• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

 

दुई सय ९८ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट मुलुकको एकीकरण सम्भव भएको बताए । 

 

एकीकरण अभियानले हामी आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएकाले उहाँको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'विसं २०७४ मा देउवा सरकारले पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ, संसारभर राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ ।'

 

दोस्रो जनान्दोलनपछि शाहको शालिक तोड्ने र  इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागेकाले पार्टीले पृथ्वीजयन्तीका दिन शुभकामना कार्यक्रम सुरु गरेको स्मरण गर्दै अध्यक्ष थापाले नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग गरे । 

 

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता थियो । पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन देशभरका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार