• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

'अर्जुन रेड्डी' को रिमेक भर्सन अब नेपाली भाषामा

काठमाडौं । तेलिगु सफल चलचित्र 'अर्जुन रेड्डी' को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो ।

 

अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिए । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यसै चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो । 


ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्व माझ पुर्‍याउने एक अवसर पनि हो ।

 

युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी , पुरानो डुङ्गा लगायतका चलचित्र युएसएमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा चलचित्र 'सफर' निर्माण भएको छ । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार