• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

पश्चिमी भू–भागमा हिमपात र वर्षा

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार देशको पश्चिमी भू-भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो-छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदली सहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौमसविद् प्रतिभा मानन्धरले बताए । 

 

'कुनै वर्ष बर्खायाममा बढी सुख्खा भयो भने हिउँदमा बढी वर्षा हुन्छ', मौसमविद् मानन्धरले भने । आज विकसित हुने मौसमी प्रणाली पश्चिमी भूभागमै भित्रिएर पश्चिमबाटै बाहिरिने र अन्य भूभागमा त्यसको प्रभाव नपर्ने जनाइएको छ । 

 

मङ्गलबार देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू-भागमा आंशिक बदली हुने बताइएको छ । माघ १ गते देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार