• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

सक्षम प्रधानमन्त्री

प्रधानमन्त्री सक्षम हुनुहुन्छ 
उहाँ आफैं आफ्नो सास बाहिर फ्याँक्नु हुन्छ
उहाँ आफैं आफ्नो सास भित्रै पनि तान्नु हुन्छ 
आफ्नो सास तान्ने र फ्याँक्ने काम उहाँ
बिना कसैको डर भर आफैं हरेक मिनेट गर्नुहुन्छ
तपाईंले त्यति छिटो छिटो सास तान्न र फ्याँक्न पर्‍यो भने
पहिला दश कोष दौडी आएपछि मात्रै सक्नुहुन्छ 
त्यत्रो मिहिनेत गरिरहनु भएको छ उहाँ दिन रात
तैपनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाईंं नै के चै हेरेर भन्नुहुन्छ ?

 

शरीरमा लागाएको त्यत्रो कोटको भारी छ
भित्री लुगादेखि दौरा सुरुवालसम्म त छँदै थिए
त्यसमा थपिएको इजारको भार छ
त्यत्रो लुगाको तुना इजार र टाँकको भारी बोकेर उहाँ 
आफ्नै खुट्टामा उभिनुहुन्छ 
उता सास फेर्ने काम पनि गरिरहेकै हुनुहुन्छ
तै पनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाईंं नै कसरी  भन्नहुन्छ ?

 

उहाँ सबल हुनुहुन्छ, सक्षम हुनुहुन्छ
नत्र बिना कसैको सहारा–
सास फेर्नेदेखि लगाएका लुगाको त्यत्रो भारी बोक्ने कामसम्म
प्रत्येक पल आँखाका परेला तलमाथि गर्दै
आँखा कहिले खुला कहिले टम्म
त्यसमाथि त्यत्रो चश्मा छ डम्म
उहाँ एक्लै बिना कसैको सहारा कसरी गर्न सक्नुहुन्छ ?
तै पनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाईं नै किन भन्नुहुन्छ  ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार