• बुधबार १०-८-२०७६/Wednesday 01-22-2020
विचार

किन मुलुक निराशातर्फ धकेलिँदै छ ?

आजभन्दा ४५ बर्ष अघिदेखि अर्को १३ बर्षसम्म कृषी आयोजना सेवा केन्द्रमा कार्यरत हुँदा (एप्रोक्स)  मुलुकको अन्तर–कुन्तरका कृषक, नागरिक समाजका अगुवा तथा सरकारी निकायका कर्मचारीहरुसंग संवाद तथा बहस गर्ने अवसरहरु मिल्यो । त्यसबखत भेटेका अधिकांश नागरिक तथा सरकारी कर्मचारीहरु सबै आफ्नो मनको कुरा ब्यक्त गर्दा निराशावादी नै हुने गर्थे । अधिकांश कर्मचारीहरु ‘माथिबाट’ आफुलाई कार्य गर्न नदिएको अथवा काम गर्ने वातावरण नभएको गुनासो गर्थे । बिकास हुन नसक्नाको कारण पंचायत व्यवस्था नै थियो  ।

 

हेक्का रहोस पंचायती प्रणालीको हैकम चलेको त्यस कालखण्डमा निश्चय पनि मुलूकको उन्नती भन्दा अवउन्नती हुन्छ भन्ने अड्कल धेरैले काट्ने गर्थे । बिदेशी विज्ञहरुले खेतीका लागी नयाँ जमिन तथा दाउरामा आधारित इन्धन प्रायोजन जस्ता कारणहरुले गर्दा वन–जंगल सखाप भएर नेपाल २५ बर्षमा मरुभुमीमा परिणत हुने भविश्यवाणी गर्थे । जमिनको उर्बर शक्तिको तीब्र राह्स ‘टप स्वाइल’ (माटो को माथिल्लो मलिलो भाग) बाढीपहिरो हुरी बतास आदी कारणहरुले विनाश हुँदा गेग्रानहरु बाँकी रहने धेरै को ठम्माइ थियो । हामीलाई सहयोग गर्न आएका बिदेशी सल्लाहकारहरुले बिपन्न मुलुक प्रत्येक दिन अझ बिपन्न हुँदै जाने अडकल काटेका थिए । पश्चिमा माक्र्सवादी बिद्धानहरुले नेपाल एकपछि अर्को जोखिममा पर्दै गएको निर्कौल निकालेका थिए । यस अर्थात बिकास होइन  बिनासतर्फ राष्ट्र उन्मुख हुँदैछ भन्ने मान्यता हाबी हुन थालेको थियो ।

 

त्यसो त पंचायती शासनकालको पितामह राजा महेन्द्रले तिनको शासनकालमा अन्य मुलुकहरुले १०० बर्ष लगाएर गरेको उन्नती हामीले दशबर्ष भित्रमा गर्ने भनेर देशवासीलाई बिश्वास दिलाएका थिए ।  राजा महेन्द्रका छोरा बिरेन्द्रको उपाधी नै ‘बिकास प्रेमी राजा को’ थियो । राजाको सक्षम एवं सबल नेतृत्व बिकासको मूल फुटाउने कुरा भए । तर पछि गएर एसियाली मापदण्ड अनुरुपको जीवनस्तर  शताब्दीको अन्त (२० बर्ष पुर्व) सम्म हासिल गर्ने देखि बिकासका निमित्त राजनीति जस्ता नाराहरु तीनले घन्काएका थिए । हात लाग्यो शुन्य सरह रह्यो पंचायतकालीन बिकास, किनकि हाम्रो अर्थतन्त्रको वृद्धिदर र जनसंख्या वृद्धिदर उस्ताउस्तै रह्यो । यो बास्तविकतालाई नजर अन्दाज गरेर कतिले पुर्व पश्चिम राजमार्ग, भूमिसुधार, राष्ट्रभरी नेपाली मुद्राको प्रचलन, स्वस्थ र शिक्षा आदीमा भएका प्रगतीका गाथाहरु पस्कने गर्छन । घामलाई हत्तकेलाले जति छोपे पनि छोपिदैन भने जस्तै । पंचायतको बास्तविकता भनेको पंचायतकालीन नेपालले राष्ट्रको समस्टिगत उन्नती गर्न सकेन भन्ने प्रष्ट हुन्छ । पंचायती कालखण्डको शुरुवातमा हाम्रै जस्तो आर्थिक अवस्थामा रहेका मुलुकहरुको दाजोमा आज हामी धेरै पछि परेका हौ । 

 

यदी पंचायत कालखण्डमा राष्ट्रले उन्नती गर्न सकेको भए पंचायत प्रथम जन–आन्दोलनको धक्काले तासको घर ढले जस्तो गरेर ग्वारल्वाम गुर्लुम्ब ढल्ने थिएन । ‘पंचायत नैसर्गिक बास्तविकता’ तथा ‘सबै नेपाली पंच र सबै पंच नेपाली’ घोषित त्यो शासकीय प्रणालीको पतन हुँदा उक्त व्यवस्थाको पक्षधर मध्य अधिकांशले जन–आन्दोलनको प्रतिकार गर्नुको साटो नेपाली कांग्रेस दलभित्र प्रवेश गरेर सुरक्षित हुने तर्फ लागे । लोकलाज तथा कांग्रेस पार्टी भित्र अटाउन सक्ने अवस्थामा थिएनन् ।  जन्मजात दलीय प्रणालीको बिरोधी हुँदाहुँदै पनि उनीहरु पुर्व पंचहरुको राजनीतिक दल गठनतर्फ अग्रसर रहे । बहुदलीय प्रणालीका कट्टर बिरोधीहरु उनीहरुले निर्माण गरेको राजनीतिक दलको अवस्था के कस्तो छ, त्यो जग जाहेर छ । त्यसो त बहुदलीय प्रणालीको पक्षधर राजनीतिक दल नेपाली कांग्रेस इतिहास कै सबैभन्दा गए गुज्रेको अवस्था सामना गर्दैछ । सिमान्तकृत भईसक्दा पनि उक्त दलका नेताहरु नेतृत्वमा हाबी हुने प्रयासमा एकआपसमा लड्दै छन् । अर्कोतर्फ एकदलीय प्रणालीका पक्षधर दुई कम्युनिष्ट घटकहरु समायोजन भएको घोषणा गर्न र सत्ता सम्हालन सफल त भए तर तिनको एकता भ्यागुतो को धार्नी साबित भएको छ । 

 

जन–बिश्वास थियो दोश्रो आन्दोलनको सफलता पश्चात राजनीतिक मुद्धाहरु किनार लाग्नेछन । राष्ट्र अब  आर्थिक उन्नती र बिकासको पथतर्फ तीब्र गतिले उन्मुख हुनेछ । बास्तविकतालाई आत्मसाथ गर्ने हो भने दोश्रो जन–आन्दोलनमा नउठेका तर भविष्यका निमित्त नितान्त आवश्यक अथवा उठन सक्ने मागहरु जस्तै नयाँ संबिधान, गणतान्त्रिक शासकीय प्रणाली, धर्म निरपेक्ष्यता तथा  संघियतालाई समेत सम्बोधन गरी सकियो । माओवादी आतंक, हिंसा र हत्याको दशबर्ष लामो अभ्यास त्यागेर मूलधारको राजनीतिमा प्रवेस गरेको मात्र नभएर कम्युनिष्टहरु एकअर्कामा समायोजित भएर ठुलो राजनीतिक दल निर्माण गर्न सफल भए । वर्तमान संबिधानको प्रावधानहरुका कारणले गर्दा  संबिधानबिद्, राजनीति शास्त्री तथा राजनीतिक विज्ञहरुको कुनै पनि दलले संसदमा बहुमत कायम गर्न नसक्ने ठोकुवाको बावजुद अत्याधिक बहुमत कायम गरेको कम्युनिष्ट पार्टीको सरकार केन्द्र, प्रान्त तथा स्थानीय तहहरु मा गठन हुन सफल भयो । बिपक्ष दलले नुन खाएको कुखुरा सरह भएको अवस्थामा देश एक दलीय प्रणाली अन्तर्गत रहेको अनुभव हुन्छ । 

 

तथ्यांकलाई आधार मान्ने हो भने हाम्रो आर्थिक सामाजिक अवस्था हिजोका भन्दा धेरै सुध्रिएको छ । बाल मृत्यु दर घटेको छ, सरदर आयु बढेको छ । आयमा अपार बृद्धि भएको छ । फाटेको लुगा र खाली खुट्टा हिड्नेको संख्या घटेको छ । आफुभन्दा ठुलोभारी बोक्नेहरु बिगतको तुलनामा कम छन । बालबालिकाहरु पढ्न जान थालेका छन् । उमेर पुगेकाहरु लेखपढ् गर्न जान्ने भएका छन् । अस्पताल, स्वास्थ्यचौकीहरुको संख्या बढेको छ । माटाको गाह्रो र खरका झुप्राहरुलाई जस्ताको छाना र इट्टाको भित्ताले बिस्थापित गर्दैछन् । सडक सञ्जाल बडेको हुनाले यात्रा पनि सहज बन्दै गएको छ । 

 

माथी उल्लेख गरेको पृष्ठभुमिमा राष्ट्र आशावादी हुनुपर्ने थियो । तर अधिकांश देशवासीहरुका निमित्त ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा दुईवर्ष नपुग्दै असान्दर्भिक साबित भएको महशुस हुँदैछ । मूल कानुनलाई नै परिवर्तन गरेर स्वार्थपूर्ती गर्ने अर्थात गैरकानुनी कार्यलाई बैधता दिन कानुन संशोधनको साहारा लिने कार्यहरु मूल बाटोमा बुलडोजर दुगुरे जस्तो गरेर दगुर्न थालेका छन् । नेतृत्वपंक्ति थाती बसालेर मुलुकलाई गन्तव्य उन्मुख तुल्याउने भन्दा बेथिती बिकृतीहरु फैलाएर मुलुकलाई तहसनहस तुल्याउँन ब्यग्र भएको देखिन्छ । बिगतका कालखण्डमा जस्तै पुन निराशारुपी डढेलो भएर नेपाली मन मस्तीक मा फैलन थालेको छ । प्रश्न उठ्छ किन हामीले चाहेको राजनीतिक संरचनाहरु हुँदाहुँदै पनि मुलुकमा निराशा फैलदै छ ? किनकी समृद्धि बास्तवमा सिमित व्यक्तिहरुको पेवा बन्न पुगेको छ । व्यक्तिले आफ्नो आकांक्षा अनुरुप उन्नती गर्ने उसको नैसर्गिक अधिकार कुंठित हुन थालेपछि मानिस सम्भवत निराश हुन्छ । वर्तमानमा भोगेको पिढाहरु अन्त गर्न संघर्षशील नागरिकले जब भविष्य अन्धकार भएको महशुस गर्न थाल्छ,त्यस्तो अवस्थामा सकारात्मक सोच लोप हुँदै निराशावादी प्रवृती हाबी हुने हो । आजको दिन र हिजोका दिनहरुमा फरक नभेटेपछि बरु हिजोको दिन नै सुख थियो कि भन्ने मनोविज्ञान हाबी हुन्छ । हिजोको दिनहरुमा भोगेको पिडा बिर्सन थाल्छन् अनी आजभन्दा हिजो नै उसका निमित्त राम्रो थियो भन्ने सोच हाबी हुन्छ । सायद यही सोचको उपज हो आमनागरिक, सरोकारवाला तथा बुद्धिजिवीहरु पुन त्रसित हुन थालेका छन् । जुन दिशा तर्फ देश उन्मुख हुँदै गरेको छ । त्यसबाट उनीहरु भयभित हुन थालेका छन् । तीनको आशावादी सोचलाई निराशावादी सोचले बिस्तापित गर्दैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार