• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

‘सिनेमा हेर्दा बढी रून्छु’

आँसु के हो ?
खुसी, दुःख, उदासी, उत्साह, ग्लानि र पीडाजस्ता अनेक सम्वेदना र भावनाको मौन प्रतिक्रिया हो, आँसु ।


पहिलो पटक आँसु आएको बेला ?
जन्मेको केहीबेरमा जब पहिलोपटक रोएँ, पक्कै पहिलो थोपा आँसु त्यतिबेला झरेको हुनुपर्छ । सम्भवतः त्यो आँसु आमा र यो संसार प्रति मैले प्रकट गरेको पहिलो सम्मान हो । त्यसैले आँसुमा सुख र सम्मानको भाव पनि अटाएको हुन्छ ।


आँसु आउँदा कस्तो महशुुस हुन्छ ? 
मन हल्का नहुने भए सायद कोही रूने थिएन । थोरै आँसुले मनमा धेरै बोझलाई कम गरिदिन्छन् ।


के कुराले तपाईंलाई झर्झर आँसु आउँछ ? 
प्राय : सिनेमा हेर्दा बढी रून्छु । भावना र सम्वेदनालाई मिहिन किसिमले प्रस्तुत गरिएका दृश्यहरूले बढी प्रभावित गर्छन् ।


सबैभन्दा ज्यादा आँसु आएको समय ?
सायद बुबाको मृत्युमा । देखाउने गरि त धेरै रोइनँ । तर, बुबालाई सम्झँदा अझै पनि आँसु आउँछ । विशेषत : उहाँलाई भेन्टिलेटरमा राखेको क्षण सम्झिन्छु । उहाँले केही भन्न खोजे जस्तो लाग्थ्यो । तर, न उहाँले बुझाउन सक्नुभयो, न मैले बुझ्न सकेँ । यो आभासले अहिले पनि भावुक बनाउँछ ।


आँसु किन आउँछ ?
भावुकताले रून सिकाउँछ सायद । कहिलेकाहीँ काल्पनिक पात्रका दुःख र,समस्याले पनि रूवाउँछ ।


आँसु आएको बेला कसले तपाईँलाई ढाड्स दिन्छ ?
वर्षौँ भयो कसैले सम्झाउने गरि रोएको खासै याद छैन । तर, कुनैबेला मित्र राजेन्द्र पराजुलीले चाहिँ खुब ढाडस दिनुहुन्थ्यो ।


आँसु र खुसीमा के फरक छ ?
दुवै प्रतिक्रिया हुन् । खुसीले पनि त आँसु आउँछ ।


कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
धेरै लामोसम्म आँसु झारेर बसेको छैन । त्यस्तो होस् भन्ने चाहना पनि छैन । दुःख र खुसीका भावबाट जति चाँडो निरपेक्ष हुन सक्यो, उति वेश ।


मायाप्रेममा कतिपटक आँसु आयो ?
मायाप्रेममा नरूने को नै हुन्छ र । आँसुका अथाह रंग हुन्छन् प्रेममा । भावनाका सबै आयाम अटाएको हुन्छ मायामा बग्ने आँसुमा । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार