• आइतबार ३-२८-२०७७/Sunday 07-12-2020
डबली

बुद्धसँग जम्काभेट 

हिजो राती,
एउटा नाइट क्लवमा 
मैले बुद्धलाई 
टेबुल पुछिरहेको भेट्टाएँ 

 

गाउँको आदिम घोप्टेभीरजस्तै 
दुःख घोप्टीएको उसको अनुहार 
सुक्दै गएको सिंयालेको पँधेरोजस्तै 
पीरले पहेंलिएको उसका आँखा 
गरिबीले उडाएर फालेको खरको छानो जस्तै 
फराकिलो र नाङगो निधार 
मोही पार्दा पार्दै 
चुँडिन लागेको नेती जस्तै 
पातलो र जीर्ण ज्यान 
मलाई बुद्धको जस्तै लाग्यो  

 

हो, उसको नामै बुद्ध
तर उसँग 
दरबार छाडेर भाग्लान भन्दै
सुन्दरी नाचगान, रक्सी र ऐयासी वैंस 
कुनैपनि शुद्धोधनले दिएको अनुभुति छैन । 
सुनको पलङमा अलमस्त निदाइरहेकी उवर्सी यसोधरा 
र, भावी राजकुमार राहुललाई सुम्याएर मध्यरात 
विश्वज्ञानको खोजीमा निस्केको पनि हैन ऊ 
उसलाई यति थाहा छ– 
चामलको लागि
बाटो खन्दा खन्दै पहिरोले थिचेको बुबाको चिम्सो अनुहार 
जोवनभर दुःखको भारीेले किचेर 
सुकेनस लागेको विधवा आमा 
भोकोपेटमा छाती चिरेर सन्तानलाई  
ममता पिलाइरहेकी खिनौरी स्वास्नी 
अनि शहरसम्म सपना बोकेर तन्किएको 
त्यो नागबेली पहाडी बाटो 
हो, यही बाटो भएर 
यो सपनाको शहर छिरेको 
उसलाई आज जस्तै लाग्छ ।  

 

हिजो दिउँसो, 
असन र न्युरोडको गल्लीमा  
मैले बुद्धलाई 
भारी बोकिरहेको भेटटएँ । 

 

भारीले किच्दा किच्दै चेप्टिएको उसको तालु 
पसिनाले भिजेको 
अधमरो गन्जी र इष्टकोट 
टायर काटेर बनाएको चप्पल, 
एक रुपिया“को मैन सलाई घोटेर 
चुरोटको धुवाँ उडाइरहेको थकित अनुहार 
मलाई बुद्धको जस्तै लाग्यो ।  

 

हो, उसको नामै बुद्ध 
तर उसँग 
अनकन्टार जंगलमा
कुनै सुजाताले खीर ल्याएर दिएको 
अनि आफ्नै हातले खुवाएको अनुभुति छैन । 
बरु विरामी भएर, 
भारी बोक्न नसक्दा 
महिनादिन सम्म 
पानी मात्रै पिएर 
ठहिटी र मरुहिटीतिरको देवलमा 
चिसै पल्टिएको ताजा संझना छ ।  
त्यो यही बेला थियो, 
जतिबेला बुद्ध जयन्ती मनाउन  
एउटा एनजिओले 
लाखौं खर्चेर गरेको शान्ति र्‍याली 
उसकै चिसो शिरानी छेउबाट 
स्वयम्भुतिर अघि बढ्दै थियो । 

 

साँच्ची, 
आजै विहान 
स्वयम्भुको एउटा भव्य गुम्बा बाहिर 
मैले बुद्धलाई  
थाल समातेर 
भीख मागिरहेको भेट्टाएँ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

मुक्तक : जिन्दगी

२७ असार, २०७७

कविता : संंकल्प

२७ असार, २०७७

पुतली र मान्छे

२७ असार, २०७७

बूढो होऔँ !

२६ असार, २०७७