• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

राजकुमार ह्यारी दम्पतीको निर्णय बारे सामूहिक छलफल

लन्डन । बेलायती राजकुमार ह्यारी दम्पतीको निर्णयकाबारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ ।

 

महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो ।

 

बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए । ह्यारीका पिता तथा युवराज चाल्स र उनका दाइ विलियमलगायतले पनि ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सन्चारमाध्यमहरुले जनाएका छन् ।

 

ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जलि दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका हुन् । मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानडाबाटै बैठकमा सहभागिताका लागि आउन आग्रह गरिएको थियो ।

 

व्यक्तिगत जीवनका लागि उनीहरुले फेरि ‘अर्को कदम’ चाल्नसक्ने आशंका गरिएको छ । महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिनअगाडि नै क्यानडा गएकी थिइन् । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशितरूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यस्तो घोषणा गरेका थिए ।

 

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरबार स्रोतकाअनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतीको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार