मीले यो समाज र समाजले हुर्काएका दानवहरुसँग।

 

यी दुई फिल्मको अहिलेको भारतको राजनीतिसँग के सरोकार छ भन्ने विषयमा म अन्तिममा आउनेछु। सुरुमा यी दुई फिल्मकै चर्चा गरौं।

 

पछिल्ला वर्षहरुमा आएका 'पद्मावत', 'केसरी', 'पानीपत', 'बाजीराव मस्तानी' जस्ता इतिहासका पात्र र घटनाकै वरपर घुम्ने फिल्म हो 'तानाजी' । यी सबै फिल्ममा समानता के छ भने यिनले प्रायस् इस्लाम धर्म मान्नेहरु जो भारतमा आए ती घुसपैठी, अनैतिक र लुटेरा थिए भन्ने देखाउँछन्। उनीहरुसँग कतै मराठाले त कतै शिखहरुले भारतलाई जोगाए भन्ने सन्देश प्रवाहित गर्छन्।

 

आशुतोष गोवारिकरको फिल्म 'जोधा अकबर' चाहिँ यसमा अपवाद थियो। जबकि भारतको प्राचीन इतिहास खासगरी दिल्लीको इतिहासलाई हेर्ने हो भने मुगलको भूमिका लुटेराको नभइ भारतलाई एक विशाल साम्राज्य बनाउन लागिपरेको समूहको देखिन्छ। मुगलहरुले अन्य कालका घुसपैठीहरुले जसरी भारतबाट सम्पति लुटेर बाहिर लगेको पनि बताइँदैन।

 

तर, यो इतिहासमात्रै भनेर त फिल्म बन्दैन। बने पनि त्यसमा ड्रामा पुग्दैन। मेलोड्रामा निर्माण गर्नका लागि चाहिन्छ खलनायक। इतिहासका हिरोहरु खोज्ने हो भने तीसँगै भिलेन पनि खोज्नु वा खडा गर्नुपर्ने हुन्छ। सुरुमै भने जस्तै जब हिन्दुवादी हावा चलेको छ भने त्यसमा सुकेका पातझैं उड्ने त मुसलमान पात्रहरु नै हुन्।

 

मराठा सम्राट छत्रपति शिवाजीका विश्वासपात्र सुवेदार। मराठा साम्राज्य जोगाउनका लागि ज्यान दिन पनि पछि नपर्नु भनेर बच्चैदेखि आफ्नो बाबुबाट दीक्षा पाएको लडाकु। अत्यन्त वीर, धीर र संयम। इतिहासले हिरो मान्नका लागि सबै गुणले नीपूण। राजाको खास भएर पनि दरबारमा नबसी गाउँमा बस्ने। आफ्नो खेतमा आफैं हलो जोत्ने मेहनती किसान। श्रीमतीलाई माया गर्ने पारिवारिक पनि।

 

अर्कातिर छन् दिल्लीका मुगल सम्राट औरंगजेब। मराठा साम्राज्यलाई कमजोर बनाएर पूरै हिन्दुस्तानलाई अधिनस्थ गर्ने सपना पालेर बसेका। उनको यो सपनाको बाटोमा तगारो बनेर उभिएका छन् उही छत्रपति शिवाजी। उनी यो तगारो पन्छाउन चाहन्छन्। यसका लागि उनको विश्वासपात्र अंगरक्षक उदयभान राठौर (जो राजपुत हिन्दु हो) लाई उनी अघि सार्छन्।

 

मुगलले आक्रमण गर्न लागेको थाहा पाउनासाथ तानाजी छोराको बिहे थाँती राखेर लड्न निस्किन्छन्। फिल्मको क्लाइमेक्स उदयभान र तानाजीले कोंढाणा नामक किल्लामा लडेको लडाइ हो।कोंढाणा जसलाई सिनागढ पनि भनिन्छ, यो किल्लामा भएको दुई फौजको घमासाना युद्ध नै तानाजीको कथाको केन्द्र हो र फिल्मको विशेषता पनि।

 

फिल्ममा आजसम्म कुनै हिन्दी फिल्ममा नदेखिएको युद्ध छ। पहाडी इलाकामा १७ ‍औं शताब्दीमा लडिएको गुरिल्ला युद्ध यति जीवन्त छ कि दर्शकलाई यसले आश्चर्यमा पार्छ। भाला, तीर र तरबारको युद्धलाई खिच्ने तरिका गजबको छ। केही दृश्यहरुमा हलिउड फिल्मको झलक नआउने होइन तैपनि यसलाई आफ्नो शैलीमा ढाल्ने प्रयास निकै राम्रो छ। 'तानाजी' को सबभन्दा राम्रो पक्ष नै यसको प्राविधिक पक्ष हो। संजयलिला भन्सालीको 'पद्मावत' को कलर र लाइट टोनलाई पच्छ्याएको फिल्मको स्पेसल इफेक्ट्स र भिएफएक्स प्रशंसायोग्य छ। यसकारण यो फिल्म थ्रीडीमा हेर्दा झन् बेस लाग्छ।

 

१६७० को फेब्रुअरीमा भएको युद्धको मूख्य पात्र र घटनाहरुलाई नै लिएर त्यसमा अरु मसला थपिएको छ। तर फिल्मको समस्या भने इतिहासलाई अहिलेको नजरबाट हेर्नुमा देखिन्छ। हिन्दुत्व, भगवा रंग र धर्म रक्षाको यति धेरै कुरा मिसाइएको छ कि घरीघरी त अहिलेकै भारतको कथा हेरेजस्तो प्रतीत हुन्छ।

 

फिल्ममा मुसलमान पात्रहरुलाई नै 'हामी मुगल त अवसरवादी नै हौ' भन्ने जस्ता संवादहरु बोल्न लगाइएको छ। मुगल दरबारका दृश्यहरुलाई सुरुदेखि नै षड्यन्त्रको अखडा जसरी पेस गरिएको छ। उदयभान राठौरलाई 'पद्मावत' को भिलेन अलाउद्दिन खिलजी जस्तै क्रुर र अत्याचारी देखाइएको छ। एउटा दृश्यमा उ खोलाको तिरमा गोहीलाई आगोमा पोल्दै खाइरहेको हुन्छ भने अर्को दृश्यमा आफ्नै कैदमा रहेका कैदीलाई यातना दिइरहेको।

 

आफ्नो पहिलो प्रेमलाई उठाएर ल्याएको उदयभान पूरै यात्राभरी उसको पालकीलाई साथै लिएर हिँड्छ। मानौं कुनै यात्री आफ्नो छायाँलाई साथ लिएर हिँडिरहेको होस् र त्यो छायाँमा नै उसको मृत्युको रहस्य लुकेको होस्।

 

ओम राउतले निर्देशन गरेको फिल्मले इतिहासलाई न त तटस्थ भएर हेरेको छ, न त्यसमा माथि कुनै प्रश्न उठाएको छ। वीरगाथा र गुणगाथामा निर्माताले ठूलै व्यापारको संभावना देखेजस्तो लाग्छ। जसलाई फिल्मको दुई दिनको व्यापारले सत्य पनि सावित गरिसकेको छ।

 

फिल्ममा मुख्य चारजना पात्र छन्। तानाजी अजय देवगन, तानाजीकी पत्नी सावित्री काजोल, उदयभान सैफअलि खान र शिवाजी शरद केलकर। अभिनयको सन्दर्भमा सुरुका तीनजना झन्डै २५-३० वर्षदेखि बलिउडमा चलेका कलाकार हुन्। सबै विभिन्न अवार्ड जितेका प्रभावशाली कलाकार हुन्। आफ्ना धेरै फिल्ममाजस्तै अजय देवगन यसमा पनि राष्ट्रभक्त पात्रका रुपमा सहज देखिन्छन्। फिल्मको डोरीवाला युद्ध दृश्यमा उनको मेहनत पनि देखिन्छ। 'ओमकारा' मा जस्तै खलनायका रुपमा सैफअलि यसमा पनि जमेका छन्। शरद केलकर यसबाट उम्दा अभिनेताका रुपमा उदाएका छन्। छत्रपति शिवाजीका रुपमा यी मराठी कलाकार, जसले 'बाहुबली' मा प्रभास ९बाहुबली०लाई आवाज दिएका थिए, शानदार लाग्छन्।

 

खूला सीमाना र भाषा संस्कृतिमा केही समनता भएको हुँदा भारतबाट धेरै कुरा नेपाल आयत हुन्छन्, चाहेर वा नचाहेर। पानी बगेर भारततिर जाने भए पनि धेरै सामाजिक कुरा बगेर नेपालतिर आउँछन्। यसरी नै उल्टो कोशीमा बगेर आएको रोग हो- युवतीलाई एसिड छ्याप्ने रोग।

 

पछिल्ला वर्षहरुमा नेपालमा थुप्रै युवतीहरु पागल प्रेमी, ईष्यालु छिमेकी र आफ्नै ठानेका मान्छेबाट प्रताडित भएका छन्। उनीहरुको अनुहारमा छ्यापिने एसिड खासमा नेपाली समाजको मुखमा पोतिएको कलंक हो। तर, यसलाई धेरै गम्भीर अपराधका रुपमा लिएको पाइँदैन। न त पीडितको पीडाको गहिराइलाई धेरैले बुझेजस्तो लाग्छ। गत वर्ष पोखरा साहित्य महोत्सवमा एसिड आक्रमणमा परेका दुई किशोरीहरु संगीता पुलामी र सीमा बस्नेतसँग कुरा गरेपछि मलाई उनीहरुको पीडाको केही ज्ञान भएको थियो।

 

'छपाक' ले तपाईलाई त्यसैको ज्ञान दिन्छ। एसिडले युवतीको अनुहारको मात्रै छाला डढाउँदैन, यो कसरी शरीर हुँदै आत्मामा पुग्छ भन्ने यो फिल्मले देखाएको छ। पीडित, उसका परिवार र आफन्तले समेत कसरी यसको मूल्य चुकाउनु पर्छ भन्ने यो फिल्मले देखाउँछ। र, पीडकका लागि समाज कति उदार छ, कानून कति खुकुलो छ भन्ने पनि यसले देखाउँछ। पीडितको अनुहारको घाउ सेलाउन नपाउँदै पीडकको बिहे पक्का हुन्छ। र बिहेकै लागि भनेर अदालतले उसलाई जमानतमा रिहा गरिदिन्छ।

 

'छपाक' आजको समाजको कथा हो। लक्ष्मी अग्रवाललाई १५ वर्षको उमेरमा उनका छिमेकीले ईष्यावस एसिड प्रहार गरेका थिए। त्यसपछि उनको जीवनमा आएका उतारचढाव र उनले गरेका संघर्षको कथा यसमा छ। लक्ष्मी अग्रवाल अन्य 'एसिड एट्याक सर्भाइभर' भन्दा फरक किन भइन् भने उनले एसिडमा प्रतिबन्धको माग गर्दै जनहित याचिका दायर गरिन्। यसकै सुनुवाई गर्दै अदालतले एसिड बिक्रीलाई नियमन गर्न आदेश पनि दियो। तर, फिल्मकै एक पात्रले भनेजस्तै आज पनि भारतमा एसिड कोल्ड ड्रिंकभन्दा सस्तोमा बिक्री हुन्छ।

 

'छपाक' महिलाको विषयमा महिलाले लेखेको, निर्देशन गरेको फिल्म पनि हो। यसकी लेखक तथा निर्देशक हुन्- मेघना गुलजार। प्रसिद्ध कविरफिल्ममेकर गुलजारकी छोरी मेघनाको यो तेस्रो फिल्म हो। उनले एसिड एट्याकजस्तै अर्को चर्चित काण्ड 'आरुषि हत्याकाण्ड' माथि पहिलो फिल्म 'तलबार' बनाएकी थिइन्। उनको दोस्रो फिल्म गत वर्षको 'राजी' थियो, जुन पाकिस्तानमा भारतको जासुसका रुपमा बिहे गरेर गएकी कश्मिरी युवतीको कथामा लेखिएको पुस्तक 'कलिङ सहमत' मा आधारित थियो।

 

मेघना आफ्ना पात्रहरु प्रति निकै संवेदनशील छन्। फिल्ममा एसिड आक्रमणमा परेपछि युवतीले भोग्ने पीडाका चरणहरुलाई निकै मिहीन तरिकाले दर्शाइएको छ। दीपिका पादुकोणले मालतीको भूमिकामा आफूलाई ढालेकी छन्। संजय भन्सालीकी 'पद्मावत' बाट निस्किएर उनी दिल्लीको सडकमा घुम्टोमा अनुहार लुकाउने पीडितको रुपमा देखिएकी छन्, जसका भाइलाई साथीहरुले भन्छन्- तेरो घरमा त भूत छ !

 

इतिहासमा चासो हुने र स्पेसल इफेक्ट्सको कमाल हेर्न चाहनेका लागि ुतानाजीु उपयुक्त होला। तर, आफू बाँचिरहेको समय र समाजबारे चासो हुनेका लागि निसन्देह : 'छपाक' उत्तम रोजाइ हुनसक्छ।

 

अब कुरा गरौं दुई फिल्मले सतहमा ल्याएको फिल्मको राजनीतिको। फिल्मले दुई किसिमले राजनीति गर्छ। एउटा कुनै विषयलाई चित्रण गर्ने तरिकामा, विषयलाई उठाउने वा टुंग्याउने शैलीमा। र, दोस्रो दर्शकसँग संवाद गर्ने शैलीमा। फिल्मको विषय वा कलाकारलाई लिएर पर्दाबाहिर हुने राजनीतिचाहिँ तेस्रो हो।

 

'तानाजी' ले हिजोको कुरा गरे पनि अहिलेको धर्म र पार्टीका नाममा विभाजन देखिइरहेको भारतीय राजनीतिलाई सम्बोधन गर्छ। हिन्दु राम्रा मुसलमान बेइमान भन्ने जुन 'टोन' फिल्मले समातेको छ, त्यो फिल्मले आजका दर्शकसँग गरेको संवाद हो।

 

यो यस्तो समय हो जुनबेला भारतमा दुईवटा राजनीतिक प्रदर्शन चर्चामा छन्। एउटा मुलसमानलाई मात्र बाहिर राखेर गरिएको नागरिकता ऐनमा संशोधन। जसले अन्य धर्मावलम्वीलाई भने समेटेको छ। र, असमबाट लागु गर्न लागिकएको नागरिकता पुनस्प्रमाणित गर्नुपर्ने कानून। अनि यी दुवैको विरोधमा भएका प्रदर्शनहरु। यही प्रदर्शनमा दिल्लीको जामिया मिलियामा प्रहरीले गरेको दमन।

 

दोस्रो बढेको शूल्क घटाउन माग गर्दै आन्दोलन गरिररहेका दिल्लीकै जवाहरलाल नेहरु विश्वविद्यालका विद्यार्थीमाथि नकावपोशहरुले गरेको हमला। र, यसको विरोधमा भएका प्रदर्शन। अनि ऐक्यबद्धता जनाउन पुगेका बलिउड कलाकारहरु, जसमा दीपिका पादुकोण पनि एक थिइन्।

 

यहींबाट हिजो र आजका विषयमा बनेका फिल्मको लडाई पर्दाबाहिर राजनीतिक मञ्चमा आइपुग्यो। वामपन्थी विद्यार्थीको बाहूल्य रहेको प्रदर्शनमा सहभागी भएको भन्दै (अर्को शब्दमा भन्दा सरकार विरोधी प्रदर्शनमा सहभागी भएकी भन्दै) दीपिकालाई बाइकट गर्ने अभियान सुरु भयो। भाजपाका नेता कार्यकर्ताले सुरु गरेको यो अभियानले दीपिकाको त्यो सहभागितालाई फिल्म प्रचारको फन्डा मात्र बतायो। पार्टी कार्यकर्ताहरुले सर्कुलर जारी गरेर फिल्म नहेर्न भने, बुक गरिसकेको टिकट क्यानसिल गरेका स्क्रिनसटहरु भाइरल बनाइए। अनि भन्न थालियो- 'तानाजी' हाम्रो फिल्म हो, 'छपाक' उनीहरुको।

 

जबकि 'छपाक' ले यो समाजको आलोचना गर्छ। प्रहरी प्रशासनको रवैया र न्याय व्यवस्थामाथि प्रश्न गर्छ। 'तानाजी' ले हिजोको गौरवशाली इतिहासको गाथा भन्छ जसमा आजका सबै समस्या ओझेल पर्छन्। शिवाजी र तानाजीको प्रतिमुर्ति यति अग्लोगरी ठडिन्छ कि यसले एसिडले अनुहार छियाछिया भएकी मालतीलाई सर्लक्कै ढाकिदिन्छ।

 

'छपाक' को बाइकट र 'तानाजी' को हाइहाइमा भारतीय राजनीतिको तस्बिर छर्लंग हुन्छ। किनभने, दीपिका वर्तमान सरकारका विरोधी वामपन्थी विद्यार्थीसँग उभिएको नाममा महत्वपूर्ण विषयको फिल्मलाई कमजोर बनाउने प्रयास गरिएको छ। उता यसको फाइदा उठाउनका लागि अजय देवगन र सैफअलि खान भने यति ठूलो सामाजिक विषयमा पनि मौन छन्। अनुभव सिन्हाजस्ता निर्देशकले प्रश्न उठाए पनि बाँकी यो मौनताप्रति मौन छन्। मेनस्ट्रिम बलिउड मसला फिल्मले दर्शकलाई जस्तो 'इस्केपिस्ट इन्टरटेनमेन्ट' दिन्छ त्यही शैलीमा उनीहरु पनि ज्वलन्त मुद्दामा मौन छन्। 'इस्केपिस्ट' फिल्मले दर्शकलाई आफ्नो समय र यथार्थभन्दा पर लगेर, मूल मुद्दाबाट भट्काउने र भुलाउने कोशिस गर्छ।

 

यसअघि शाहरुख खान र आमिर खान यसै प्रकार शिकार भएका थिए। दीपिकाजस्तै उनीहरुका फिल्मलाई पनि बहिस्कार गरिएको थियो। यसको नतिजा के भयो भने उनीहरु बोल्नै छोडे। अहिलेको हिंसा र प्रदर्शनबारे शाहरुख, सलमान र आमिरले पनि मुख खोलेका छैनन्। एकातिर बर्षा दत्तजस्ता पत्रकारले जेएनयु पुगेर दीपिका पादुकोणले बलिउडलाई जनपक्षीय राजनीतितिर आकार्षित गरेको भनेर प्रशंसा गरेका छन्।

 

अर्कातिर बक्सअफिसमा 'तानाजी' को ग्राफ बढेको बढ्यै छ। उता यही घटनापछि दीपिकाले केही ब्रान्डका 'एम्बेसडर' को भूमिका गुमाउने आशंका पनि व्यक्त गरिएको छ। आमिर खानले पनि पहिले यो नियति भोगेका थिए। लाखौं मानिसलाई प्रभावित गर्ने कलाकारको शक्तिलाई जतिखेर पनि प्रयोग गर्न लालायीत हुने राजनीतिक दल र नेताहरु कलाकार आफ्नै विवेकले अर्को कित्तामा उभिए भने तिनलाई कतिसम्म खेद्छन् भन्ने पनि यस्ता प्रकरणबाट थाहा पाइन्छ।

 

क्षणिक राजनीतिक फाइदाको हिसाबले त विरोधमा ठूलो आवाज नआउँदा कुनै दल वा सरकारलाई फाइदा होला। तर, दीर्घकालीन हिसाबले र लोकतन्त्रका मान्यताका हिसाबले हेर्ने हो भने यो ठूलो चिन्ताको विषय हो। अझै ठूलो चिन्ताको विषयचाहिँ सत्तारुढ दलले नै कुनै कलाकारको करिअर र फिल्मलाई टार्गेट गरेर संयन्त्र परिचालन गर्नु हो। विपक्ष र आलोचकको संरक्षण गर्नुपर्ने लोकतान्त्रिक सरकारले नै त्यसो गर्नु सबैभन्दा डरलाग्दो संकेत हो।

 

हाम्रा लागि चिन्ताको विषय चाहिँ हामी भारतलाई धेरै कुरामा अनुकरण गर्छौं। कान्तिपुर  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार